काठमाडौं, ६ वैशाख । नेपालमा कोरोना भाइरस संक्रमित छैंठौ व्यक्ति आज अस्पतालबाट डिस्चार्ज भएकी छिन् । धौलागिरी अस्पतालमा उपचाररत उनी आज डिस्चार्ज भएकी हुन् ।
बाग्लुङकी ६५ वर्षीया महिला फ्रान्सबाट कतार हुँदै फर्किएकी थिइन् । उनलाई २० चैत्रमा रोग पत्ता लागेको थियो । १७ दिन अस्पताल बसेर डिस्चार्ज भएकी उनी सुगर र प्रेसरकी विरामी हुन् । तैपनि उच्च मनोबलका कारण उनले कोरोनालाई जितिन् ।
महिलामा विगतमा पनि फोक्सोमा समस्या थियो । उनलाई निमोनिया भइसकेको बुझिएको छ ।
उमेर र दीर्घरोगका बाबजुद उनले रोगलाई जितेपछि चिकित्सकलाई धन्यवाद दिइन् । उनले नियमित तातो पानी सेवन गरेको सुनाइन् ।
यसअघि दोस्रो संक्रमित १९ वर्षीया प्रशिद्धी श्रेष्ठ टेकु अस्पतालबाट डिस्चार्ज भएकी हुन् । किशोरी २७ दिन अस्पताल बसिन् । किशोरी र महिला दुवै ४ चैत्रमा काठमाडौं उत्रिएको कतार एयरवेजको क्युआर ६५२ नम्बरको विमानका यात्रु हुन् । सो विमानमा यात्रा गरेका तीनजना महिलाहरुलाई संक्रमण भेटिएको थियो । जसमध्ये बाग्लुङकी किशोरी उपचाररत छिन् ।