भैरहवा, ३ वैशाख । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी बढुवा भएका प्रभात ज्ञवालीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिई मुद्दा दायर गरेको छ ।
सिद्धार्थनगर नगरपालिका भैरहवामा कार्यरत ज्ञवालीले बढुवा हुने क्रममा पेश गरेको भारतीय शैक्षिक प्रमाणपत्र झुठ्ठा र नक्कली रहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा प्रमाणपत्र नक्कली रहेको पृष्टि भएको हो ।
उनले माध्यमिक शिक्षा परिषद, क्षेत्रीय कार्यालय, बाराणसी, भारतबाट नक्कली झुठ्ठा शैक्षिक प्रमाणपत्र लिई सरकारी ओहदा पाउने उद्देश्यले पेश गरी कम्प्युटर (प्राविधिक) र अधिकृत द्वितीय (प्राविधिक) पदबाट सहायक स्तर प्रथम तह (ना.सु.) कम्प्युटर अपरेटर र अधिकृत छैठौ (प्राविधिक) कम्प्युटर अधिकृत पदमा गरी दुई पटकसम्म बढुवा भई तलबभत्ता, सेवा सुविधा लिएका थिए ।
ज्ञवालीलाई कानुन बमोजिम सजाय हुन मागदाबी लिई मंगलवार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् ।