काठमाडौं, ३ बैशाख । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रकुमार श्रेष्ठले स्वास्थ्य सामग्री खरिद प्रकरणमा अनियमितता भएको प्रमाणित भए आफू जस्तोसुकै सजाय भोग्न तयार रहेको स्पष्ट पारेका छन् । यो प्रकरणलाई लिएर अख्तियार दुरुपयोग अनुशन्धान आयोगलगायत सम्बन्धित निकायले जवाफ मागे आफू जहिल्यैपनि जवाफ दिन तयारी अवस्थामा रहेको पनि उनले विश्वास दिलाएका छन् । मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
ईन्टरभ्युको सुरुवातमै पत्रकार धमलाले चौतर्फी रुपमा तपाईमाथि मान्छेहरु खनिएका छन् नि ? के कारणले भनेर सोधेका थिए । जवाफमा श्रेष्ठले भने, “सायद धेरै काम गर्नुपर्नेछ । त्यसले मलाई उत्साह दिएको छ । सबै खनिनु भनेको मतलब अझै राम्रो काम गरे भनेको हो । त्यसलाई मैले एकदम प्रेरणाको रुपमा लिएको छु । यसले ठिक गरेको छ कि छैन् ? भनेर हेर्नु त एकदमै राम्रो कुरा हो । तर, के हो भने काम गर्ने मान्छेलाई काम गर्न दिनुपर्छ । अहिले हामी ठूलो अन्तर्राष्टिय संकटमा छौं । अहिले संसार बन्द छ । संसारका ५ अर्ब मान्छेहरु लकडाउनमा छन् । यस्तो विषम परिस्थितिमा हामी छौं । यो बेलामा जनताले केही आश राख्नु स्वभाविककै हो । हामी सरकारी कर्मचारी हौं । हामीले हाम्रो जिम्मेवारी पूरा गर्नुपर्छ । सबै नियमनकारी निकायहरुले हेर्नुपनि पर्छ ।”
उनले यो प्रकरणलाई लिएर आफू अहिलेसम्म अख्तियारमा बयान दिन नगएको पनि जिकिर गरे । तर, सल्लाह लिनको लागि भने अख्तियार गएको उनले स्विकारे । उनले भने,”म सल्लाह लिन महान्यायधिवक्ताको कार्यालयपनि जान्छु । अहिले परिस्थिति विषम छ । सामान ल्याउनुपर्ने छ । सामान नल्याउन साथ तपाईले भन्नुहुन्छ कि तैलें अपराध गरिस् । अख्तियारले मलाई बोलाएको पनि छैन् । बयान लिएको पनि छैन् । अहिले मैले अख्तियारसँग परामर्श गर्नुपर्छ । सल्लाह लिनुपर्यो नि ।”