Logo

कोरोनाका कारण बेलायतमा स्याङ्जाका श्रेष्ठको निधन



वैशाख ३, काठमाण्डौ । कोरोना भाइरस (कोभिड १९) बाट संक्रमणबाट बेलायतमा बुधबार थप एक नेपालीको मृत्यु भएको छ ।

बेलायतस्थित साउथ ईस्ट लण्डनको प्लमस्टिडमा बस्दै आएका ५८ वर्षीय लक्ष्मण श्रेष्ठको कोरोनाको संक्रमणबाट निधन भएको हो ।

पुर्ख्यौली घर स्याङ्जा भएका श्रेष्ठ सन् २०१० देखि बेलायतमा बस्दै  आएका थिए । उनका श्रीमती, एक छोरा र तीन छोरी छन् ।

सामान्य रुघाखोकी र पखालाका कारण समस्या उत्पन्न भएपछि ३१ मार्चका दिन साउथ ईस्ट लण्डनको क्वीन एलिजावेथ अस्पताल पुर्याइएको थियो ।

दुई दिनपछि उनलाई लन्डनको गाइज अस्पतालमा सारिएको थियो ।

अस्पताल भर्ना भएको चौथो दिनमा उनलाई कोरोनाको पूष्टि भएको थियो । यससँगै बेलायतमा काेराेनाबाट ज्यान गुमाउने नेपालीकाे संख्या १० पुगेकाे छ ।

यसअघि गत शनिबार पनि स्जाङजा वालिङ घर भई हाल बेलायतको स्वीन्डन सहरमा बस्दै आएका ८६ वर्षीय यामबहादुर मल्लको उपचारका क्रममा ग्रेट वेष्टर्न अस्पतालमा मृत्यु भएको थियो ।

त्यसैगरि अघिल्लो बुधबार तीनजना तथा बिहीबार दुईजना नेपालीको मृत्यु भएको थियो । बुधबार मृत्यु हुनेमा भूपू गोर्खा सैनिक ५९ वर्षीय चेतप्रसाद गुरुङ, शिव श्रेष्ठ र मेघबहादुर गुरुङ रहेका छन् ।

त्यस्तै केदार पन्त र अर्का एक जना नाम नखुलाइएका नेपालीको पनि कोरोना भाइरसका कारण बिहीबार मृत्यु भएको थियो ।

तीन साताअघि लन्डनको ह्यारोमा बसोबास गर्दै आइरहेका ६५ वर्षीय भूपू गोर्खा सैनिक लिलाबहादुर राई र त्यसको एक सातापछि दक्षिणी लन्डनमा बसोबास गर्ने ४० वर्षीय प्रशान्त अर्यालले ज्यान गुमाएका थिए।

बेलायतमा हाल एक लाखभन्दा बढी नेपालीको बसोबास रहेको बताइन्छ ।



प्रतिक्रिया दिनुहोस्