Logo

पुलको छेकबारले लियो होमबहादुरको ज्यान, परिवारको बिचल्ली



धादिङ्ग, ५ वैशाख । लकडाउन कडाई गर्ने र गाउँमा कसैलाई प्रवेश गर्न नदिने भन्दै कतै पुलमा छेकबार लगाएर बन्द गर्ने त कतै बाटोमा अवरोध हाल्ने होडवाजी चलेको छ । स्थानीय निकायका जनप्रतिनिधिहरु नै यसमा संलग्न भएका छन् । तर, छेकबार लाउने प्रतिष्पर्धा चलिरहँदा यसले खतरनाक अवस्था ल्याएको छ । मानिसको ज्यानै जाने कारण बनेको छ ।

घटना धादिङ्गको हो जहाँ ३८ वर्षीय युवकको गोरखा र धादिङ्ग जोड्ने बुङ्कोटघाटको पुलमा बार लगाएपछि राति पारेर पार गर्न खोज्दा बुधबार राति ज्यान गएको छ । चितवनमा फर्निचरको काम गर्थे होमबहादुर रानामगर । लकडाउनको बखत उनी ज्वालामुखी गाउँपालिका ५ बाँझघरमा रहेको घर जान हिंडे । पुलमा बार लगाएपछि उनले आफन्तलाई फोन सम्पर्क गरे ।

पुलबाट खसेर मृत होमबहादुर राना

होमबहादुरका दाजु नाता पर्ने यमबहादुर राना मगरका अनुसार साँझ लिन आउन भनेका थिए । राति ९ बजेको समय पारेर उनी पुलको छेउबाट नाघेर पार गर्न खोज्दै थिए । त्यत्तिकैमा चिप्लिएर लडे । उनलाई साँझ लिन पुगेकाहरु पुलमा रोकिएर बारम्बार फोन गरे । फोनको घन्टी गयो तर उठेन । रातको ११ बजेसम्म खोज्दा नभेटेको बताउँछन् यमबहादुर । अन्तमा फर्किएर गएको र भोलिपल्ट विहान पुनः सम्पर्क गर्दा पनि फोन नउठेपछि खोजेको बताए ।

निकै बेर खोज्दा पनि भेटिएनन्, कतै पुलबाट त खसेनन् भनेर पुरानो झोलुङ्गे पुल नजिकबाट गएर हेर्दा पनि देखिएन । अन्तमा निकै खटिएर खोज्दा खुट्टा देखिएको बताए । त्यतिञ्जेलसम्म होमबहादुरको ज्यान गइसकेको थियो । मृतक होमबहादुरको नाक फुटेको र टाउकोमा समेत गम्भीर चोट लागेको भेटिएको थियो । उनको मृत्यु पुलबाट खसेर भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको बुझिएको छ ।

मृतक होमबहादुर होम बहादुर राना मगरका तीनजना छोराछोरी, पत्नी र बुढीआमा भएको नातेदार यमबहादुरले जानकारी दिए । उनले भने, ‘दुईजना छोरीहरु नाबालिक छन् र छोरा भर्खर ३ वर्ष पुग्यो ।’ परिवारमा आम्दानी गर्ने मुख्य सदस्यको मृत्युपछि परिवार चिन्तामा परेको छ ।
गोरखा र धादिङ्ग जोड्ने बुङ्कोटघाटको पुलमा वडाध्यक्ष कृष्ण प्रसाद काप्रीले तारबार गरेर हिँड्न नमिल्ने बनाएका थिए । लकडाउन कडा पार्ने भन्दै पुल बन्द गर्न छेकबार लगाउन काप्री समेत प्रत्यक्ष सहभागी भएका थिए । अत्यावश्यक सेवा समेत प्रभावित गरेर पुलमा छेकबार हाल्दा गाउँकै युवकको ज्यान गयो । घटनाले त्यस क्षेत्रमा शोक छाएको छ ।

गोरखा र धादिङ्ग जोड्ने बुङ्कोटघाटको पुलमा लगाइएको छेकबार

परिवारसहित चितवनमा बस्दै आएका उनका परिवार लकडाउन अघिनै गाउँ फर्किएका थिए । उनी लकडाउन खुल्ला कि भनेर चितवन बसे । तर, लम्बिएपछि गाउँ जान हिंडेका थिए ।-Photo source: Tanka Kapri



प्रतिक्रिया दिनुहोस्

Screenshot