Logo

परामर्श समितिको बैठक आज



काठमाडौँ, २ वैशाख । मुलुक लकडाउनमा छ । राज्यका अत्यावश्यक बाहेकका अन्य सेवाहरू बन्द छन् । जनप्रतिनिधिमूलक संस्था संसद् ‘लकडाउन’मा छ । कोरोना भाइरस (कोभिड–१९) कहरकै कारण अधिवेशन अघिल्लो साता अन्त्य गरिएको छ । तर विपद्को समयमा संसद्को भूमिका आवश्यक रहेको भन्दै मिनी संसद् सञ्चालनको माग भइरहेको छ । संसदीय प्रणाली अवलम्बन गरेका कतिपय देशले यस्तो अभ्यास गरिरहेका छन् ।

‘भर्चुअल संसद्’को माग बढेपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सोमबार समिति सभापतिहरूसँग परामर्शसमेत गरेका छन् । अघिल्लो साता नै प्रतिनिधि सभाको अर्थ समितिले अनौपचारिक रूपमा यो अभ्यास प्रारम्भ गरेको थियो । औपचारिक बैठक राख्ने तयारी भए पनि नियमावलीका प्रावधान लगायतमा प्रश्न उठाइएपछि औपचारिक बैठक अगाडि बढ्न सकेन । भर्चुअल संसद्को मागमा नियमावली बाधक रहेको तर्क अगाडि सारिएपछि सभामुख अग्निप्रसाद सापकोटाले मङ्गलबार कार्य व्यवस्था तथा परामर्श समितिको बैठक आह्वान गरेका छन् ।

विपद्को अवस्थामा संसद्को भूमिकालाई कसरी अगाडि बढाउने र कस्तो विधि अपनाउने भन्दै सभामुख सापकोटाले बैठक बोलाएको हो । कार्य व्यवस्था परामर्श समितिले सदनको कार्यसूची लगायतमा छलफल गर्ने गर्छ । सङ्घीय संसद्का कार्यवाहक महासचिव गोपालनाथ योगीले सभामुखको निर्देशनमा मङ्गलबार कार्य व्यवस्थाको बैठक बोलाइएको जानकारी दिएका छन् । योगीले भने, ‘‘अधिवेशन पनि छैन । संसदको भूमिकाको माग पनि भइरहेको छ । यिनै समसामयिक विषयमा परामर्शका लागि सभामुखबाट बैठक आह्वान भएको हो । ’’
(गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्