काठमाडौं, २ वैशाख । सरकारले सीमाबाट प्रवेशमा अनिश्चितकालिन रोक लगाएको भन्दै हवाई र जमिन मार्गबाट कसैलाई पनि विना अनुमति प्रवेश नदिने स्पष्ट पारेको छ । कोरोना भाइरसको रोकथामका लागि सीमा नाका बन्द गरिएको भन्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले झन् कडाई गरिएको प्रष्ट पारे ।
मन्त्रिपरिषदको निर्णयबारे जानकारी गराउँदै उनले लकडाउन अवधि लम्ब्याइएको खुलाउँदै सीमा नाका अनिश्चितकालका लागि बन्द गरिएको बताए । त्यस अवधिमा कसैलाई विना अनुमति बाहिर जान र लान नदिने स्पष्ट पारे ।
भारतसँगको सीमाबाट अवैध तरिकाले मानिसहरु लकडाउनमा प्रवेश गरेको र कोरोना संक्रमित भेटिएको तथ्य खुलेपछि सरकारले सीमामा कडाई गर्ने निर्णय गरेको हो । वीरगञ्जको मस्जिदमा भारतबाट लकाउनमा प्रवेश गरेका तीनजना भारतीय संक्रमित भेटिएका छन् ।
संक्रमितहरु मस्जिदमा बसेको पाइएपछि सरकारले अब देखि विदेशबाट विना अनुमति प्रवेश गरेकालाई आश्रय दिनेलाई पनि कारबाही गर्ने निर्णय गरेको हो ।
लकडाउनका समयमा देशभित्र छिरेका छ जनामा कोरोना संक्रमण पत्ता लागिसकेको छ । जसमध्ये तीनजना पर्सा, दुईजना कैलाली र एकजना रौतहटमा भेटिएका हुन् । उनीहरु भारतबाट प्रवेश गरेका थिए ।
सीमामा कडाईका लागि सरकारले थप सुरक्षाकर्मी परिचालन गर्ने भएको छ । गृह मन्त्रालयले पहाडी जिल्लाबाट र व्यक्तिगत सुरक्षाका लागि खटिएकाहरुलाई तानेर सीमा क्षेत्रमा खटाउने तयारी गरिसकेको छ ।-File Photo