Logo

अनौपचारिक मार्गले सीमा बन्द चुनौतीपूर्ण



काठमाडौँ, २ वैशाख । खुला सीमाका कारण नेपाल–भारत सिमानामा ओहोरदोहोर बन्द गर्न कठिन भएको छ । सीमाका सम्पूर्ण नाका बन्द भए पनि अनौपचारिक बाटोबाट एक अर्का देशमा ओहोरदोहोर भइरहेका कारण त्यहाँका स्थानीय प्रशासन हैरान छ  ।

नेपाल र भारतले एक अर्का देशका नागरिक जो जहाँ छन्, त्यहीँ राख्ने र त्यसको व्यवस्था त्यही देशको सरकारले गर्ने सहमति भएको छ । दुवै देशका नाकामा कोही रोकिएका छन् भने कोही आ–आफ्नै ठाउँमा रोकिएका छन् तर खुला सीमाका कारण लुकीछिपी एक अर्काको देशमा ओहोरदोहोर भइरहेको छ । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले खुला सीमाका कारण सीमा क्षेत्रमा आवतजावत नियन्त्रण गर्न अलि कठिन भएको बताएका छन् । उनले भने, ‘‘दुई देशबीच सीमा खुला भएका कारण को आए रु को गए रु त्यसको कुनै तथ्याङ्क हुँदैन, मान्छे पहिचान गर्नमा समस्या भएको छ, यद्यपि सुरक्षा निकायबाट ‘स्क्रिनिङ’ र ‘ट्राफिकिङ’ गर्ने काम भइरहेको छ ।’’

प्रदेश २ को पर्सा जिल्लामा भेटिएका तीन जना कोरोना सङ्क्रमणका कारण सीमा क्षेत्रमा त्रास उत्पन्न भएको छ । सङ्क्रमित तीनै जना भारतीय नागरिक हुन् । गत मार्चमा भारतको दिल्लीमा सम्पन्न तब्लिगी जमात (मुस्लिम समुदायको प्रचारप्रसार गर्ने) कार्यक्रमपछि थुप्रै मुस्लिम नेपाल भित्रिएका कारण सीमा क्षेत्रमा झन् समस्या भएको छ । जमातबाट नेपालका मात्र होइन, विभिन्न देशका मुस्लिम नेपाल छिरेका छन् । उनीहरू नेपालको विभिन्न मदरसा र आफन्तको घरमा लुकीछिपी बसेको पाइएको छ ।जमातीहरूलाई खोज्ने कार्य तीव्र पारिएको प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले बताएका छन् । सङ्घीय सरकार र प्रदेश सरकारले जमाती तथा अन्य देशबाट आएकालाई खोज्ने सर्च अभियान नै सञ्चालन गरेको उनले जानकारी दिएका छन् ।

सशस्त्र प्रहरी, जनपद प्रहरी र अनुसन्धानका गरी तीनै सुरक्षा निकायबाट गस्ती सुरु गरिएको छ । शङ्कास्पद ठाउँमा खोजतलास गर्दै मान्छे फेला पारेर क्वारेन्टाइनमा राख्ने गरिएको बताउँदै उनले हालसम्म दुई सय जना जमाती मात्र फेला परेका र उनीहरूलाई क्वारेन्टाइनमा राखिएको जानकारी दिएका छन् । पर्साका विभिन्न १२ ठाउँलाई सिलबन्दी गरिएको बताउँदै उहाँले आवश्यक प¥यो भने प्रदेशका अन्य शङ्कास्पद ठाउँलाई सिलबन्दी गरिने बताएका छन् । उनले भने, ‘‘खुला सीमाका कारण मान्छे पहिचान गर्न अलि समस्या भएको छ । जति गरे पनि नेपाल–भारतको सीमा पूर्ण रूपमा नियन्त्रण गर्न सकिँदैन, बरु आएकाहरूलाई पहिचान गरी क्वारेन्टाइनमा राख्ने काम गर्नुपर्छ ।’’

नेपाल र भारतबीच एक हजार सात सय लामो खुला सीमा छ । जहाँ छवटा प्रमुख नाका र डेढ दर्जनभन्दा बढी साना नाकाहरू छन् । अनेकौँ अनौपचारिक मार्ग छन् । सीमामा खेतबारी पनि पर्छ । गाउँ पनि छन्, जहाँबाट दैनिक रूपमा हजारौँ मान्छेको ओहोरदोहोर भइरहेको हुन्छ । कतिपय व्यापारिक नाकाहरू पनि छन् । जहाँबाट ठूलो राशिको व्यापार भइरहेको हुन्छ । भारतको गृह मन्त्रालयले चैत १ गते शनिबार राति एउटा सूचना जारी गर्दै नेपाल र भारतबीचका चारवटा नाकाबाट मात्र आवतजावत हुन दिने जनाएको थियो । त्यसमा रानीगञ्ज (काँकडभिट्टा), रक्सौल (वीरगञ्ज), सुनौली (भैरहवा) र बनबासा (महेन्द्रनगर) नाका पर्दछ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्