Logo

अग्रवाल सुवास ‘सुलभ’ भएपछि मुद्दा कमजोर



काठमाडौं, बैशाख ५ । कोरोना संक्रमणको त्रास तथा लकडाउनको मौका छोपेर कालोबजारी गर्न उद्यत व्यवसायी सुलभ अग्रवाललाई कारबाहीबाट उन्मुक्ति दिन हरसम्भव प्रयास भएको छ । कानुनको लुप्त प्वालबाट छिरेर अग्रवाललाई कारबाहीबाट जोगाउन शुरूदेखि नै मुद्दालाई कमजोर बनाउने प्रपञ्च रचिएको छ ।

चीनबाट स्वास्थ्य सामग्री ल्याउने क्रममा २० हजार थान थर्मल गन अग्रवालले भित्र्याएको भन्ने कुरा प्रहरीबाटै सार्वजनिक भएको भए पनि अग्रवाल पक्राउपछि १ हजार २ सय वटाको मात्रै लगत देखाइनु र कारबाहीको निम्ति अदालती प्रक्रियाबाट नगएर जिल्ला प्रशासन कार्यालयमार्फत् जानुले अग्रवाललाई कम सजाय गराउने प्रपञ्चको रहस्योद्घाटन भएको छ । अदालतबाट गए पाँच वर्षसम्मको जेल हुनसक्ने र प्रमुख जिल्ला अधिकारीबाट गए बढीमा एक वर्ष कैद सजाय हुने कानुनी व्यवस्थाका कारण अग्रवालमाथि सहानुभूति राख्ने काम गरिएको हो ।

सुवास अग्रवालका नाममा अवैध कारोबार गर्दै आएका उनलाई पक्राउ गर्न प्रहरीले ‘स्टिङ अप्रेसन’ गरेको थियो । उनी पक्राउ परेपछि मात्रै सुलभ अग्रवाल शंकर ग्रुपका उपाध्यक्ष तथा जगदम्बा स्टिलका प्रवद्र्धक भएको रहस्य खुलेको थियो । सुलभ अग्रवाल भन्ने थाहा पाएपछि उनलाई बचाउन राजनीतिक कसरत शुरु भयो, उद्योग वाणिज्य महासंघ र सीएनआईका उच्च पदाधिकारीहरु उनलाई बचाउन हात धोएरै लागेपछि कारबाहीको स्वरुप नै बदलियो ।

प्रहरीको ‘स्टिङ अप्रेसन’बाट पक्राउ परेका अग्रवाललाई अदालतमा उपभोक्तासम्बन्धी कानुनअनुसार पेस गरेको भए कडा कारबाही हुन सक्थ्यो । तर, जिल्ला प्रशासन कार्यालयमार्फत कालोबजारीसम्बन्धी मुद्दा चलाएर उनलाई जोगाउन उच्च राजनीतिक एवम् व्यावसायिक दबाब परेकाले मुद्दा कमजोर बनाउन चलखेल भएको स्रोतको भनाइ छ ।

प्रहरी भ्यानको सिसासमेत तोडफोड गर्ने र मिडियामा समेत निक्कै चर्चामा आएको घटना भएकाले अग्रवाललाई मुक्त नगर्न नसके पनि कारबाही न्यून गराउने खेल भएको स्रोतको दाबी छ । पक्राउ गर्दा प्रहरीलाई ‘म को हुँ, चिनेको छ’ भनेर प्रहरीमाथि नै दुव्र्यवहार गर्ने उनीमाथि अहिले सहानुभूति बर्सिएको छ ।

स्रोतले भन्यो– ‘महानगरीय अपराध महाशाखाले पक्राउ गरेका अग्रवाललाई अहिले महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ । यसबीचमा ठूलो परिमाणमा थर्मल गन गायब बनाउनेदेखि मुद्दाको प्रकृतिमा समेत चलखेल भएको छ । जसका कारण अग्रवालमाथिको अनुसन्धान नै फितलो बन्दै गएको छ ।’ अग्रवालले बेपत्ता पारेको अन्य थर्मल गनकाबारे प्रहरी अझै बेखबर छ ।



प्रतिक्रिया दिनुहोस्