Logo

स्वास्थ्य सेवा विभागका महानिर्देशक श्रेष्ठलाई हटाउने तयारी !



काठमाडौं, ४ बैशाख । कोरोना भाइरस (कोभिड-१९) को उपचारको लागि ओम्नी समूहसँग स्वास्थ्य सामग्री खरिद सम्झौता भएको र पछि सम्झौता रद्द गरिएपछि स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र कुमार श्रेष्ठ विवादमा मुछिएका छन् । विभागको महानिर्देशक भएको नाताले श्रेष्ठले नै ओम्नी समूहसँग सम्झौता गरेका थिए । सम्झौताअनुसार उक्त समूहले एक लटक सामग्री पनि ल्याएको थियो ।

तर, खरिद प्रक्रियामा गडबढी भएको भन्दै मिडियाको स्तरबाट आवाज उठेपछि विभाग सम्झौता रद्द गर्ने अवस्थामा पुग्यो । तर, सम्झौत रद्द प्रक्रिया र निर्णयबारे समेत श्रेष्ठले विभागीय मन्त्री स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव यादव कोइराला, मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहकार डा. खेमबहादुर कार्कीलाई कुनै जानकारी दिएनन्।

श्रेष्ठले सुरुमा सामग्री खरिदमा कुनै अनियमितता नभएको दाबी गरेका थिए । तर, पछि सम्झौता रद्द गरिएको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भने उनले सामग्री कमसल आएको र धेरै गुणा महँगो परेको भन्ने स्पष्ट पारेका थिए । उता, ओम्नी समूहले भने आफूहरुले खरिद गरेर ल्याएको सामग्री कमसल भएको भए कसरी भन्सार पास भयो त ? भनेर उल्टै प्रश्न गरेको छ । उक्त समूहले आफूसँगको सम्झौता रद्द गरेको यतिका दिन बित्दासमेत विभागले अरु सामान किन ल्याउन सकेन ? भन्नेपनि प्रश्न उठाएको छ ।

त्यतिमात्रै नभएर ओम्नीले नेपाल भित्र्याएको र्यापिड किट्स विश्वभरि २६ मिलियन क्वान्टिटिज गैसेकोपनि उक्त समूहले दाबी गरेको छ । सम्झौता सार्वजनिक गरेर विभागले देशको सार्वभौमिकतामाथि पनि आँच ल्याउने काम गरेको ओम्नीको दाबी छ । मन्त्रालयका नेतृत्वमा रहेका मन्त्री, सचिव र विज्ञ सल्लाहकार तीनै जना महानिर्देशक श्रेष्ठको कामकारबाहीप्रति सन्तुष्ट छैनन् । स्रोतकाअनुसार महानिर्देशक श्रेष्ठलाई हटाउनेबारे समेत अहिले मन्त्रालयमा छलफल चलिरहेको छ । FILE PHOTO



प्रतिक्रिया दिनुहोस्

Screenshot