Logo

टेलिकमको कोरोना सर्वेक्षणमा एकैदिन सात लाख सहभागी



काठमाडौं, ४ वैशाख । कोरोना विषाणुबाट सम्भावित सङ्क्रमितको पहिचान गर्न टेलिकमले सुरु गरेको सर्वेक्षणमा एकैदिन करिब सात लाख सहभागी भएका छन् । नेपाल टेलिकमले मङ्गलबारदेखि त्यस्ता सम्भावित सङ्क्रमित पहिल्याउन आफ्ना प्रयोगकर्ताबीच सर्वेक्षण सुरु गरेको थियो ।

‘दिउँसो तीन बजेसम्म सात लाख उक्त सर्वेक्षणमा सहभागी भएको देखियो’ कम्पनीका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले भने ‘त्यसमध्ये केही दोहोरिएको अवस्था पनि छ । ’ टेलिकमले नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र नेपाली सेनाको सहकार्यमा यस्तो सर्वेक्षण सुरु गरेको हो । ८१४१५३ डायल गरेर सहभागी हुन सकिने यो सर्वेक्षणका लागि पहिले नै केही प्रश्न तयार गरिएका छन् । प्रयोगकर्ताले उक्त नम्बरमा डायल गरेपछि ज्वरो आए नआएको, खोकी लागे नलागेको, सास फेर्न गाह्रो भए नभएको र पछिल्लो तीन हप्तामा विदेशबाट आए नआएको प्रश्नको उत्तर दिनुपर्नेछ ।

हरेक प्रश्न छ वा छैनको शैलीमा दिनुपर्ने छ । टेलिकमले उत्तर दिने यो प्रक्रिलाई १ वा २ अङ्क थिचेर सहभागी हुन सक्ने बनाएको छ ।
यसरी सङ्कलित तथ्याङ्कको विश्लेषण गरेर टेलिकमले कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समितिलाई उपलब्ध गराउनेछ । लक्षण अनुसार अति जोखिमयुक्त सम्भावित व्यक्तिलाई सम्पर्क गर्ने व्यवस्था गरिएको छ ।
रिचार्ज कार्डको अभाव
हुम्ला समाचारदाताका अनुसार बन्दाबन्दी लम्बिएसँगै हुम्लामा नेपाल टेलिकमको रिचार्ज कार्डको अभाव भएको छ । नेपालगन्जबाट तीन हप्तायता नयाँ रिचार्ज कार्ड आउन छाडेपछि हुम्लामा अभाव भएको हो ।

सिमकोट बजारका लोक भण्डारीले मोबाइलमा पैसा सकिएको चार दिन भएपनि नयाँ रिचार्ज कार्ड नपाएको बताएका छन् । सिमकोटका अधिकाँश पसलमा रिचार्ज बिक्री हुने भएपनि अहिले सबै पसलमा रिचार्ज कार्ड पाउन छाडेको छ । अर्का स्थानीय लालकला बोहराले हुम्लामा रिचार्ज कार्ड नपाउने भएपछि काठमाडौमा रहनु भएकी छोरीबाट ब्यालेन्स हाल्न लगाएर काम चलाउनु भएको छ । उनको मोबाईलमा पाँच दिन अगाडिदेखि पैसा सकिएको थियो । हुम्लामा अर्को निजी क्षेत्रको एनसेलले तीन महिनादेखि काम गर्न सकेको छैन । भएको नेपाल टेलिकमको पनि रिचार्ज कार्ड बन्दाबन्दीको कारण सकिएपछि हुम्लाबासी समस्यामा परेका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot