Logo

रामचन्द्र पौडेलको गुनासो : सरकार छैनजस्तो लाग्न थाल्यो



काठमाडौं, ५ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले सरकारले लकडाउनका कारण अलपत्र परेका दैनिक ज्यालादारी गर्ने विपन्न परिवारलाई पूरै बेवास्ता गरेको गुनासो पोखेका छन् । उनले यस्तो अवस्थामा सरकारले गरिब, असहाय तथा विपन्न वर्गको लागि विशेष प्याकेज ल्याउनुपर्नेमा उल्टै केही नगरेको गुनासो गरेका छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले खान, बस्नको समस्या भएपछि ज्यालादारी तथा मजजुरी गरेर खानेहरु बाध्य भएर पैदल हिँडेर आ आफ्नो जिल्ला फर्कन थालेको अवस्थामा समेत सरकारले उनीहरुको लागि गन्तव्यसम्म पुग्न उचित व्यवस्था नगरेको आरोप लगाएका छन् ।

पौडेलले यस्तो अवस्थामा सरकारले ती वर्गप्रति अलिक बढि नै गम्भिर भएर राहत दिनुपर्ने पनि सुझाव दिएका छन् । उनले पैदल हिँडेर आफ्नो जिल्ला फर्किनेहरुको ताँती लागिरहेको अवस्थामा सरकार मुकदर्शक भएर बस्न नहुने तर्क गरे । उनले यस्तो अवस्थामा बीच बाटोमा अलपत्र परेका र भोकै भएकाहरुको लागि उद्धार गर्न र उनीहरुलाई खानाको उचित प्रवन्ध गर्नसमेत उनले आफ्ना पार्टीका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन्। उनले कोरोना रोकथाम तथा नियन्त्रणको लागि लकडाउन लगाएपनि सरकारले यो बेलामा अप्ठ्यारोमा परेकाहरुको लागि विशेष ध्यान दिनुपर्ने बताएका छन् । तर, सरकारले दुःख, कष्ट र अप्ठ्यारोमा परेका नागरिकप्रति कुनै कदम नचालेको भन्दै पौडेलले कडा आक्रोश पोखेका छन् । उनले गुनासो पोखे-“सरकार पनि छैनजस्तो भयो । यो निकै दुःखदायी कुरा हो ।”

यता, पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले समेत पार्टीको तर्फबाट आज एक विज्ञप्ती जारी गर्दै सरकारको ध्यानाकार्षण गराएका छन् । लकडाउन लम्बिदै जाँदा अप्ठ्यारोमा परेका सर्वसाधारणलाई पर्याप्त राहत र सुरक्षित ढङ्गले गाउँ पु¥याउने व्यवस्था मिलाउन कांग्रेसले सरकारलाई आग्रह गरेको छ । सयौं किलोमीटर पैदल हिँडेर घर गइरहेका नागरिकलाई राज्यको भरथेग आवश्यक पर्ने काँग्रेसले उल्लेख गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज यहाँ विज्ञप्ति जारी गर्नुहुँदै कोठाभित्र छट्पटिएर र सडकमा तड्पिएर नागरिकको मृत्यु भएको दृश्य मौनतापूर्वक प्रतीक्षा गर्ने समय पनि नभएको उल्लेख गरेका छन् ।

“गाउँमा रहेका नागरिकको स्थिति पनि कष्टकर बन्दै गएको छ । तिनको हृदयको प्रश्न हामी सरकार समक्ष राख्न चाहन्छौँ— अहिलेको प्राथमिकता सुकुम्बासीलाई जग्गा कि जाउलो, सरकार ? आयोगलाई अर्बौं रुपैयाँ छुट्याउन सकिन्छ तर सुकुम्बासी, श्रमिक, बेरोजगार एवं डेरा बसेका विद्यार्थीका लागि पर्याप्त राहतको ब्यवस्थित योजना निर्माण र कार्यान्वयन गर्न किन सकिन्न ?” विज्ञप्तिमा भनिएको छ । शर्माले नागरिकलाई कोरोनाको संक्रमणबाट जोगाउन परीक्षणको दायरा व्यापक बनाउन र भोकमरीबाट जोगाउन पर्याप्त राहतको व्यवस्था गर्न सरकारलाई अपिल गर्दै सचेत समेत गराएका छन् ।

प्रवक्ता शर्माले भनेका छन्,“अघिल्तिरको स्थिति देखिन्छ भने देख्नुप¥यो सरकार । सुनिन्छ भने सुन्नुप¥यो । बुझिन्छ भने बुझ्नुप¥यो । गम्भीर परिस्थितिको गहिरो समीक्षा गर्दै उच्च व्यवहार कुशलता साथ सरकारले कार्य गरोस, सङ्कटमा साथ रहेको प्रतिपक्षि दल सरकारलाई सचेत गराउँदछ ।”



प्रतिक्रिया दिनुहोस्