Logo

घर जान हिँडेका नागरिकलाई क्वारेन्टाइनमा बस्न मुख्यमन्त्री पोखरेलको आग्रह



रुपन्देही, ५ वैशाख : प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले लकडाउनका समयमा घर जान हिँडेका नागरिकलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् । आज बिहान सामाजिक सञ्जालमार्फत अपिल गर्दै उनले बन्दाबन्दीका समयमा हिँडडुल गर्दा कोरोना संक्रमणको जोखिम हुने भएकाले नजीकै रहेको क्वारेन्टाइनमा गएर बस्न अनुरोध गरेका हुन् ।

“घर जान भनेर प्रदेश ५ भित्र आइपुग्नुभएका सबै प्रहरीको सहयोगमा नजीकै रहेको क्वारेन्टाइनमा गइदिनुहोला, त्यहाँ खानेबस्ने व्यवस्था छ ”, मुख्यमन्त्री पोखरलेले लेखेका छन् । बन्दाबन्दीका कारण छाक टार्न समस्या भएपछि मुलुकका विभिन्न ठाउँमा रहेका नागरिक पैदल हिँडेर आआफ्ना घरतर्फ जानेक्रम नरोकिएपछि मुख्यमन्त्री पोखरेलले यस्तो अनुरोध गरेका हुन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउनका कारण निर्माण क्षेत्रमा रहेका मजदूर बढी समस्यामा परेका छन् । काम नहुँदा हातमुख जोर्न समस्या भएपछि उनीहरु पैदलै आआफ्ना घरतर्फ लागेका छन् । काठमाडौँलगायत विभिन्न ठाउँबाट हिँडेर दिनहुँ कैलाली, कञ्चनपुर, दाङ, बैतडी, सल्यान, रोल्पा र प्युठान जानेहरु रुपन्देहीका सडकमा देखिएका छन् । गत आइतबार रुपन्देही आएकाहरुलाई सैनामैना नगरपालिकाले बसको व्यवस्था गरेर घर पठाएको थियो । उनीहरु लामो बाटो दिनरात पैदल हिँडेर यहाँ आएका थिए ।रासस File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot