काठमाडौं, ६ वैशाख । नेपालकी दोस्रो कोराना भाइरस संक्रमित प्रशिद्धी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएकी छिन् । २७ दिन अस्पताल बसाईँपछि नीको भई डिस्चार्ज भएकी उनी निकै उच्च मनोबलका साथ फर्किइन् ।
उनले नेपाल टेलिभिजनसँग भनिन्, रोगलाई जित्न उच्च मनोबल चाहिन्छ र धैर्यता जरुरी छ । उनले आफू संक्रमितहरुलाई सहयोगका लागि समेत तयार भएको बताइन् । आफू पूर्ण स्वस्थ भएर घर जान लागेकोमा उनले खुशी व्यक्त गरिन् ।
आफू ४ गते फ्रान्सबाट नेपाल आएको बताइन् । ‘शुरुमा लक्षणहरु देखिएको थिएन,’ उनले भनिन् । घरमा आइशोलेशनमा रहेको जानकारी दिइन् ।
भियतनामी क्लासमेटले कोभिड १९ देखिएको बताएपछि टेष्टको लागि पुगेको जानकारी दिइन् । उनले भनिन्, ‘मलाई पनि हुनसक्थ्यो जसलाई पनि हुनसक्थ्यो ।’
दुई दिनपछि टेलिफोन आउँदा कोभिड १९ भएको जानकारी आएको बताइन् । आफू २७ दिन अस्पतालमा बसेको बताइन् ।
टेकु आएको एक दुई दिनपछि मात्र लक्षण देखिएको बताइन् । पेटमा दुख्ने, खोकी लाग्ने, थकाई लाग्ने हुन्थ्यो ।
सेल्फ आइशोलेशनमा बसेकाले फैलन नपाएको बताइन् । सरकारले धेरै गरेको समेत बताइन् । सुविधा र सहयोग सबैतर्फ पुर्याउनुपर्नेमा जोड दिइन् ।
महामारीको त्रास नफैलाउन समेत आग्रह गरिन् । मिडियाले तनाव दिने गरी प्रस्तुती नगरिदिन आग्रह गरिन् । मिडियालाई संक्रमितलाई कलंकित बनाउने प्रस्तुती नगर्ने आग्रह गरिन् । उनले भनिन्, ‘स्टिग्मा क्रियट नगरिदिनुहोस् ।’