काठमाडौं, ५ वैशाख । देशभर हालसम्म २४ हजारभन्दा बढी मानिसहरुको कोरोना भाइरस संक्रमणसम्बन्धी परीक्षण भइसकेको छ । स्वास्थ्य मन्त्रालयले टेष्टको दायरा बढाएपछि एकै दिन झण्डै ५ हजारसम्मको टेष्ट हुनथालेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म २४ हजार २ सय ५३ टेष्ट भइसकेको छ । ७५ जिल्लामै टेष्टको व्यवस्था भएको उनको भनाई छ । डोल्पा र सोखुम्बुबाहेकका जिल्लामा परीक्षण प्रविधि पुगिसकेको छ, उनले भने ।
हालसम्म आरटी पीसीआर विधिबाट ७६८८ र –यापिड टेष्ट विधिबाट १६५६२ को टेष्ट भइसकेको जानकारी दिए । एकै दिन ४८२२ को नयाँ परीक्षण भएको उनले बताए ।
अहिले क्वारेन्टाइनमा ४६०७ जना रहेकोमा ९० जना आइशोलेशनमा छन् । डा. देवकोटाका अनुसार हाल २ जनामात्र रेड जोनमा छन् ।
पाटन अस्पतालमा आज पीसीआर टेष्ट जडान गरिएको देवकोटाले बताए । योसहित देशभर १४ अस्पतालमा पीसीआर विधिको टेष्ट जडान गरिएको छ ।