काठमाडौं, २ वैशाख । टेकुस्थित सरुवा रोग अस्पतालका महानिर्देशक डा. सागरकुमार राजभण्डारी देशमा कोरोना भाइरसको संक्रमितको संख्या बढ्न सक्ने बताउँछन् । उनले प्रविधि भित्राएर टेष्टको दायरा बढाउनुपर्नेमा जोड दिए । यसै सेरोफेरोमा डा. राजभण्डारीसँग ऋषि धमलाले गरेको कुराकानीः
कोरोनाको प्रकोप नेपालमा बढ्न थाल्यो होइन, काठमाडौंमा पनि देखियो नि यसलाई तपाईंहरुले कसरी लिनुभएको छ ?
यो त हामीले धेरै पहिलादेखि यस्तो हुन सक्छ भनेर अन्दाज गरिएको कुरा हो । अहिलेसम्म १४ वटा केसहरु प्रमाणित भइसकेको छ । पछिल्लो समय परीक्षणका दायराहरु बढाइएकाले संक्रमितको संख्या अझै केही बढ्ने अनुमान गरिएको छ ।
त्यसोभए नेपालमा संक्रमणको संख्या बढ्न थाल्यो होइन ?
हो, बढ्न थालेको छ ।
हिजो काठमाडौमा एकै परिवारका तीनजनामा संस्कास्पद विरामी देखियो नि ? त्यतातिर तपाईंहरुको ध्यान गएको छैन ?
हाम्रो सबैतिर ध्यान गएको छ । हामीले पहिलादेखि नै परीक्षणको दायरा बढाउनुपर्छ भन्दै आएका हौं । पछिल्लो एक हप्तादेखि रयापिड टेष्टलाई पनि धेरै ठाउँमा बढाइएको छ । टेकु अस्पताललगायत देशका विभिन्न अस्पतालहरुबाट टेष्टको दायरालाई बढाइएको छ । त्यसकारणले केसहरु बढेको हो । हाम्रो उद्देश्य पनि छिटोभन्दा छिटो टेष्ट गरेर संक्रमित पत्ता लगाउनुपर्छ भन्ने हो ।
हिजो जसरी तपाईंहरुले काठमाडौंको सनसिटी अपार्टमेन्टबाट तीनलाई शंकास्पद रुपमा लिनुभएको छ, उहाँहरुको अवस्था के छ ?
उहाँको अवस्थाको बारेमा भन्नुपर्दा यो भन्दा पहिला तपाईंसँग कुरा गर्दा मैले भनेको थिएँ, ‘यसमा झन्डै ८० प्रतिशत मान्छेहरुलाई सामान्य लक्षणहरु बाहेक के देखिँदैन’ । १५ देखि २० प्रतिशतलाई मात्रै ज्वरो, खोकी, सास फेर्न गाह्रो हुन भइ अस्पताल भर्ना गर्नुपर्ने हुन्छ । मैले लकडाउन हुनुभन्दा पहिला तपाईंसँग कुरा गर्दा इन्टरनेशनल एयरपोर्टबाट आएका हरेक व्यक्तिलाई क्वारेन्टाइनमा राख्नुपर्छ’ भनेर । त्यो नभएर सामान्य ज्वरोको टेम्प्रेचर मात्रै चेक गरेर छोडियो । त्यो नै गल्ती भयो जस्तो अहिले लाग्छ । ती विदेशबाट आउने व्यक्ति पहिला नै हामी टाइट गरेर क्वारेन्टाइनमा राखेर स्क्यानिङ गरेको भए आज यो स्थिति आउने थिएन । त्यो गर्न सकिएन । अहिले पनि विगत ३ हप्ता ४ हप्तादेखि विदेशबाट आउनुभएका व्यक्तिहरु हुनुहुन्छ भने सुरक्षित ढंगले कसैसँग भेटघाट नगरी होम क्वारेन्टाइनमा बस्नुहोस् । नजिक स्वास्थ्य संस्थामा गएर स्वाप पनि जचाउनुहोस् भनेर हामीले जानकारी दिइरहेका छौं । त्यसकारण यसप्रति हाम्रो दृष्टिकोण नभएको भने होइन ।
हिजो भेटिएका ती संस्कास्पद व्यक्तिहरु तिनैजना बेलायतबाट आएका हुन् ?
उहाँहरु तीनैजना बेलायतको एउटा पारिवारिक कार्यक्रममा संलग्न भएर आउनुभएको हो । उहाँ तिनैजना एउटै परिवारका आमा, छोरा र बुहारी हुनुहुन्छ भन्ने हामीले सुनेका हौं । उहाँहरु आएको पनि चार हप्ता भइसक्यो । त्यति हुँदाहुँदै पनि उहाँहरुको स्वाप टेष्ट गर्ने कि नगर्ने भनेर विवाद पनि भएको हो । त्यही पनि आइसकेपछि किन टेष्ट नर्गे भन्ने भएर गरिएको हो । यो पक्ष सकारात्मक पनि छ नकारात्मक पनि छ । यसले खास देखाउने भनेको हप्ता १० पछि हो । शारीरिक अवस्थामा ठीक भएको मान्छेमा पनि देखाउन सक्छ । नेपालगन्जको घटना पनि यहाँहरुले देख्नुभएको होला । पहिला ¥यापिट टेष्टमा पोजेटिभ आएको पछि पीसीआर गर्दा नेगेटिभ देखिएको छ ।
क्वारेन्टाइनबाट फर्किएका मान्छेमा पनि कोरोना भएको समाचारहरु आइराखेका छन् नि ?
त्यही त त्यस्ता केसहरु देखिएका छन् । त्यसले हामीले अभैm राम्रो टेक्नोलजीहरु भित्रायाएर टेष्ट गर्नुपर्ने हुन्छ । अहिले भएका आरडीसी मात्रै होइन विश्वमा धेरै प्रकारका टेक्नोलजीहरु आइसकेका छन् । भोलिका दिनमा विदेश गएको होस् नगएको होस् जुनसुकै नागरिकले पनि आफूलाई टेष्ट गर्न चाहन्छ भने त्यो सुविधा दिनसक्नुपर्छ ।
तीनजनामा त्यो केस देखिएपछि त्यो अपार्टमेन्टमा बस्ने सबैमा त्रास भयो नि ?
हामीले धेरै पहिलादेखि सोसियल डिस्टेन्समा बस्नुस्, भीडभाडमा नजानुस्, सभा सम्मलेन नगर्नुस्, भोजभतेर, पार्टी नगर्नुस् भनेर । यदि स्वास्थ्यकर्मी, प्रशासन र सम्बन्धित निकायले भनेका कुराको बरखिलाप गर्नुहुन्छ भने उहाँहरु कै गल्ती हो । यदि आफ्नो परिवार, सोसाटी र समाजको स्वास्थ्यस्थितिको ख्याल गर्नुहुन्न भने उहाँहरुको हेलचेक्र्याईं हो । यस्तो अवस्थामा सरकारले मात्रै गरेर पुग्दैन नागरिक समाज, सम्बिन्धित निकायदेखि सर्वसाधारण सबैले ख्याल गर्नुपर्छ । त्यो देखिएको छैन, अबका दिनमा यो कुरा हुनुपर्ने देखिन्छ ।
तपाईंहरुले त्यो अपार्टमेन्टमा सिलबन्दी गरिसक्नुभयो ?
यसको जवाफ दिनुपर्ने म एक्चुअल मान्छे परिँन ।
तपाईंलाई टेकू अस्पतालको निर्देशकको नाताले सोधेँ नि ?
अहिले मैले सुनेअनुसार त्यो ठाउँ र एरिया सिल भइसकेको छ । त्यहाँ बस्ने व्यक्तिहरुलाई एकदमै निगरानीमा राखिएको छ । साथै उनीहरुको टेष्ट गर्ने प्लानिङ गरिराखेका छौं ।
त्यहाँ बसेका सबै व्यक्तिको टेष्ट गर्नुहुन्छ ?
ऋषिजी, पहिला उहाँहरुको रयापिड टेष्टमा मात्रै पोजेटिभ देखिएको छ । त्यसको रिपोर्ट आउँदैछ । त्यसपछिको रिपोटमा पोजेटिभ दियो भने मात्रै हामी अरुको टेष्ट गराउँछौं ।
यिनीहरुको रिपोर्ट पोजेटिभ देखियो भने मात्रै टेष्ट गराउनुहुन्छ ?
उनीहरुलाई भयो भन्दैमा अरुलाई पनि असर परेको छ भन्न सकिँदैन । किन यसको वास्तविकता पत्ता लगाउने स्वाप परीक्षणबाट हो । उहाँहरुको स्वाप गइसकेको छ त्यसको रिपोट आइसकेपछि के स्टाटस छ भन्ने थाहा पाइन्छ । उनीहरु तीनैजनामा त्यस्तो लक्षणहरु केही पनि देखिएको छैन ।
रयापिट टेष्टको कुरा गर्दा विश्वासिलो छ हो ?
मैले अगाडि नै भनिसकेको छु नि । यसमा पुरै १०० प्रतिशत विश्वास गर्न सकिँदैन भनेर ।
कतिपय ठाउँमा गलत रिपोर्टहरु आए भन्छन् नि ?
त्यही भएर त यो रयापिड टेष्टको बारेमा ठूलो बहस चलेको यहाँलाई जानकारी छ नि ।
त्यसोभए अहिले स्वास्थ्य सामाग्रीको कुनै अभाव छैन ?
अभावको कुरा आउने क्रमहरु पनि बढिरहेका छन् । अहिले जे–जति पीपीईलगायतका स्वास्थ्य समाग्रीहरुले अहिलेको वअस्थालाई हेर्दा पर्याप्त छैन । यसको परिपूर्तिका लागि चार्टर्ड एकाउन्टेन्ट एशोसिएसनहरु लगायत थुप्रै सेवाग्राही संघसंस्थाहरुले पनि सहयोगी हात बढाउँदै आउनुभएको छ । कसैले पीपीई, कसैले स्यानिटाइजरलगायतका सामानहरुमा सहयोगी हातहरु अगाडि बढाइरहनुभएको छ ।
रौतहटको कुरा गर्दा विरामीहरुको अवस्था के छ ?
अहिलेसम्म हामीले जति परीक्षण गरेका उनीहरुमा लक्षणहरु केही देखिएको छैन । मैले अगाडि पनि भनेँ, ८० प्रतिशतमा त यसको केही लक्षण देखिँदैन । कतिपय सामान्य रुघाखोकी लाग्छ, केही दिनमा आफै निको हुन्छ । प्रायः यी सबैमा त्यस्तै खालका लक्षण देखिएका हुन् । अब रौतहटको कुरा गर्दा उहाँ भारतबाट आउनुभएको व्यक्ति हो । उहाँ काम गर्ने ठाउँमै संक्रमित भएको पनि हुन सक्छ र आउँदा यात्रामा पनि संक्रमित भएको हुन सक्छ । उहाँलाई परिवारले घरमा छिर्न नदिएर स्थानीय क्वारेन्टाइनमै बस्नुभएको हो । क्वारेन्टाइनमै टेष्ट गर्दा उहाँलाई पोजेटिभ आएको हो । विदेशलगायत अन्यत्रबाट आउने व्यक्तिलाई स्थानीयले र घरपरिवारले पनि घुलमिल हुन नदिएर क्वारेन्टाइनमा राख्नु एउटा राम्रो प्रक्रिया हो ।