Logo

मानव सभ्यतामाथि संकट पार्ने त्यो छ दिन



एजेन्सी, ४ वैशाख । कोरोना भाइरसको महामारी फैलिएको यकिन भइसकेको थियो । तर, महामारी फैलिएको छैठौं दिन नयाँ वर्ष मनाउन वुहान शहरमा एउटा भव्य भोजको आयोजना गरियो जसमा हजारौं मानिसहरु सहभागी थिए । चिनियाँ उच्च अधिकारीहरु महामारी फैलिएकोमा पूर्ण जानकार थिए । वुआनमा भने भोज चल्दै थियो ।

भव्य भोज चलेको भोलिपल्ट २० जनवरीमा मात्र चिनियाँ राष्ट्रपति सी जिन पिङले महामारी फैलिएको सार्वजनिक गरे । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीले एउटा गोप्य दस्तावेजको खुलासा गरेको छ जसमा महामारीबारे सार्वजनिक गरुञ्जेलसम्म कोरोना भाइरसका संक्रमित संख्या ३ हजार कटिसकेको थियो । यसमा झन् डरलाग्दो रुप लिइसकेको थियो ।

छ दिनको ढिलाईले महामारी भयावह बन्यो । यो सानो गल्ती थिएन । विश्वका अन्य देशहरुले पनि यस्तै गल्ती गर्दै गए । महामारीलाई हल्का रुपमा लिए । खेलाचीं सम्झिएर रोकथामको कडा उपाय अबलम्बन गरेनन् । केहीले हप्ता दिन त केहीले महिना दिन ढिलाई गरे । विशेषगरी पहिलोपटक कोरोना भाइरस पत्ता लागेको चीनले ढिलाई गर्नुलाई अर्थपूर्ण मानिएको छ । त्यही ढिलाई नै आज विश्वभर २० लाखभन्दा बढी महामारीको संक्रमित बढ्नुको कारण बन्यो ।

छ दिनको ढिलाईले विश्वले ठूलो क्षति व्यहोरिसकेको छ । विश्वमा सवा लाखभन्दा बढी मानिसहरुको ज्यान गइसकेको छ । त्यसैले क्यालिफोर्निया विश्वविद्यालयका महामारीसम्बन्धि विज्ञ डा. जुओ फेङ झाङले छ दिनको ढिलाईलाई गम्भीर गल्ती भनेका छन् । चीनले छ दिन अगावै कोरोना भाइरसको महामारी फैलन नदिने गरी रोकथामको उपाय अपनाएको भए यति धेरै क्षति नहुने उनको तर्क छ । चिनियाँ नेतृत्वले छ दिनको ढिलाईलाई झन् लम्ब्याउँदै राष्ट्रिय रोग नियन्त्रण केन्द्रले १२ दिनसम्म कुनै पनि संक्रमणको घटना दर्ता र्न गरेनन् जब कि जनवरी ५ देखि १७ का बीचमा वुआनमा हजारौं संक्रमितको तथ्यांक आइसकेको थियो । अस्पतालहरु भरिन थालिसकेका थिए ।

महामारीको कतिपय सूचना लुकाइयो । चीनमा सुचनामा पूर्ण नियन्त्रण गरिने परिपाठी र समाचार बाहिर ल्याउन नचाहने प्रवृत्तिका कारण विश्वले मूल्य चुकाउनु पर्यो । महामारीका सबै चेतावनीहरु समेत बेवास्ता गरियो । रोग चीन बाहिर पुगिसकेको थियो । १३ जनवरीमा थाइल्यान्डमा पहिलोपटक संक्रमण देखियो । यसपछि चिनियाँ अधिकारीहरुको चेत खुल्यो । विश्व नै सजग र सचेत हुने अवस्था बन्यो । चिनियाँ राष्ट्रपति सी जिनपिङले २० जनवरीमा मात्र महामारीलाई गम्भीरतापूर्वक लिएको देखियो । उनले सार्वजनिक प्रतिक्रिया दिए । तर, त्यतिञ्जेलसम्म ढिलो भइसकेको थियो । वुआन शहर कोरोना भाइरस महामारीको केन्द्रबिन्दु बनेर विश्वभर फैलन थालिसकेको थियो ।

एकातर्फ चीनले महामारीलाई धेरै दिनसम्म लुकायो । यसको फैलावटबारे धेरै तथ्य लुकायो । अर्कातर्फ चीन आफैले महामारी लुकाउन खोजेको र अपारदर्शिताको आरोपको खण्डन गरिरह्यो । चिनियाँ सरकार नजिकका मिडिया बाहिरी सँसारमा कोरोना भाइरसको महामारीबारे आएको समाचारको खण्डनमै केन्द्रित रहे । यतिसम्मकी चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले चीनमाथि महामारी लुकाउन खोजेको र अपारदर्शिताको आरोपलाई आधारहीन भने । उनको दाबी गलत थियो भन्ने एउटा तथ्यबाट बुझ्न सकिन्छ ।

समाचार एजेन्सी एपीले राष्ट्रिय स्वास्थ्य आयोगले जनवरी १५ मा प्रान्तीय स्वास्थ्य अधिकारीहरुलाई पठाएको एउटा गोप्य निर्देशिका भेटेको छ जसमा महामारीको प्रभावलाई निकै कम आँकलन गरिएको छ । निर्देशिकामा कोरोना भाइरस मानवबाट मानवमा सर्ने सम्भावना न्यून रहेको भनिएको छ । यो आफैमा असत्य सावित भइसकेको छ । कोरोना भाइरस मानवबाट मानवमा मात्र नभई जनावरसम्म सरिसकेको छ । विश्वभर यसले भयावह रुप धारण गरेको छ । यसमा त्यो छ दिन मुख्य कारण बनेको छ जुन दिन आवश्यक रोकथाम गरिसक्नुपर्ने थियो । चीनको यही गम्भीर गल्तीको मूल्य सँसारले चुकाउनुपरेको छ ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्