काठमाडौं, ६ वैशाख । नेपालमा कोरोना संक्रमित दोस्रो व्यक्ति प्रशिद्धि श्रेष्ठ डिस्चार्ज भएकी छिन् । २७ दिन अस्पताल बसाईंपछि रोगमुक्त भएकी उनले अस्पताल बसाईको अनुभव समेत सुनाइन् ।
नेपाल टेलिभिजनसँगको कुराकानीमा उनले आफूलाई शुरुमा कुनै संक्रमण नदेखिएको बताइन् । तर, संक्रमण भएर अस्पताल बस्दा बीचमा खोकी बढेको बताइन् । उनले भनिन्, ‘टेकु आएको एक दुई दिनपछि मात्र लक्षण देखियो, पेटमा दुख्ने, खोकी लाग्ने, थकाई लाग्ने हुन्थ्यो ।’
उनको उपचारमा संलग्न डा. अर्जुन बास्तोलाले पनि उनलाई निकै खोकी लागेको बताए । लक्षणहरु कडा रुपमा देखिएपनि युवावस्थामा झन् छिटो निको हुँदोरहेछ भन्ने देखिएको सुनाए ।
श्रेष्ठले अस्पतालमा उपचारमा सहयोग गर्ने चिकित्सकहरुलाई धन्यवाद व्यक्त गरिन् । अस्पतालमा निकै राम्रो हेरविचार भएको समेत उनको भनाई थियो ।