बलेवा ६ वैशाख । बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाले स्थापना गरेका कोरोना कोषमा सहयोग थपिने क्रम चलिरहेको छ । सर्वसाधारण, विभिन्न सङ्घसंस्था तथा प्रतिष्ठानले कोषमा रकम जम्मा गर्न अग्रसरता देखाएपछि कोषमा रकम वृद्वि भएको हो ।
काठेखोलाले सो कोषमा सहयोग गर्ने दाताको नाम नै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ । हालसम्म गाउँपालिकाको कोषमा संस्था र व्यक्ति गरी ६२ जनाले सहयोग गरेको अध्यक्ष अमर थापाले जानकारी दिनुभयो । सो कोषमा सबैभन्दा बढी रु एक लाख प्रभु बैंकका सिईओ अशोक शेरचनले सहयोग गर्नुभएको छ भने सोही ठाउँका सामान्य परिवारले कम्तीमा रु दुई हजारसम्म कोषमा जम्मा गरेको तथ्याङ्क छ ।
काठेखोलाको कोष अहिले बढेर रु २७ लाख ४६ हजार ९११ पुगेको छ । कोषबाट विभिन्न स्वास्थ्य सामग्रीको खरिद, निःशुल्क एम्बुलेन्स सेवाको सञ्चालनदेखि विपन्न तथा मजदुरका लागि रहात बाँड्नेसम्मका काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकले बताउनुभयो । “कोषमा धेरै सङ्घ÷संस्थाले उत्साहजकरूपमा सहयोग गरिरहनुभएको छ”, अध्यक्ष थापा भन्नुहुन्छ, “स्थानीय सरकारसँग सर्वसाधारणको जुन विश्वास देखियो यो हामी मर्न दिन्नौँ ।”
बागलुङ नगरपालिकाको कोषमा रु ६५ लाख ३२ हजार ४३३ पुगेको छ । नगरले आन्तरिक स्रोतको परिचालन गरेर रु ५० लाख जम्मा गरेर कोष खडा गरेको थियो । गण्डकी सरकारले पठाएको रु १० लाख सोही कोषमा राखिएको छ । नगरका कर्मचारीको मासिक तलबबाट केही प्रतिशत कट्टा जम्मा भएको रु तीन लाख दुई हजार पनि सोही कोषमा छ । अन्य दाताहरुबाट रु दुई लाख ३० हजार ४३३ कोषमा जम्मा भएको छ ।
जिल्लाका दुई सहकारी संस्थाले समेत कोषमा रकम जम्मा गरेका छन् । जिल्ला दुग्ध उत्पादक सङ्घले ५० हजार र आदर्श सञ्चार सहकारी संस्थाले रु ५० हजार कोषमा जम्मा गरेका हुन् । कोषबाट राहत, औषधि उपचार, सामग्री खरिद र उद्वारलगायतका काम चलिरहेको योजना अधिकृत युक्तप्रसाद सुवेदीले बताउनुभयो । नगरका जनप्रतिनिधिको भने सुविधाकट्टा भएकाले कोषमा कुनै पनि योगदान गरेका छैनन् ।
यसैबीच बागलुङ नगरपालिकाले सञ्चालन गरेको खाद्य बैंकबाट हालसम्म बागलुङ नगरपालिकाका चार वडाका ३४९ विपन्न तथा मजदुरले राहत सामग्री लिएका छन् । वडा नं १ का पाँच, २ का ८७, ३ का ७३ र ४ का १६९ विपन्न तथा मजदुरले राहत सामग्री लिएका हुन् । बिहीबारसम्म खाद्य बैंकले तीन हजार २७० किलो चामल, ३२९ किलो दाल, ३२७ साबुन, ३२९ पोका नुन र ३२९ पोका तेल वितरण भएको सुवेदीले बताउनुभयो ।