Logo

सर्वोच्चको आदेशलाई प्रधानमन्त्री ओलीको चुनौती, उपत्यकामा नाकाबाट पैदल आवतजावत रोक्न निर्देशन



काठमाडौं, ६ वैशाख । काठमाडौं उपत्यकाको मुख्य नाकाहरुमा सुरक्षाकर्मीले कडाई गरेका छन् । पैदल यात्राबाट पनि उपत्यका बाहिर जान र भित्र पस्न समेत रोक लगाइएको छ । सुरक्षाकर्मी बढी तैनाथ गरिएका छन् ।

लकडाउनमा पैदल घर हिंडेकालाई सुरक्षित र निःशुल्क गन्तव्यमा पुर्याउनु भन्ने सर्वोच्च अदालतको हिजोको आदेशलाई चुनौती दिदै कडाई गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकाभित्र र बाहिर पैदल हिंडेर समेत जान नदिन कडा निर्देशन दिएका छन् । लकडाउनको बखत आवतजावतमा कडाई गर्दै भेटिएकालाई रोकेर त्यहीं राख्न निर्देशन दिएका छन् ।

लकडाउनमा पैदल हिंडेर घर जान खोज्नेलाई भेटिएको स्थानमा रोकेर क्वारेन्टाइनमा राख्न थालिएको छ । यसलाई सरकारको लकडाउन अझ कडा गर्ने रणनीतिका रुपमा लिइएको छ ।

लकडाउनमा अस्थायी बसोबास गरेको स्थानमा समस्या भएपछि मानिसहरु हप्तौं हिंडेर घरतर्फ यात्रामा छन् । उनीहरुलाई सुरक्षित तरिकाले घर पुर्याउन नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि आग्रह गरेका छन् । निमुखाको कठिनाईको सरकार दर्शकमात्र भएको भन्दै देउवाले आलोचना गरेका थिए ।

प्रतिपक्षीको आग्रह देखि सर्वोच्चको आदेश सम्मलाई चुनौती दिदै प्रधानमन्त्री ओलीले झनै कडाई गर्न निर्देशन दिएका छन् । सर्वोच्चको आदेश विपरितको कडाईलाई वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले कानुनमाथि चुनौती भनेका छन् । उनले भने, मानवीय संवेदना गुमाइसकेका सरकार चलाउनेहरु अदालतलाई चुनौती दिन थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot