काठमाडौं, ४ बैशाख । बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुले आफूलाई उद्दार गर्न माग गर्दै नेपाली राजुदवास मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएका छन्। विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट त्राहिमाम बनेका नेपाली विद्यार्थीहरुले बंगलादेशभन्दा आफ्नै देशमा सुरक्षित देखिरहेका छन्।
केही समय पहिलेदेखि नै उनीहरुले उद्दार गरेर कोरोनाविरुद्धको युद्धमा खटाउन नेपाल सरकारलाई अनुरोध गर्दै आएका छन्। सरकारले तोकेको समय र आवश्यक परिक्षण गरेर कोरोनासँग जुध्न मैदानमा ओर्लिने उनीहरुको भनाई छ। नेपाल फर्किन चाहने विद्यार्थीहरुले प्रधामन्त्रीको कार्याल, शिक्षा कार्यालय र परराष्ट्र मन्त्रालयलाई ज्ञापनपत्र इमेल मार्फत मंगलबार पठाएका हुन्।
विद्यार्थीहरुले राजदूतको नाममा लेखेको ज्ञापनपत्र यस्तो छ :
श्री महामहिम राजदुतज्यु
नेपाली राजदुतावास ढाका ,बंगलादेश !!
बिषय : उद्धार गरि पाऊबारे
महोदय, उपरोक्त सम्बन्धमा विश्व ब्यापी महामारीको रुप लिएको यस नोबेल कोरोना भाइरसको संक्रमण र यस बाट मृत्यु हुनेको संख्या बंगलादेशमा दिनानुदिन बढ्दै गइरहेको श्रीमानलाइ अवगत नै छ ! अहिले यस्तो अवस्थामा आफ्नो देश ,घर परिवारबाट टाढा रही बंगलादेशमा अध्ययन गर्न आएका बिधार्थिहरुको अवस्था दिनानुदिन मर्माहक बन्दै गएको छ ! बिगत ३ हप्ता भन्दा बढी समय देखि आ आफ्नो कलेज को हस्टेल भित्रै त्राशमय बातावरणमा बसिरहेका छन् नेपाली बिधार्थिहरु ! यस्तो बेलामा घर परिवार संग छुट्टिएर बस्नु , चाहेर पनि आफ्नो देश फर्कन नपाउनुले बिधार्थिहरुको मनोबल घट्दै गएको छ र हामी मानसिक रुपले निकै नै कमजोर बनिसकेका छौं !
हाल उच्च शिक्षा अध्ययनका लागि नेपाल बाट बंगलादेशमा आएका करिब ६५० जना (नेपाल राजदुतावास अनुसार ) नेपाली बिधार्थिहरु स्वदेश फर्कन नपाइ सेल्फ क्वारणटाईनमा आ आफ्नो कलेज हस्टेलमै बसिरहेका छौं । हाल सम्म हामीले नेपाली राजदुतावासको निर्देशन पालना गरेरै बसिरहेका छौं । तर अहिले बंगलादेशमा कोभिड १९ को संक्रमित एवंम मृत्यु संख्या दिनानुदिन तिब्र गतिमा बढिरहेको छ र चाडै नै नियन्त्रण भन्दा बाहिर जाने देखिन्छ । यसले गर्दा हामि असुरक्षित महसुस गरिरहेका छौं ।
यहाँको उच्च जनघनत्वका कारण सामजिक दुरी कायम राखेर बस्न पनि कठिनाइ रहेको छ । यसर्थ हामीहरुलाई यथाशक्य छिटो उद्धार गरि नेपालमा लग्ने बातावरण मिलाइदिनुहुन श्रीमान महामहिम राजदुतज्यु मार्फत नेपाल सरकारलाई अनुरोध गर्दछौं । साथै हामीलाई उद्धार गरेर लिएर जाने राज्यको दायित्व हुँदा हुँदै पनि यदि राज्यसंग कुनै आर्थिक कठिनाई रहेको अवस्था छ भने राज्यले हामीलाई एउटा चार्टर प्लेनको व्यवस्थापन गरिदिए त्यसको न्युनतम लागत हामीले आफै तिरेर आफ्नै खर्चमा नेपाल जानेछौं । नेपाल पुगी सके पछि हामी होम क्वारानटाईन अथवा राज्यले तोकेको स्थानमा क्वारानटाईनमा बस्न तयार छौं । यति भइसकेपछि हाम्रो आधारभूत मानब अधिकारको सरक्षण राज्यले गर्ने छ भन्ने आशा गरेका छौं ।
धन्यबाद !!
बोधार्थ :
1. प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिङ्हदर्बार काठमाडौं
2. पररास्ट्र मन्त्रालय,सिङ्हदर्बार काठमाडौं
3. शिक्षा बिग्यान तथा प्रबिधि मन्त्रालय, सिङ्हदर्बार काठमाडौं
निवेदक : (हाल बंगलादेशमा रहेका स्वदेश फर्कन चाहने नेपाली बिधार्थिहरु )