काठमाडौं, २ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल लकडाउनको अवधिमा के गरेर समय व्यतित गर्छन् ? भनेर चासो हुनु स्वभाविक हो । पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा अध्यक्ष दाहालले लकडाउनमा आफ्नो दैनिकी समेत सुनाएका छन् । उनले अहिले आफ्नो समय अध्ययनमा पनि खर्च भैरहेको सुनाए ।
उनले थपे,“दिउँसो चाहीँ म पढ्छु । खासगरी अहिले यो विश्व व्यवस्थासम्बन्धी, अहिलेसम्म पुँजीवादले विकास गरेको विश्व व्यवस्थाले के ल्यायो ? के भयो ? भन्नेबारेका किताबहरु मैले पढ्छु । थोमसले लेखेको क्यापिटल भन्ने पुस्तक पढेको छु । यो किताब धेरै महत्वपूर्ण छ । मेरो अहिले त्यसमा ध्यान छ । अर्को एउटा फ्युचर ईज एसियन भन्ने पराग खन्नाको पुस्तक पनि पढ्दैछु । दिउँसो दुई तीन घण्टा पढ्ने, लेख्ने गरेको छु । बेलुका फेरि हाम्रो घुम्न निस्किने हुन्छ । फेरि एक्सरसाईज । विहान ब्रेकफाष्टपछि आवश्यक हेरेर नेताहरुसँग फोनमा कुरा गर्ने गरेको छु । प्रधानमन्त्रीले बोलाउनुभयो भने भेट्न जाने गर्छु ।”
मिलेर खाना पकाउँछौं, विहान ननभेज बेलुका भेज खान्छौं
अहिले लकडाउनको अवधिमा यहाँले कसरी समय व्यतित गरिरहनुभएको छ ? परिवारलाई कसरी समय दिनुभएको छ ? भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने,“अब मैले यो धेरै चोटी भनिनै सकें । फेरि एकचोटी भन्छु । म विहान प्रायः पाँच बजे उठिसक्छु । उठिसकेपछि आधा घण्टा मेरो संगित सुन्नेमा जान्छ । पूराना गीत सुन्छु । एकदम पूराना गीत सुन्छु । म आधुनिक गीतपनि सुन्छु । त्यसपछि नित्य कर्म गरेपछि मेरो एक्सरसाईज सुरु हुन्छ । म विहान चालिस मिनेटजति एक्सरसाईज गरेर खलखल पसिना निकाल्छु । म दैनिक पसिना निकाल्छु । नुहाईधुहाई गरेपछि पत्रपत्रिका हेर्ने गर्छु । पत्रपत्रिका अध्ययन गरेपछि मेरो घरमा अहिले सबैले एक्सरसाईज गर्ने गरिएको छ । घरको कम्पाउण्डमा कोही हिँड्ने, कोही साईकल चलाउने, म आफैंपनि २० देखि २५ मिनेट साईकल चलाउँछु । मेरो म्याडम त विरामी छन्, पहिले दैनिक थेरापी गरिन्थ्यो । तर, अहिले दैनिक थेरापी गराउन अस्पताल लैजान सकिँदैन् । हामी परिवारका सबै सदस्य मिलेर उनलाई यहाँ घुमाईन्छ । तपाईले पनि देखिसक्नुभयो । मेरो दायित्व छ । डाक्टरले पनि यो उपचारको क्रममा भने क्या, अब सीताजीले झण्डै तपाईलाई ५० वर्ष सेवा गर्नुभयो, अब तपाईले पनि सेवा गर्नुपर्ने हुन्छ उहाँलाई भने । यो विराम यस्तो हो कि सबैले सेवा गर्यो भने बाँच्ने हुन्छ, नत्र अप्ठ्यारो हुन्छ भनेर भनेको कुराले पनि मलाई छोएको छ । हामी परिवारका सबै सदस्यले त्यो फिल गर्छन् । अहिले अलिक प्रगति पनि भएकोजस्तो लागेको छ । अहिले अलिक सजिलोसँग हिँड्ने भएकी छिन् । त्यसमा पनि हामीलाई सन्तोष नै छ ।त्यसपछि हाम्रो समय जान्छ खानपिनमा । हामीले खानपिनको नियम बनाएका छौं अहिले । परिवारमा बसेर कसरी खाने ? बिहान ननभेज र बेलुका भेज खाने । बेलुका थोरै खाने नियम छ । विहान चाहीँ भयो भने (सधैं हुनपर्छ भन्ने छैन) भयो भने माछा, मासु खाने । अहिले समय भएकोले घरको छतमा दाउरामा खाना पकाउने गरिएको छ । त्यसो गर्दा अलिकति मेहनत पनि देखिनेभयो । सामूहिकजस्तो पनि भयो । खानेकुरापनि मिठो हुनेभयो । युट्युबमा हेरेर खाना बनाउनतिर पनि लागिएछ ।”