Logo

डा. शेरबहादुर पुनको पक्षमा नलेख्न मिडियालाई स्वास्थ्य मन्त्रालयको चेतावनी



वैशाख ६, काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका सम्बन्धमा मर्यादा बिपरित काम गरेको भन्दै डा.शेर बहादुर पुनसंग स्पष्टिकरण मागेपछि आज दिनभरी संचारमाध्यममा निकै स्थान पायो । विशेषगरी पुनले कुनै गल्ती नगरे पनि मन्त्रालयले कारबाही जस्तो देखिने गरी स्पष्टीकरण सोधेको आरोप धेरैले लगाए ।

डा.पुन शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकूमा काम गर्दै आएका थिए । मन्त्रालयले पुनले कोरोनाका विषयमा जथाभावि अभिव्यक्ति दिनुका साथै संक्रमितको फोन नं लिक गरेको लगायतका मर्यादा विपरीत गतिविधि गरेको आरोप लगाएको बुझिएको छ ।

तर पुन योग्य व्यक्ति भएको भन्दै सर्वसाधारले पनि स्पष्टीकरण सोधेको भन्दै सामाजिक संजालमा मन्त्रालयको आलोचना गरेका छन् । तर मन्त्रालयले भने आफ्नो विरोध र एकपक्षीय समाचार आएको भन्दै सचेत गराएको छ । आज साँझ मन्त्रालयको फेसबुक पेजमा जुनसुकै स्वास्थ्यकर्मीलाई जुनसुकै बेला जुनसुकै निकायमा खटाउन सकिने स्पष्ट पारेको छ ।

डा. पुनलाई मन्त्रालयमा बोलाइएकोमा केहि पत्रपत्रिका तथा सामाजिक संजालमा सत्य तथ्य बंग्याई माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्यूको नाम समेत मुछिएको भन्दै असन्तुष्टि जनाइएको छ । डा. पुनको सन्दर्भमा मन्त्री भानुभक्त ढकालको विरोध भएपछि मन्त्रालयको फेसबुकमार्फत मन्त्री स्वयमले नै धारणा सार्वजनिक गरेको जस्तो देखिन्छ ।

यस सन्दर्भमा सत्य तथ्य नबुझिकन अनर्गल प्रचार प्रसार वा लेख लेखाउने कार्य नगर्न नगराउनुहुन मन्त्रालयले सचेत गराएको छ । फेसबुक पेजमा लेखिएको छ– कोभिड १९ को सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यरत स्वास्थ्यकर्मीहरूलाई कामको शिलसिलामा मन्त्रालय वा अन्तर्गतका जुनसुकै निकायमा काम गर्न खटाई संक्रमितहरूको स्वास्थ्य उपचार गराईरहेको छ । यसै शिलसिलामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा. शेर बहादुर पुनलाई मन्त्रालयमा बोलाइएकोमा केहि पत्रपत्रिका तथा सामाजिक संजालमा सत्य तथ्य बंग्याई माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्यूको नाम समेत मुछि अनर्गल तथा दुष्प्रचार गर्ने कार्य भएकोमा यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।

त्यसैगरी कोभिड१९ का सन्दर्भमा जोसुकै र जुनसुकै स्वास्थ्यकर्मीलाई आवश्यकतानुसार मन्त्रालयबाट खटाउने कार्य भैरहेको छ र यस्ता स्वास्थ्यकर्मीलाई सरकारले सतप्रतिशत भत्ता र २५ लाखको बिमा समेतको व्यवस्था गरेको स्मरण गराइएको छ ।

स्पष्टीकरण प्रकरण मन्त्री ढकाल र डा. पुनबीचको लडाई जस्तो देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्