Logo

कोरोनाको लडाई जित्ने हो भने लकडाउन पालना गरौं, अर्को उपाय छैन्



मधु धमला क्षेत्री : आजबाट नयाँ वर्ष २०७७ सुरु भएको छ । यो नयाँ वर्षको उपलक्ष्यमा म देश तथा विदेशमा रहनुभएका नेपाली आमाबुवा, दाजुभाई तथा दिदिबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । यतिवेला पूरा विश्व कोरोना भाइरस (कोभिड १९) को महामारीबाट गुज्रिरहेको छ । दुई सयभन्दा बढि मूलुक कोरोनाबाट प्रभावित बनेका छन् । नेपालपनि अछुतो छैन् । हालसम्म नेपालमा १४ जना संक्रमित छन् । तीमध्ये एक जना उपचारपछि निको भएर घर फर्किएका छन् भने बाँकी १२ जना उपचाररत छन् । आज मात्रै दुई जना नयाँ संक्रमित थपिएको र नेपालमा संक्रमितको संख्या १४ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाएअनुसार आज थपिएका संक्रमितहरु कैलालीकी ६५ वर्षीया महिला र रौतहटका १९ वर्षीया युवा छन् ।

विश्वभरिको आजको तथ्यांक हेर्दा विश्वभरि कोरोनाबाट संक्रमित हुनेहरुको संख्या १८ लाख ६१ हजार ६ सय ७० पुगेको छ भने एक लाख १४ हजार ९ सय ८० जनाको निधन भैसकेको छ । त्यस्तै, चार लाख ३१ हजार ५ सय ३६ जना भने निको भएका छन् । यो मानव जातिको लागि विषम परिस्थिति हो । चीनको वुहानबाट सुरु भएको कोरोना आज विश्वभरि फैलिएको छ । सारा शक्ति राष्ट्रलाई यसले हल्लाएको छ । प्रसिद्ध विज्ञहरुले समेत कोरोनाको संक्रमणलाई विश्वयुद्धको लडाईझैंको संज्ञा दिएका छन् । यो लडाई जित्नको लागि अहिले पूरै विश्वका मानव जाति संघर्षरत छन् । आशा छ, यो लडाई हामी मानव जातिले छिट्टै जित्न सकौं । नेपालसमेत अहिले कोरोनाविरुद्धको लडाईमा होमिएको छ । नेपाल सरकारले यसको सुरुवात लकडाउन लगाएर गरिसकेको छ । कोरोनाको संक्रमण नहोस भनेर रोकथाम तथा नियन्त्रणको लागि यही बैशाख ३ गतेसम्म लकडाउन लगाएको छ । जुन आम नागरिकले पनि सरकारको आदेशको पालना गरेर साथ दिईरहेका छन् ।

कोरोनाको जोखिमबाट बच्नको लागि सारा विश्वले अहिले अपनाएको सर्वोत्तम उपाय भनेको लकडाउन नै हो । कोरोनाको संक्रमण हुन नदिनको लागि दैनिक सरसफाई गर्ने, नियमित साबुन पानीले हात धुने, सामाजिक दूरी कायम गर्ने, घरभित्रै आफूलाई सिमित राख्नु नै हो । अहिले नेपालले पनि यही प्रक्रिया अपनाईरहेको छ । जुन सुखद् पक्ष हो । मैले यसअघिपनि कोरोनाबाट बच्नको लागि नेपालले बैशाखभरि लकडाउन लम्ब्याउनुपर्छ भनेर आधारसहित आफ्नो मत प्रस्तुत गरिसकेको छु । विश्वभरिका स्वास्थ्य विज्ञ तथा वैज्ञानिकहरु कोरोनालाई जित्नको लागि अध्ययन तथा अनुशन्धानमा दिनरात लागिपरेका छन् । तर, अहिलेसम्म यसको औषधी तथा भ्याक्सिन भने पत्ता लागेको छैन् । त्यसैले यो महामारीबाट बच्नको लागि हामी नेपालीले पनि लकडाउनको आदेश पालना गर्नु नै बुद्धिमानी हुन्छ ।

हुन त अहिले देशव्यापी रुपमा लकडाउन कार्यान्वयनको अवस्थालाई नजिकबाट नियाँल्ने हो भने यो प्रभावकारी रुपमा कार्यान्वयन गरेको देखिँदैन् । जुनस्तरमा यसको कार्यान्वयन हुनुपर्ने हो त्यसमा कहीँकतै नागरिकस्तरबाट लापरबाही गरिएको पनि खबरहरु आईरहेका छन् । सरकारले एक स्थानीय निकायबाट अर्को निकायमा आवातजावत समेत रोक लगाएको छ । तर, हुल हुज्जत गरेर नियम उल्लंघन गर्नेहरुको पनि संख्या ठूलै देखिन्छ । यो गलत र मुर्खतपूर्ण कार्य हो । अझैपनि केही बिग्रिएको छैन् । कसैले पनि आफ्नो होश नगुमाऔं । घरमै बसौं । बन्दाबन्दीलाई कार्यान्वयन गर्नुपर्छ । एक दुई महिना कष्टकर जीवन झेल्नुपर्ने हाम्रो बाध्यता हो । तर, अहिले गरिने कष्ट र बाध्यात्मक अवस्थाले भोलि हाम्रो स्वास्थ्य सुरक्षित हुन्छ । अहिलेको अवस्था भनेको सरकारले मात्रै केही गरेर यो लडाई जितिने र हाम्रो स्वास्थ्य सुरक्षित हुने होईन् । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले अपिल गरेझैं हामी नागरिकले पनि यो बेलामा सरकारलाई पूर्ण साथ र सहयोग गर्नुपर्छ । यो बेला भनेको हामीले आफ्नो बुद्धिमता र सचेतना देखाउने बेला हो ।

अहिलेको अवस्था भनेको सरकार, निजी क्षेत्र र आम नागरिकबीचको सहकार्य नै हो । तर, जनस्वास्थ्यमा यत्रो संकट र चूनौति थपिएको यो विषम परिस्थितिमा निजी अस्पतालले भने जुन रुपमा सरकारलाई सहयोग गर्नुपर्ने हो र नागरिकको उपचारमा संवेदनशीलता देखाउनुपर्ने हो, त्यो नदेखाएको र उदासिन बनेका खबरहरु मिडियामा आईरहेका छन् । यदि यो बेलामा सेवा दिनुपर्ने र २४सै घण्टा अस्पताल खुल्ला गरेर उपचारमा तल्लिन हुनुपर्ने बेलामा निजी अस्पताल बन्द भएका खबर साँचो हो भने त्यो भन्दा दुःखदायी कुरा अरु केही हुँदैन् । जब देश र जनतालाई संकट आईपर्छ सबैले आफ्नो छाती ठूलो बनाएर सहयोग गर्नुपर्ने हो । यो नै ठूलो धर्म हो । कोरोना आशंकाको भरमा अरु सामान्य विरामीको पनि उपचार गर्न निजी अस्पतालले ईन्कार गरेको र कतिपय विरामीले उपचार नै नपाएर आफ्नो ज्यान गुमाउनु परेको दुःखद् समाचार पनि हामीले पढ्नुपर्यो । यो अत्यन्तै पीडादायी कुरा हो । निजी अस्पतालले यो बेलामा बरु सरकारसँग समन्वय गरेर आवश्यक सेवा तथा सुविधा लिएर नागरिकको उपचारमा आफूलाई सधैं तल्लिन राख्नुपर्ने हो । यदि यो अवस्थामा निजी अस्पताल बन्द गरिएका छन् भने पनि सरकारले ती अस्पताललाई तुरुन्त सञ्चालनमा ल्याउनुपर्छ ।

यो बेलामा देशमा विद्यमान सबै संघ, संस्था तथा जिम्मेवार व्यक्तिहरुले सरकारलाई कोरोनाविरुद्धको लडाईमा साथ र सहयोग गर्नुपर्छ । सबैले आ–आफ्नो ठाउँबाट योगदान पुर्याउनुपर्छ । हुन त अहिले कोरोनाले विश्व अर्थतन्त्र नै ध्वस्त बनाएको छ । आर्थिक संकट भैसकेको छ । नेपालमा पनि अर्थतन्त्रमा परेको असर र भावी क्षतिबारे अहिलेदेखि नै बहस तथा चिन्ता भैरहेको पाईन्छ । यो बेला पूरा विश्व नै आर्थिक संकटबाट गुज्रिरहेको छ । यसमा दुई मत छैन् । करोडौंको रोजगारी गुमेको छ । लाखौं कलकारखाना, उद्योग धन्दा बन्द भएका छन् । नेपालपनि यसबाट अछुतो छैन् । तर, अहिलेको चूनौति भनेको त बाँच्नु र बचाउनु हो । पहिले बाँचौं । कोरोनाको लडाई जितिएपछि अर्थतन्त्रको कुरा गरौंला । विश्व मानव जातिले जसरपनि कोरोनालाई जित्नुपर्छ । यसको विकल्प छैन् । अरु देशको अवस्था नजिकबाट नियाँल्ने हो भनेपनि नेपालले यो लकडाउन अझै दुई महिनासम्म लम्ब्याउनुपर्ने देखिन्छ । नेपाल त भारतसँग तीन तिरको खुल्ला सीमा भएको देश हो । हामीबीच यसअघि निर्वाद रुपमा आवातजावत भैरहेको अवस्था हो । अहिलेको यो जोखिमलाई ध्यानमा दिएर केही समय दक्षिणतिरको बोर्डर बन्द गर्नु नै उत्तम छ । भारतमा कोरोनाको संक्रमण दिनदिनै फैलिरहेको छ । त्यो अवस्था हेरेरपनि हामीले आफ्नो कदम चाल्नुपर्छ । अहिलेको विद्यमान परिस्थितिको मुल्यांकन गर्दा प्रदेश नम्बर १, प्रदेश नम्बर २ र सुदूरपश्चिम प्रदेशमा सरकारले विशेष निगरानी बढाउनुपर्छ । यी प्रदेशका जनताले समेत विशेष सावधानी र सजकता अपनाउनुपर्छ । यी क्षेत्रमा भारतमा रहेका नेपालीहरु ठूलो संख्यामा आएका छन् ।

अर्को कुरा, श्रम गर्न र अध्ययन तथा अध्यापन गर्न हाम्रा नेपाली दाजुभाई तथा दिदिबहिनीहरु यतिवेला लाखौंको संख्यामा विदेशमा हुनुहुन्छ । कतिपय नेपालीहरु यो बेलामा नेपाल आउन चाहेका खबर पनि आएका छन् । तर, यहाँहरुले यो बेलामा धैर्यता र संयमतता अपनाईदिनुहोला । तपाईहरु सरकारले भनेबमोजिम जो जहाँ हुनुहुन्छ, तपाईहरु त्यही देश र ठाउँमा बस्नुहोला ।

विश्वभरि नै कोरोनाको यो लडाईको पहिलो पँक्तिमा चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरु खटिरहनुभएको छ । हामी सबैले यो लडाईमा आफ्नो साहस देखाई निडरताका साथ कर्तव्यमा होमिनुपर्छ । तर, सरकारले हाम्रो लागि आवश्यक स्वास्थ्य सुरक्षा सामग्रीको उपलब्धता गराउनुपर्छ । अहिलेपनि नेपाली चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुले जुन भूमिका निर्वाह गर्नुभएको छ । यसको म खुलेर प्रशंसा र कदर गर्न चाहन्छु । आगामी दिनमा पनि हामीले आफ्नो भूमिकामा आफूलाई खरो उतार्नुको विकल्प छैन् । एक स्वास्थ्यकर्मी भएर कोरोनाको महामारीविरुद्ध यसरी आफ्नो कर्तव्य र भूमिका निर्वाह गर्दै देश र जनताको सेवा गर्न पाउँदा मैले आफूलाई निकै भाग्यमानी र गर्व महशुस गरेको छ ।

लेखक धमला धादिङमा कार्यरत स्वास्थ्यकर्मी हुन् । 



प्रतिक्रिया दिनुहोस्

Screenshot