काठमाडौ, बैशाख ३ । त्रिभुवन विमानस्थल भन्सार कार्यालय काठमाण्डौका एक्सरे टेक्निसियन राज कुमार ढकाललाई २ करोड भ्रष्ट्राचार गरेको अभियोगमा आज अख्तियारले मुद्दा दायर गरेको छ । स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको भन्ने उजुरी सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा ढकालले स्रोत नखुलेको रकम २ करोड २ हजार ८ सय ८६ रुपैयाँ ६५ पैसा आर्जन गरेको पुष्टि भएको थियो ।
निजको परीक्षण अवधिमा कुल आय भन्दा ब्यय बढी भएकोले निजले पेश गरेको सम्पत्ति विवरण निजको आर्थिक हैसियत भन्दा अस्वभाविक र अमिल्दो रहेको, निजको जीवनयापन स्तर आयस्रोतभन्दा उच्च देखिएको, निजको नाममा रहेको बिभिन्न खाताबाट अस्वभाविक रुपमा आयस्रोतभन्दा बढी रकम चेकमार्फत सापटी दिएको देखिएको हुनाले अख्तियारले ढकाललाई नियन्त्रणमा लिई छानबिन गरेको थियो ।
उनले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी आफ्नो, श्रीमती निरजरा घिमिरे र राममणी लामिछानेको नाममा चल र अचल सम्पत्ति लुकाई राखेको पुष्टि भएको छ । उनीहरु र ढकाल आफ्नै नाममा रहेको सम्पत्ति रोक्का राखी सो सम्पत्तिबाट असूल उपर गर्न राममणी लामिछानेलाई प्रतिवादी कायम गरी र जफत गरी पाउन र नपुग बिगोका हकमा प्रचलित कानूनबमोजिम ढकालबाटै असूल उपर गरी जफत गरी पाउनसमेत मागदाबी लिइ आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् ।