Logo

प्रहरी पेट्रोल पम्पमा पानी भेटियो



काठमाडौँ, ७ वैशाख । नेपाल प्रहरीको सामाखुसीस्थित पेट्रोल पम्पबाट बिक्री गरिएको पेट्रोलमा पानी मिसिएको भेटिएको छ । पम्पबाट शनिबार बिक्री गरिएको पेट्रोलमा पानी मिसिएको भेटिएको नेपाल आयल निगमले जनाएको छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले नेपाल प्रहरीको सामाखुसीस्थित पेट्रोल पम्पबाट बिक्री गरिएको पेट्रोलमा पानी मिसिएको भेटिएको खबर नेपाल आयल निगमलाई प्राप्त भएको छ । यसबारे सत्यतथ्य पता लगाउन अनुसन्धान सुरु भइसकेको छ । उनले पेट्रोलमा कति मात्रामा पानी भेटिएको हो रु कसरी त्यस्तो भयो ? त्यस विषयमा अनुसन्धान तथा छानबिन सुरु भएको बताएका छन् । प्रवक्ता उपाध्यायले पेट्रोलमा पानी चाहिँ भेटिएको हो । पानी कसरी मिसिन पुग्यो रु सोबारे निगमको प्राविधिक सहितको टोलीले ४८ हजार लिटर क्षमता रहेको उक्त पेट्रोल पम्पकै अनुसन्धान र छानबिन सुरु गरेको छ बताए । उनले एउटै डिपो र ट्याङ्करबाट विभिन्न पम्पमा पेट्रोल वितरण गरिए पनि अन्य ठाउँमा पानी मिसिएको नभेट्नु तर प्रहरीद्वारा सञ्चालित पम्पमा पानी मिसिएको भेटिनु गम्भीर विषय रहेको बताएका छन् ।

पानी मिसिएको खबर निगमलाई प्राप्त हुने बित्तिकै थानकोट आयल निगम डिपोका प्रमुुख प्रदीपकुमार यादवसहित निगमका प्राविधिक सहितको टोली सामाखुसी पेट्रोल पम्प पुगी अनुसन्धान सुरु गरेको हो । शनिबार बिहान पेट्रोल बिक्री वितरण गर्ने बेलामा एक ग्राहकले खरिद गरेको पेट्रोलमा पानी मिसिएको भेटिएको थियो । थानकोट डिपोबाट नै सामाखुसी पम्पमा पेट्रोल ल्याइएको थियो । नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक उमेशराज जोशीले नेपाल आयल निगमको थानकोट डिपोबाट सामाखुसी पम्पमा ल्याउँदा नै पेट्रोलमा पानी मिसिएको पाइएको जानकारी दिएका छन् ।

उनका अनुसार थानकोट डिपोबाट छ हजार लिटर पेट्रोल सामाखुसी पम्पमा ल्याइएको थियो । त्यसमा पानी मिसिएको भेटिएपछि नेपाल आयल निगमलाई तत्काल खबर गरिएको तथा बिक्री वितरण बन्द गरिएको जानकारीसमेत प्रवक्ता जोशीले दिएका छन् ।  अहिले नेपाल आयल निगम र नेपाल प्रहरीका प्राविधिकबाट पानी मिसिएको घटनाबारे अनुसन्धान तथा छानबिन भइरहेको जानकारी उनले दिएका छन् । उनले पेट्रोलमा पानी मिसिनुमा आयल निगम वा पेट्रोल पम्प कसको कमी कमजोरी रहेको हो स्पष्ट हुने विश्वास व्यक्त गरेका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot