Logo

प्रचण्डको अपिल : के रछ त धन भनेको ?, यो बेलामा मुठ्ठी खोलेर सहयोग गरौं (भिडियोसहित)



काठमाडौं, ३ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लकडाउनको मारमा परेका श्रमजिवी, ज्यालादारी तथा मजदुरी गरेर खाने विपन्न परिवारलाई खाद्यान्नलगायत सहयोग गर्न निजी व्यवसायीहरुलाई आग्रह गरेका छन् । प्राईम टाईम्स टेलिभिजनको लागि पत्रकार ऋषि धमलासँगको विशेष कुराकानीमा उनले यस्तो बताएका हुन् ।

राहत वितरण प्रभावकारी भएन रु भन्ने पनि गुनासो आईरहेको सुनाउँदै उनले सही तरिकाले वितरण गर्नुपर्ने धारणा राखे । सरकारले यसबारेमा निर्णय गरिसकेकोले सबैले समन्वय गर्नुपर्ने उनको भनाई छ । उनले भने-“काठमाडौंबाट हिँडेर सप्तरी, सुनसरी जाने भनेर मान्छेहरु बाटो लागेका छन् । कुम्लो, कुटुम्बो बोकेर हिँडेका छन् । त्यो देख्दा बडो भावुकपनि हुने गरेको छु । त्यसकारण ती सबै जनताप्रति, मजदुरहरुप्रति, गरिब जनताप्रति मेरो विशेष सहानुभूति छ । उहाँहरुलाई सरकारको तर्फबाट राहतको घोषणा पनि भएको छ । साथसाथै, मैले निजी क्षेत्रका व्यवसायीहरु, अलि पुँजीपतिहरुलाई यस्तो बेलामा, किनकी यो कोरोनाले त अहिले पुँजीपति पनि भनेको छैन्, मजदुरपनि भनेको छैन् । यो जातिपनि भनेको छैन् । त्यो जातिपनि भनेको छैन् । यो देशपनि भनेको छैन् । त्यो देशपनि भनेको छैन् । यो धर्मपनि भनेको छैन् । त्यो धर्मपनि भनेको छैन् । संसारका मानिसमाथि मात्रै त्यसले एकै ढंगले आक्रमण गरेको छ । कुन ठूलो पदको ? कुन सानो पदको ? भनेर पनि त्यसले भेद छुट्याएको छैन् ।”

दाहालले यस्तो बेलामा हामीले अलिकति मानवीय हृदय खोलेर त्यस्तो निजी व्यवसायीहरुलाई अगाडि आउन र मजदुर र सबै निमुखाहरुलाई सहयोग गर्न अलिक मुठ्ठी खोल्न आफूले सुरुमा पनि अपिल गरेको स्मरण गराए । उनले भने,”म आजपनि फेरि भन्न चाहन्छु । के रछ त धन भनेको ? हामीले भुकम्पको बेलामा एकचोटी भोग्यौं । सब घर, बंगला भनेजति सब भागभाग भयो । हामी सबै चौरमा पुग्यौं । सबै टेन्टमा बस्यौं । भुकम्पले झण्डैझण्डै सबैलाई समाजवाद आयोजस्तो बनाईदियो भनेर हामीले नेगेटिभ्ली टिप्पणी गरेको पनि सुन्यौं । अहिलेपनि मान्छे मात्रैलाई एकतावद्ध होउ भनेर नेगेटिभ्ली सन्देश दिएको जस्तो फिल हुन्छ । तिमीहरु चाहीँ यो अहंकार नगर । धनी छु भनेर घमण्ड नगर । ठूलो पदमा छु भनेर घमण्ड नगर । तिमी केही नै होईनौं । तिमीहरु मान्छे सबै एउटै हौ भनेर शिक्षा दिएजस्तो लाग्छ । त्यो बुझेर चाहीँ त्यस्ता निजी व्यवसायीहरुले यो बेलामा मुठ्ठी खोल्नुपर्छ भनेर म अनुरोध गर्न चाहन्छु ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot