Logo

अग्रवाल ठगी प्रकरणः अनुसन्धान प्रभावित पार्न शक्तिकेन्द्रको दौडधुप



काठमाडौं, बैशाख ७ । कोरोना संक्रमणको त्रास बढेका बेला थर्मल गनको कालोबजारी गर्दै गर्दा पक्राउ परेका व्यापारी सुलभ अग्रवालमाथिको मुद्दा कमजोर बनाउन प्रहरीमाथि शक्ति केन्द्रको तीव्र दबाब परेको छ । शक्ति केन्द्रहरूले विभिन्न दबाब दिँदै मुद्दालाई प्रभावित पार्न चलखेल जारी राखेका छन् ।

२ हजार रुपैयाँमा किनिएको थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गर्दै गर्दा पक्राउ परेका अग्रवाललाई प्रहरीले दरबारमार्ग वृत्तमा राखिरहेको छ । जबकि, उनको मुद्दा महानगरीय प्रहरी परिसर टेकुबाट चल्दै छ ।

महानगरीय अपराध महाशाखाको टोलीद्वारा पक्राउ परेका अग्रवालले २० हजार थान थर्मल गन ल्याएको प्रहरीको दाबी छ । तर, उनले भन्सार जाँच पास गराउँदा १ हजार २ सयको मात्रै कर तिरेका छन् । प्रहरीले अन्य थर्मल गन कहाँ छ भन्ने समेत यस बीचमा पत्ता लगाउन सकेको छैन ।

लुकाएको र भन्सार छली गरेको थर्मल गन पत्ता लगाउन नसकेपछि प्रहरीमाथि नै थप शंका उत्पन्न भएको छ । ‘शक्तिकेन्द्रको चर्को दबाबमा परेका कारण अग्रवालले भन्सार छली गर्दै लुकाएको थर्मल गन खोजीमा चासो नदिएको हुन सक्छ,’ स्रोतले भन्यो ।

स्रोतका अनुसार स्टिङ अप्रेसनमार्फत कालोबजारी गरिरहेको अवस्थामा रंगेहात पक्राउ गर्न सक्ने प्रहरीले अग्रवाल आफैंले लुकाएर राखेको १८ हजार बढी थर्मल गन पत्ता लगाउन नसक्नुलाई प्रहरीमाथि चरम हस्तक्षेपको परिणामका रूपमा हेरिएको छ । यस सम्बन्धमा प्रहरीसमक्षको बयानमा समेत उनी प्रस्ट बोलेका छैनन् ।

प्रहरीले व्यापारी अग्रवालमाथिको मुद्दालाई अदालतबाट नभएर जिल्ला प्रशासन कार्यालयमार्फत अघि बढाएकामा समेत शंका उब्जिएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्