Logo

कोरोना कहरले चीनलाई महाशक्ति बनाउला ?



विपिन देवः कोरोनाको कहरले मानव जातिको अस्तित्वमाथि संकट छाएको छ । हरेक सम्बन्ध खण्डित भएको छ । कोरोनाको सन्त्रासले विश्वको अर्थतन्त्र सङ्कटपूर्ण अवस्थामा छ । मानवको विलासी जीवनशैली, यान्त्रिक जीवन र भौतिकवादी चिन्तन ध्वस्त हुने अवस्थामा पुगेको छ । विश्वका ठुला व्यापारिक कारोबारहरु सङ्कटपूर्ण अवस्थामा छ । अमेरिका आफ्नो सामथ्र्य अनुरुप कोरोनासँग प्रतिकार गर्न कमजोर भइसकेको अवस्था छ । युरोपका अधिकांश मुलुकहरु आर्थिक मन्दीको सामना गर्न आफ्नो नीति नियममा परिवर्तन गर्न क्रियाशील भइरहेका छन् । तर, चीन कोरोनाको कहरमा पनि आफ्नो आर्थिक गतिविधिलाइ सक्रिय बनाउँदै विश्व बजारमा आफ्नो पहुँचलाई बलियो बनाइरहेको छ ।

विश्वका धेरै कम्पनीहरु आर्थिक दिवालियापनको संघारमा छन् भने चिनिया कम्पनीहरु आफ्नो पहुँचलाई तीब्र बनाएका छन् । चिनिया कम्पनी अलिबाबा जस्ता अनेकौं कम्पनीहरुले आफ्नो कारोबारलाई अभिवृद्धि गराएको छ । विश्लेषकहरुको आँकलनअनुसार चीनले “कोरोनाको कहर” लाई अवसरको रुपमा प्रयोग गर्न लागिपरेको छ । विगत तीन वर्षदेखि चीन र अमेरिका बिच व्यापारिक संग्राम चलिरहेको अवस्था थियो । कोरोनाबाट अमेरिका घायल भएपछि चीनप्रति आफ्नो कटुतालाई तीब्रता दिएको छ । चीनको बजार नीतिलाई अमेरिकीहरु “अस्वस्थ्यकर व्यापार नीति” को संज्ञा दिएका छन् । अर्थात् चीनले अमेरिकासँग गर्ने प्रतिस्पर्धामा व्यापारिक मूल्य र मान्यतालाई अनुसरण नगरेको अमेरिकी बुझाइ रहेको छ ।

होराइजन अध्ययन संस्थानका संस्थापक नेटे पिसायिकले चिनिया नीतिप्रति कटाक्ष गर्दै भनेका छन् कि चीनले कोरोनाबाट पीडित अर्थतन्त्र भएका मुलुकहरुको बजारलाई आफ्नो नियन्त्रणमा लिन भगिरथ प्रयास गरिरहेको छ । नेटेका अनुसार चीन धमिलो पानीमा माछा मार्न सिपालु छ । सन् २००८ मा भएको आर्थिक मन्दीलाई चीनले अवसरको रुपमा लिएर आफ्नो आर्थिक सामथ्र्यलाई बलियो बनाएको थियो ।

चीन, भूमण्डलीकरण र खुला अर्थ व्यवस्थासँग बढी फाइदा लिने मुलुक हो । जब कि खुला अर्थव्यवस्था र भूमण्डलीकरण कम्युनिष्ट सिद्धान्त विपरित आर्थिक र राजनीतिक प्रस्तावना हो । चिनिया अर्थनीतिलाई समीक्षा गर्दै इमेलिया डी ला ब्रियुरी (अनुसन्धानकर्ता) ले भनेकी छन् भने संसारका अधिकांश मुलुकहरु आफ्नो बजार, उत्पादन र गतिविधिलाई बन्द गरेको अवस्थामा चीनले कोरोनाको कहरमा आफ्नो उत्पादनमा अभिवृद्धि गर्दै विश्व बजारमा आफ्नो अधिपत्य कायम गरेको अवस्था छ । अर्को शब्दमा भन्ने हो भन्ने चीनले विश्व आर्थिक मन्दीलाई अवसरको रुपमा लिँदै कोरोनाको सन्त्रासबाट घायल भएका मुलुकहरुमा आफ्नो बर्चस्व बढाइरहेको छ । चीनमा भेन्टिलेटर बनाउने कम्पनीले आफ्नो उत्पादनलाई बढाएको कुराले यो तर्कलाई बल पुग्छ ।

आउने दिनमा चीनले संसारको पाँचवटा क्षेत्रमा आफ्नो नेतृत्व र मनमना बढाउने रणनीतिलाई कार्यरुप दिँदै छ । “फाइभ जी”, “तीब्र गतिले गुड्ने रेल” “आर्टिफिसियल इन्टेलिजेन्स”, “औद्योगिक इन्टरनेट” र “सूचना प्रवाह” मा चीनको अधिपत्य रहने जानकारहरुको दाबी रहेको छ । विश्व अर्थतन्त्रमा संकट बढिरहेको अवस्थामा चीनका बैंकहरु आर्थिक संकटबाट बाहिर छन् । चीनको बजार डगमग भएको छैन । अर्को तर्फ चीन र अमेरिकाको सम्बन्धको बीच संकट बढिरहेको छ ।

अमेरिकी सेनेटर टम कटनले कोरोना कहरले विश्व अर्थव्यवस्थालाई ध्वस्त गर्दै चीनलाई विश्वको महाशक्ति बनाउने वातावरण तयार गरेकोतर्फ औल्याएका छन् । यहाँसम्म कि अमेरिकी राष्ट्रपतिले कोरोनालाई “चिनियाँ भाइरस” को संज्ञा दिँदै चीन र अमेरिका बिचको कटुतामा झन् मलजल गरेको छ । अर्कोतर्फ चीनले यस्तो संकटपूर्ण अवस्थामा आफ्नो अर्जुनदृष्टि विश्व बजारलाई बनाउँदै आफ्नो लगानीलाई बढाइरहेको अवस्था छ । भारतको सबभन्दा ठुलो “हाउजिङ् कम्पनी” एच.डी.एफ.सी. रहेको देखिन्छ । विगत केही दिन भारतको सबभन्दा वीराट कम्पनीको शेयर २५% ले तल झरेको अवस्था छ । यस कम्पनीको शेयर “सेन्ट्रल बैंक अफ चाइना” ले किनेको देखिन्छ । सेन्ट्रल बैंक अफ चाइनासँग ३९० लाख करोड पुँजी रहेको अवस्था छ । भारतीय नीति नियमअनुसार शेयर खरिद कर्ताले सम्पूर्ण रणनीतिलाई प्रभावित पार्न सक्ने जानकारहरुको विश्लेषण रहेको छ ।

त्यस्तै विश्वका ठुला पाँच बैंकमध्ये ४ बैंकहरुमा चिनियाँ लगानीको बर्चस्व रहेको छ । विगत दुई महिनामा अरु देशको अरबपतिहरु आर्थिक नोक्सानमा गएको छ भने चीनमा अरबपतिहरुको संख्या बढेको देखिन्छ । चीनले अरु देशमा लगानी गर्न विभिन्न किसिमको रणनीतिको प्रयोग गरेको देखिन्छ । भारतको बजारमा आफ्नो पहुँच र पकडलाई बढाउन चीनले सिंगापुरको कम्पनीहरुको माध्यमबाट ३५०० करोड भारतको बजारमा लगानी गरेको अवस्था छ । सिंगापुरका कम्पनीहरुले भारतको एक सय सहरहरुलाई स्मार्टसिटीमा रुपान्तरण गर्ने योजनालाई कार्यरुप दिँदै छ । सिंगापुरबाहेक आसियानका अन्य मुलुकहरु थाइल्याण्ड, इन्डोनेसिया, कम्बोडिया, भियतनामलगायत अरु मुलुकहरु पनि चिनिया व्यापारीहरुको एकल बोलबाला र बर्चस्व रहेको पाइन्छ । भारतमा आसियान मुलुकहरुको व्यापारी लगानी प्रचुर मात्रामा रहेको अवस्था छ । यस परिवेशमा अध्ययनले के प्रष्ट गर्दछ भने भारतमा आसियान लगानीको आवरणमा चिनियाँ उपस्थिति देखिन्छ ।
आइ.एम.एफ. का रिपोर्टअनुसार कोरोनाको कहरले विश्वमा आर्थिक महामन्दीलाई आमन्त्रण गरेको देखिन्छ । मन्दी र महामन्दीमा शाब्दिक र तात्विक अन्तर छ । मन्दी तत्कालीन हुन्छ भने महामन्दी दीर्घकालीन हुन्छ । सन् २००८ को आर्थिक अवस्थालाई मन्दी भन्न सकिन्छ भने सन् १९३० मा अमेरिकामा मात्र डेढ करोड व्यक्तिहरु बेरोजगार भएका थिए । अमेरिकाको आर्थिक कारोबार ४६ प्रतिशतले तल झरेको थियो । आर्थिक महामन्दीबाट मुक्ति पाउन हरेक मुलुकहरुलाई दशकौं सम्म अथक परिश्रम गर्नुपर्दछ ।

कोरोनाको कहरले ल्याएको आर्थिक संकटसँग जुध्न अमेरिका बाहेक युरोपेली युनियनका मुलुकहरु चिनियाँ बजार नीतिबाट बढी आक्रान्त देखिन्छन् । बेलायत, फ्रान्स, जर्मनीलगायत अनेकौं मुलुकहरुले आर्थिक रुपमा कमजोर कम्पनीहरुलाई राज्यको आर्थिक संरक्षण दिएको छ । अर्को शब्दमा भन्ने हो भने युरोपेली युनियनका मुलुकहरु चिनियाँ बजार नीति र व्यवस्थापनसँग भयभित छन् । वर्तमान अवस्थामा चीनले विश्वको बजारलाई आफ्नो हातमा लिन लगानीमाथि बढी जोड दिएको छ । युरोपेली युनियनका मुलुकहरुले आफ्नो देशभित्र कुनै पनि कम्पनीमा विदेशी लगानीको लागि राज्यबाट स्वीकृति र अनुमोदन गर्नुपर्ने कानुनी प्रावधान राखेको देखिन्छ अर्थात् चीनलाई कोरोना कहरले बलियो बनाएको अध्ययनले प्रष्ट गर्दछ ।

चिनियँ नीति र रणनीतिप्रति विभिन्न शोध संस्थानहरुको आँकलन र विश्लेषण पृथक पृथक छन् । मानव अधिकार र प्रजातान्त्रिक मूल्य मान्यताबाट निर्देशित संस्थाहरुले चिनिया नीतिलाई प्रश्नको घेरामा ल्याउँदै प्रश्न गर्दछन् कि चीनले समस्याको गाम्भीर्यतालाई विश्व सामु राखेन । यदि चीनले यो संकटलाई समाधान गर्यो भने यसका सूत्रहरु, प्रयोगहरु, अनुसन्धानहरु विश्व सामु पारदर्शिता र स्पष्टता साथ राख्नुपर्दछ जसले कि मानव कल्याणको लागि कोशेढुङ्गा सिद्ध हुन सक्दछ । तर चीनले आफ्नो अवस्थालाई खुला समाज अनुरुप विश्व समुदायको लागि स्पष्ट गरेको छैन । चीन आफ्नो गोपनीयता र रहस्यमे नीतिले गर्दा संसारको प्रजातान्त्रिक कित्तामा सद्भाव र सहानुभूति प्राप्त गरेको छैन । कोरोना कहरले चीनको वैभव बढ्नु एउटा प्रश्न हो तर यसले मानव कल्याणको लागि कस्तो भूमिका खेल्दछ भने प्रश्नको उत्तर भविष्यको गर्भमा छ । आज विश्वको ४०० करोड मानवहरु गुप्त वासको अवस्थामा यही प्रश्नको मापन गर्दछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot