Logo

लक डाउन प्रभाव : काठमाण्डौ शहर, हेर्दा लाग्छ रहर (भिडियो)



वैशाख ३, काठमाण्डौ । काठमाण्डौ उपत्यका सधैँ फोहोर, प्रदुषण र कोलाहल हुने गर्दथ्यो । तर लक डाउनपछि उपत्यकाका दृश्य फेरिएका छन् । सधै हुने गरेको वातावरण प्रदुशण निकै कम भएको छ भने सडक पनि व्यवस्थित भएका छन् ।

दैनिक लाखौँ सवारी साधन गुड्ने काठमाण्डौ उपत्यकामा अहिले अति आवश्यक सवारी साधन मात्रै गुडिरहेका छन् । जसले गर्दा सवारी सधानको अनावश्यक आवाज र कोलाहल छैन । सवारी साधन नगुडेको मौकामा सरकारले मर्मत गर्नुपर्ने सडकहरु पनि चिटिक्क बनाएको छ । रंग लगाउनेदेखि खाल्डा खुल्डी पुर्ने कामले लक डाउनका बेला तीब्रता पाएको छ । सवारी साधन नडुड्दा त्यसबाट निस्कने धुवाँ धुलो स्वतः कमी आउने नै भयो । जसले गर्दा यतिबेला काठमाण्डौको वायु प्रदुषणमा निकै कमी आएको छ ।

अरु बेला २ सय माइक्रोग्राम प्रति मिटर क्यू हुने वायु प्रदुषण अहिले ५० देखि सयको बिचमा छ । यो अवस्था सम्भवत अहिलेसम्म सृजना भएको थिएन । हो, चिटिक्क सिंगारिएको सडक पेटी, सफा चट्ट अनि भर्खर मुना पलाएका बसन्तका पालुवाहरु किनारामा सिरसिरे बतासमा फिरफिर गरिरहेछन् । हामीले अरुबेला विदेशी शहरको सुन्दरताको बयान गर्दै आएका थियौँ । तर अहिले काठमाण्डौ मा नै यो सुन्दर दृश्य देख्न पाइन्छ ।

धुवाँ धुलोका कारण राम्रोसँग फल्न फूल्न नपाएका सडक छेउका वनस्पती तथा फूलहरु पनि यतिबेला निकै आकर्षक देखिएका छन् । धुलो धुवाँ कोलाहलले ग्रस्त काठमाडौँ यतिबेला सफा, सुन्दर र शान्त छ । यतिबेलाको यो दृश्यले भन्नै मन लाग्छ काठमाण्डौ शहर, हेर्दा लाग्छ रहर ।

काठमाण्डौ उपत्यकाको सुन्दरताको बयान गरिरहँदा यहाँ बस्ने मानिस भने कस्टमा छन् । कोरोना भाइरसको सम्भावित जोखिम कम गर्न सरकारले लक डाउन गरेको छ । यो पक्कै पनि सुखद पक्ष होइन । मान्छेहरु घरभित्र थुनिएर बस्नुपरेको बाध्यताकाबीच काठमाण्डौको सुन्दरताले खासै महत्व नराख्न पनि सक्छ ।

नागरिकको दैनिकी नै अस्तव्यस्त बनाएको कोरोनाले केही दिनका लागि भए पनि काठमाण्डौलाई भने सुन्दर बनाइदिएको छ । लक डाउन नै गरेर कुनै पनि देश वा सहर सुन्दर बनाउन त सकिदैन, तर काठमाण्डौलाई व्यवस्थित बनाउनका लागि भने कुनै उपाय हुन सक्छ । यसतर्फ पनि सम्बन्धित निकायको ध्यान जाओस् ।



प्रतिक्रिया दिनुहोस्