Logo

महामारीबाट निम्तिने आर्थिक संकट र निकासका उपाय



काठमाडौँ, ३ बैशाख । अहिले कोरोना भाइरस (कोभिड १९) को महासंग्रामले विश्वका अधिकांश देशहरु पूरै वा आशिंक रुपमा बन्द छन् । विद्यालयदेखि क्याम्पस युनिभर्सिटी हुँदै मन्दिर मस्जिद र चर्चसम्म तथा विद्युतीय सामग्रीको व्यापारदेखि निर्माण व्यवसायसम्म सबै यो बन्दका सिकार हुन पुगेका छन् । विश्वका अधिकांश मुलुकहरुले अत्यावश्यक सामग्रीहरु जस्तो कि औषधि र दैनिक अत्यावश्यक खाद्यपदार्थबाहेक अरु सबै व्यापार व्यवसायहरुलाई बन्द गर्ने आदेश जारी गरेका छन् । यसले अर्थतन्त्रलाई अहिले नै ठूलो मार्कामा पारेको छ भने भविष्यमा निम्त्याउन सक्ने दीर्घकालिन अर्थसंकट धेरै नै बिकराल देखिन्छ ।

कतिपय मुलुकहरु अझै पनि पर्ख र हेरको रणनीतिमा अल्झिएका छन् । यो भाइरसको पछिल्लो अवस्थालाई हेर्दा तत्काल कम हुने लक्षणहरु देखिदैन। तर, यसको अर्थ यो पनि होइन कि, यो भाईरससँगको महाभारत युद्धबाट देशहरु कहिल्यै बाहिर निस्कन सक्दैनन् । हामीले विगतको इतिहासलाई हेर्ने हो भने पनि प्रत्येक एकसय बर्षको अन्तरालमा यस्तै खालका महामारीबाट सिंगो विश्व अछुतो रहन सकेको छैन ।

उदारणका लागि सन् १९१८ मा विश्वभर तीन भिन्न महामारीको तरंगले लगभग ५० मिलियन मानिसको ज्यान लिएको थियो । तर यसपालिको महामारीले यति धेरै मानिसको ज्यान लिने संभावना भने अति नै न्यून छ । किनकि अहिले लगभग सबै देशको स्वास्थ्य प्रविधिमा सघन उपचार कक्ष (आईसियु)देखि मेकानिकल भेन्टिलेटरसम्मको सुविधा उपलव्ध छ । यी सुविधाहरुले भाइरसको औषधीको काम गर्न त सक्दैनन् । तर बिमारीहरुलाई श्वासप्रश्वासमा सहजता दिलाउने अतुलनिय भूमिका निर्वाह गर्छन् । फलस्वरुप विमारीहरुको बिभिन्न महत्वपूर्ण अंगमा अक्सिजन पुगी बिमारीहरुलाई श्वासप्रश्वासमा केही सहजता मिल्न गई बिमारीको ईम्यून सिस्टमलाई अन्य केही समय भाइरससँग लडिरहन मद्दत पुग्छ ।

अहिले विश्वको अवस्थालाई हेर्दा के देखिन्छ भने जुन देशले सबैभन्दा बढी यो भाइरसको टेस्ट गरेको छ । त्यहाँ मृत्युदर अन्य देशहरुको तुलनामा कम छ । जस्तो जर्मनी, दक्षिण कोरियालाई हामीले उदाहरण को रुपमा लिन सकिन्छ । यो भनिरहँदा अमेरिकामा पनि अन्य युरोपियन मुलुकहरुमा भन्दा तुलनात्मक हिसाबले टेस्ट बढी नै भएको पाइन्छ । हामीलाई लाग्न सक्छ अमेरिकामा दिनहुँजसो २ हजारभन्दा बढी मान्छे मरिरहेका छन् । वास्तवमा संयुक्त राज्य अमेरिकाको कुल जनसंख्यालाई हेर्ने हो भने त्यहाँको मृत्युदर अन्य देशको तुलनामा खासै ठूलो होइन । तर पनि, अमेरिकाले यसलाई अलिकति कम गर्न सक्थ्यो । यदि उसले पहिले नै वैज्ञानिकहरुको सल्लाहअनुसार सामाजिक दुरी कायम गर्ने र लकडाउन गरेको भए ।

महामारीबाट उत्पन्न आर्थिक मन्दी र आउँदो भविष्य
अब कुरा गरौँ, यो महामारीबाट भएको आर्थिक मन्दी र त्यसैगरी, यो महामारीबाट संक्रमित विभिन्न देशहरुले कहिले र कसरी बाहिर निस्कन (एक्जिट स्ट्राटेजी) का लागि के कस्ता उपायहरु अपनाउन सक्छन भन्ने बारेमा चर्चा गरौँ ।

१. हर्ड इम्यूनिटी
सर्वप्रथम, सुरक्षित रुपमा यो भाइरसबाट बाहिर आउनका लागि सबैभन्दा उत्तम उपाय भनेको यो विरुद्ध खोपको प्रयोग गर्नु नै हो । तर, अहिलेको परिस्थितिलाई हेर्दा खोपको सहज पहुँच सर्वसाधारणहरुसम्म आइपुग्न कम्तिमा पनि १२ देखि १५ महिनासम्म लाग्न सक्छ । तर, यो भनिरहँदा माथिल्लो वर्गले भने केही पहिले नै पाउन सक्ने संभावना छ । तर जबसम्म सर्वसाधारणहरुसम्म यो सहज रुपमा पुग्दैन यसले समस्याको समाधान गर्दैन । दोस्रो कुरा भनेको सरकारले विभिन्न खालका बन्देजहरुलाई खुला गर्ने जसको कारणले मानिसहरुको आवातजावत पहिले जस्तो हुन गई कम्तिमा पनि ७० प्रतिशत भन्दामाथि यो रोग फैलिन सक्छ र यसले विस्तारै मानिसहरुको यो रोगप्रतिको प्रतिरोधात्मक शक्ति बृद्धि हुन सक्छ । तर, दोस्रो विकल्पलाई लिने हो भने आर्थिक चहलपहल त हुन्छ । तर त्यसको बदलामा धेरै नै संख्यामा मानिसहरुको ज्यान जाने खतरा रहन्छ

२. अत्यधिक टेस्ट विधि । यो भाइरसबाट छिट्टै बाहिर निस्कने हो भने देशहरुले धेरै मात्रामा टेस्ट गरी भाइरसको पहिचानसहित रोग लागेका र नलागेकालाई छुट्याउने । रोग लागेकाहरुलाई तत्काल उपचार गर्ने र तिनीहरुसंग सम्पर्कमा आएकाहरुलाई पहिचान गरी आइसोलेसनमा राख्ने तर यसको प्रयोग आर्थिक स्थिति सबल भएका देशहरुले मात्र गर्न सक्छन् । त्यसैले यो उपाय हाम्रो जस्ता अतिकम विकसित मुलुक नेपालमा चुनौतीको विषय बन्न सक्छ ।

अब कुरा गरौँ, हाम्रो देश नेपालले कस्तो विकल्प अपनाउँदा खेरी यो भाइरसबाट पनि बच्ने र अर्थतन्त्रमा पनि कम क्षति हुने सम्भावना हुन सक्छ । अहिलेको नेपालको परिप्रेक्ष्यलाई हेर्दा नेपालको एक मात्र विकल्प भनेको सामाजिक दुरी कायम गर्नु नै हो । यदि यसलाई केही समय गर्न सकेको खण्डमा र विदेशहरुबाट आउने आवतजावतलाई अरु केही समय रोक्न सकेको खण्डमा नेपाल विश्वमा उदारणका रुपमा आफूलाई प्रस्तुत गर्न सक्ने संभावना दरिलो छ । यसो गर्न सक्यो भने नेपाललाई दुई वटा फाइदा हुन्छ । एक, बिमारीहरु अति नै कमी भएको कारण गर्दा यो बाट हुन सक्ने आर्थिक क्षति कम हुन्छ ।

अर्को, नेपालले भैपरी आउने क्षति व्यवस्थापन कसरी गर्ने भन्ने कुरामा ठूलो शिक्षा लिन सक्छ । जस्तो कि अहिले बिमारीको दर अन्य देशहरुको तुलनामा निकै नै कम हुँदा पनि सरकारले अन्तबाट सिकेको तयारी बिधि । यदि यो कुराहरु गर्न सकेको खण्डमा विश्वका ठूला ठूला राष्ट्र्को आर्थिक बृद्धिदर नकारात्मक विन्दूमा जाँदा नेपालले यही परिस्थितिका वावजुद पनि आर्थिक बृद्धिदर कम्तिमा २ देखि ३ प्रतिशत हासिल गर्न सक्छ । तर यसको लागि नेपालले स्मरण गर्नु पर्ने कुरा के छ भने कसरी हुन्छ कृषि उत्पादनमा बेरोजगार जनशक्तिलाई प्रयोग गरेर उत्पादन बृद्धि गर्ने ।

अर्कोतिर यो आर्थिक मन्दीको चपेटामा मिडल इस्ट पनि पर्ने हुँदा त्यहाँबाट ठूलो संख्यामा नेपालीहरु स्वदेश फर्किने सम्भावना छ । यदि त्यो जनशक्तिलाई प्रयोग गर्न सकेको खण्डमा भबिस्यमा विदेश जाने क्रमलाई पनि बिस्तारै रोक्न सकिन्छ । यसले युवाहरुमा सरकारप्रति हेर्ने नजरमा परिवर्तन ल्याउन मद्दत गर्छ । नेपालका छिमेकी मुलुकहरुमा ठूलो आर्थिक मन्दी लाग्ने सम्भावना छ । जस्तो कि गत हप्ता मात्र प्रकासित विश्व बैंकको अनुमानलाई हेर्ने हो भने भारत, पाकिस्तानजस्ता अन्य कैयौँ मुलुकहरुको आर्थिक वृद्धिदर नेगेटिभ हुने सम्भावना दरो छ । यसको फाइदा नेपालले लिनु सक्नुपर्छ ।

विकसित मुलुकको कुरा गर्दा विश्वको पाँचौ ठूलो अर्थतन्त्र भएको बेलायतले पनि आउँदो जुन महिनामा कम्तिमा पनि ३५५ सम्म अर्थतन्त्र कम हुन सक्ने संकेत आज मात्रै यहाँका अर्थ मन्त्रीले बताएको कुरा बीबसीले जानकारी गराएको छ । तर पनि यदि बेलायतले अत्यन्तै चलाखीपूर्ण तरिकाले यहाँका उद्योग र कृर्षि फारामहरुलाई अलि बढी प्राथमिकता दिएर तिनीहरुको उत्पादन बढाउन सक्यो भने आर्थिक वृद्धिदर सकारात्मक नभएपनि नकारात्मकतर्फ जाने सम्भावनालाई अलिक कम गर्न सकिन्छ । (डा. मुकुन्द बास्तोलाले वीनेपालीडटकममा लेख्नु भएको आलेखको सम्पादित अंश, डा. मुकुन्द बास्तोला बेलायतको कार्डिफ स्कूल अफ मेनेजमेन्टबाट अर्थशास्त्र विषयमा विद्यावारिधि गर्नु भएको छ ।)



प्रतिक्रिया दिनुहोस्