Logo

‘अबचाहिँ बाँच्ने आसै मरिसक्यो’ भनी कोरोना अफवाह फैलाउने प्रहरी फन्दामा



इलाम, ७ वैशाख । ‘अब चाहिं बाँच्ने आसै मरिसक्यो’ भन्दै लेखेर सामाजिक सञ्जालमा पोष्ट गर्ने एक युट्युबर पक्राउ परेका छन् । इलाममा कोरोना भाइरस संक्रमित फेला परेको भन्दै सामाजिक सञ्चालमा पोष्ट गर्ने युट्युबर सन्दीप लिम्बूलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

२४ वर्षीय लिम्बू इलामको फाकफोकथुम गाउँपालिका–७ का हुन् । इलाम नगरपालिका–५ बरबोटेमा कोरोना भाइरसका संक्रमित फेला परेको भन्दै लिम्बूले सामाजिक सञ्जालमा पोष्ट गरेर अफवाह फैलाउने काम गरेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकृत हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए । शुक्रबार लिम्बूले बिब्ल्याँटेका कोरोना भाइरस संक्रमित फेला परेको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेपछि जिल्लावासीमा आतंक मच्चिएको थियो ।

लिम्बूले फेसबुकमा ‘इलामको बिब्ल्याँटेमा एक जना कोरोना संक्रमित फेला, अबचाहिँ बाँच्ने आसै मरिसक्यो’ भनेर पोष्ट गरेका थिए । गलत सूचना सामाजिक सञ्जालमा पोष्ट गरेका कारण स्थानीयवासीमा समेत त्रास पैदा भएको थियो ।

सोही कारण लिम्बूलाई शनिबार जिल्ला प्रहरी कार्यालय इलामले नियन्त्रण लिई सोधपुछ गरिरहेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्