Logo

मध्यपश्चिमाञ्चल विश्वविद्यालय र ओइआरयूबीच अनलाइन शिक्षण प्रविधि सम्झौता



सुर्खेत, ५ वैशाख : मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) र शैक्षिक संस्था ओपन एजुकेसन रिसोर्स फर युनिर्भसिटिज (ओइआरयू) बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । अनलाइन शिक्षण प्रविधि सञ्चालन गर्ने सम्बन्धमा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा नन्दबहादुर सिंह र ओइआरयूकातर्फ वेनी म्याकिन्टसले हस्ताक्षर गरेका हुन् ।

ओइआरयू संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन(युनेस्को)को एक महत्वपूर्ण परियोजना हो । जसलाई ओइआर फाउण्डेशनले सञ्चालन गरिरहेको छ । विश्वभरका ४१ विभिन्न प्रतिष्ठित विश्वविद्यालय तथा अन्तर्राष्ट्रिय संस्थाहरु यसमा आवद्ध छन् । एशियामा १३ तथा नेपालमा नेपाल खुला विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालय मात्र ओइआरयूका साझेदार बनेका छन् ।

ओइआरयू आउटरिच पार्टनरसीप प्रोग्रामअन्तर्गत मध्यपश्चिमाञ्चल विश्वविद्यालयले सम्झौता गरेको हो । विश्वविद्यालयका उपप्राध्यापक पञ्चदेव भट्टले ‘फोकल पर्सन’का रुपमा सहजीकरण गरिरहेका छन् । त्यस्तै, विश्वविद्यालयले अनलाइन शिक्षण प्रविधिका लागि टर्नइटइनसँग सम्झौता गरेको छ । यसअन्तर्गत ग्रेडस्कोप, फिडब्याक स्टुडियो र सिमचेक फर एडमिसन फिचरहरु छन ।

उपप्राध्यापक भट्टले मध्यपश्चिमाञ्चल विश्वविद्यालयका लागि मात्र नभई नेपालकै लागि शैक्षिक क्षेत्रमा महत्वपूर्ण सम्झौता भएको दाबी गरे । “यी प्रणालीमार्फत विद्यार्थी तथा प्राध्यापक दुवैले अहिलेको लकडाउनका बेला मात्रै नभई भविष्यमा पनि अनलाइनका माध्यमबाट शैक्षिक सामग्री, अनुसन्धान शोधपत्र प्राप्त गर्न सक्छन्”, उनले भने , “सिङ्गो विश्वविद्यालयलाई इ–युनिभर्सिटी अर्थात् प्रविधिमैत्री विश्वविद्यालयको रुपमा स्थापित गर्न सम्झौताले धेरै मद्दत पु¥याएको छ ।

सन् २०१० मा स्थापना भएको विश्वविद्यालयले हाल कोभिड–१९ द्वारा सिर्जित लकडाउनमा यसको रोकथाम तथा न्यूनीकरणका लागि जनचेतनामुलक सन्देश सामग्री उत्पादन गरिरहेको छ । सुर्खेत केन्द्रीय कार्यालय रहेको एमयूका आङ्गिक र केन्द्रीय गरी १७ वटा क्याम्पस छन् । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot