काठमाडौं, ३ वैशाख । देशभर कोरोना भाइरसको टेष्टको दायरा बढाइएको छ । यस क्रममा कतिपय जिल्लामा र्यापिड टेष्ट (आरडिटी) का क्रममा पोजेटिभ रिपोर्ट आएपनि पिसिआर टेष्टका क्रममा नेगेटिभ रिपोर्ट आएको छ ।
दिल्लीको निजामुद्दीनस्थित तबलिगी जमातको भेलामा सहभागी भएर सप्तरीमा रहेका दुईजनाको र्यापिड टेष्ट पोजेटिभ आएपनि पिसिआर टेष्ट नेगेटिभ आएको छ । उनीहरुलाई राजविराजस्थित गजेन्द्रनारायण अस्पतलामा आरडिटी गर्दा पोजेटिभ आएकोमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वाब परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको छ ।
चितवनमा पनि एक युवकको आरडिटी गर्दा पोजेटिभ आएको थियो । तर, पिसिआर टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।
आजै सनसिटी अर्पाटमेन्टमा आरडिटी टेष्ट गर्दा पोजेटिभ आएको महिलाको पिसिआर टेष्टमा नेगेटिभ आएको छ ।
यसकारण आरडिटी पोजेटिभ आएपनि आत्तिइहाल्नु नपर्ने देखिएको छ । इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले आरडिटी गर्दा पोजेटिभ रिपोर्ट आएपनि पिसिआर गर्दा मात्र निष्कर्षमा पुग्न सकिने बताएका छन् । उनले आज स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलनमा यसबारे वृस्तृत जानकारी गराएर आत्तिइहाल्नुनपर्ने बताएका हुन् ।