Logo

नयाँ वर्ष-२०७७ मा सांसद गौतमको भिडियो सन्देश : लकडाउनको पूर्ण पालना गरौं, चिन्तन-मननमा समय खर्च गरौं (भिडियोसहित)



काठमाडौं, १ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेस बर्दियाका सभापति सञ्जयकुमार गौतमले सरकारले कोरोनाको रोकथाम तथा नियन्त्रणको लागि लगाएको लकडाउन अत्यन्तै सकारात्मक कदम भएकोले सबै नागरिकले यसको पूर्ण पालना गर्नुपर्ने बताएका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का सरकारले लकडाउन लगाएको र सबै नेपाली नागरिक यतिवेला आ आफ्नो घरमै बसिरहेको सुनाउँदै सांसद गौतमले कोरोनाको महामारीबाट मुक्ति पाउन लकडाउन नै अन्तिम विकल्प भएको स्पष्ट पारे ।

नयाँ वर्ष २०७७ को भिडियोमार्फत शुभकामना दिने क्रममा उनले यस्तो बताएका हुन् । सन्देशमा उनले भनेका छन्,“लकडाउनले नै हामीलाई यो कोरोनाबाट मुक्ति दिनेछ । कोरोना नियन्त्रणमा यो लकडाउनले धेरै ठूलो सहयोग पुर्याउनेछ । यो बेलामा हामीले पनि सामाजिक दूरी कायम गर्नुपर्छ । हो, निश्चयपनि अहिले धेरैलाई अप्ठ्यारो परेको छ । यो लकडाउनका कारण असहज स्थितिको सामना गर्नुपरेको छ । म सबैलाई यो समयलाई धैर्यतापूर्वक व्यतित गर्न पनि आग्रह गर्दछु । सरकारले लागु गरेको यो लकडाउन सफल पार्न हामी सबै नागरिकको कर्तव्य हो । हामी जहाँ जहाँ छौं, र जुन रुपमा छौं यो सफल पार्नको लागि हाम्रो अहम भूमिका रहनेछ ।”

उनले आफूपनि यतिवेला आफ्नै घरमा बन्दाबन्दीमा रहेको सुनाए । तर, आफूले सामाजिक सञ्जाल र मोवाईल तथा टेलिफोनमार्फत देश तथा विदेशमा रहेका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुसँग जोडिने प्रयास गरेको गौतमको भनाई छ । उनले भनेका छन्,“सबैलाई एकदमै अप्ठ्यारो परेको छ । बास्तवमै बर्दियामा जिल्लामा धेरैजसो साथीहरु श्रमको खोजीमा, रोजगारीको खोजीमा धेरैतिर जानुभएको छ, उहाँहरु विदेशमा पनि हुनुहुन्छ । र, स्वदेशमा पनि आफ्नो जिल्लाभन्दा बाहिर हुनुहुन्छ । उहाँहरु अप्ठ्यारो परिस्थितिमा हुनुहुन्छ । कतिपय हिँडेर आफ्नो जिल्ला फर्कने क्रममै हुनुहुन्छ । कतिपय, साथीहरु बाटोमा हुनुहुन्छ । सयकडौं साथीहरुले दुःख पाउनुभएको छ । कति साथीहरुलाई विरामीले पनि अप्ठ्यारो पारेको छ । यो बेलामा हामीले धैर्यतापूर्वक यसलाई सामना गर्नुपर्छ । मैलेपनि यो ठाउँको जननिर्वाचित प्रतिनिधिको हैसियतले सम्पूर्ण साथीहरुलाई आवश्यक सहयोग पुर्याउने कोशिष गरेको छु ।”

उनले अप्ठ्यारो परेकाहरुले आफूलाई सम्पर्क गर्नसमेत आग्रह गरेका छन् । उनले भनेका छन्,“साथीहरुले यहाँहरुलाई जहाँ जस्तोसुकै अप्ठ्यारो पर्छ, सम्पर्कको लागि समन्वय गर्नुहोला । म फेशबुकमा, मेरो मोवाईल नम्बर ९८५८०-२११२३ हो । म साथीहरुसँग जहिल्यैपनि सम्पर्कमा रहन्छु ।”

कोरोनाविरुद्धको यो लडाईको अग्रपँक्तिमा रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुले खेलेको भूमिका सराहनीय भएको भन्दै उनले धन्यवाद समेत दिएका छन् । गौतमले पहिलो चरणमा यो लकडाउन लगाएर र यसको सफल कार्यान्वयनमार्फत कोरोनाको महामारीबाट मुलुकलाई जोगाउन सफलता हाँसिल भएको समेत बताए । उनले भने, “यो ऐतिहाँसिक छ । हामीले लकडाउन लगाएर मुलुकलाई महामारीबाट जोगाउन सफल भयौं । यो सम्पूर्ण, आफ्नो जीवनलाई पनि दाउ र जोखिममा राखेर जसरी स्वास्थ्यकर्मी साथीहरुले भूमिका निर्वाह गर्नुभएको छ, जसरी सुरक्षाकर्मी साथीहरुले आफ्नो भूमिका निर्वाह गर्नुभएको छ । राष्टसेवक कर्मचारी र पत्रकार साथीहरुले जसरी यसमा भूमिका निर्वाह गर्नुभएको छ । जसरी आम जनताले यसमा अपार जनसहभागिता देखाउनुभएको छ । त्यसका लागि म उहाँहरु सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।”

अहिलेको यो बन्दाबन्दीको समयलाई सबैले चिन्तनमा खर्च गर्नुपर्ने उनले सुझाव दिएका छन् । नेता गौतमले भने,“यो समय हामीले चिन्तनमा खर्च गर्ने, मनन र अध्ययनमा खर्च गर्नुपर्छ । र, आगामी दिनमा हाम्रो देशलाई कसरी समुन्नत नेपाल निर्माण गर्ने हो ? भनेर सोच्नुपर्छ, यो कोरोनाको महामारीबाट निस्किएपछि विश्व अर्थतन्त्रमा ठूलो चूनौति आईपर्नेछ, हाम्रो समाजले पनि धेरै ठूला अप्ठ्यारा कुरा देख्नेछ । त्यो बेलामा हामी यो समाजमा रहेका प्रतिनिधिहरुले, बुद्धिजिवीले कसरी आफ्नो समाजलाई ऐतिहाँसिक बनाउनुपर्छ र समुन्नतमा परिणत गर्नुपर्छ भनेर र यो दुःखलाई कसरी हामीले शक्तिमा परिणत गर्नुपर्छ ? भन्ने कुरामा पनि हामी सबै गम्भिर हुनुपर्ने आवश्यकत्ता छ ।”

उनले अहिलेको समयलाई सबैले रचनात्मक रुपमा सदूपयोग गर्नुपर्नेमा जोड दिए । यो अवधिमा विगतमा भए गरेका कमजोरी र गल्तीहरुलाई सच्याउँदै त्यसमा कसरी अघि बढ्न सकिन्छ भनेर सोच्नुपर्ने पनि उनले बताए । आफूले पनि आगामी दिनमा कसरी अघि बढ्ने भनेर गम्भिर रुपमा सोच्ने अवसर पाएको पनि गौतमको भनाई छ। उनले भने,“सबै दाजुभाई तथा दिदिबहिनीहरुले यसलाई उपयोग पनि गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु । उनले युवा विद्यार्थीहरुलाई पनि अहिलेको समयलाई अध्ययन तथा अध्यापनमा लगाउन र ईन्टरनेटको माध्यमबाट आफूलाई अघि बढाउन आग्रह गरेका छन् ।”

हेर्नुहोस सांसद गौतमको भिडियो सन्देश :

नयाँ बर्ष २०७७ सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ। संजय गौतम सभापति नेपाली कांग्रेस बर्दिया

Posted by नेपाली कांग्रेस बर्दिया गुलरिया on Sunday, 12 April 2020



प्रतिक्रिया दिनुहोस्