Logo

सात नेपालीको सडकमै निधन



काठमाडौं, ७ वैशाख । संक्रमित ३०, निको हुने दुई, मृत्यु शून्य। यो हो, नेपालमा कोरोना संक्रमणको हिसाब । तर, मृत्युको अर्को हिसाब छ, मृतक संख्या- सात !

समुदायलाई कोरोना संक्रमणबाट बचाउन झण्डै एक महिनादेखि देश लकडाउनमा छ । शहरका सडक सुनसान छन् । कोरोनाका कारण नेपालमा बसेका कोही नेपालीले ज्यान गुमाएनन् भन्ने खुशीसँगै अर्को दु:ख छ कि, यहीबीचमा राजधानीका सुनसान सडकमा ठक्कर खाएर, चिप्लिएर अनि धसारिएर सात जनाले ज्यान गुमाए ।

लकडाउनपछि सडकमा अत्यावश्यकबाहेकका सवारी साधन गुड्न पाएका छैनन् । सडक दुर्घटनाको अत्यधिक कारक मापसे । त्यसको बेचबिखनमा पनि कडाइँ छ । तर, कोरोनाले कोही नमरेको देशमा दुर्घटनामा सात मरे ।

सरकारले चैत ११ गते रातिबाट लागू हुने गरि लकडाउन घोषणा गरेलगत्तै काठमाडौंबाट आ-आफ्नो थातथलो तिर लाग्ने हतारो चल्यो । यही हतारोमा सिन्धुपाल्चोक, जुगल गाउँपालिका- ४ का २४ वर्षीय उत्तरबहादुर तामाङ पनि थिए । उनले २६ वर्षीय दाजु आकाश तामाङ र ११ वर्षकी भतिजी कल्साना डोल्मालाई पछाडि राखेका थिए । राति १० बजेपछि उनको बा ९० प ४०४० नम्बरको मोटरसाइकल भक्तपुरको जगातीबाट अगाडि बढ्दै थियो । त्यही बेला बा ६ ख ११०३ नम्बरको भाडाको गाडी रोकिएको थियो । हतारोमा उत्तरले रोकेको चाल पाएनन् । मोटरसाइकल त्यही गाडीमा ठोक्किएर लड्यो । सल्लाघारीस्थित डा.इवामोरा अस्पतालमा घाइतेहरु पुर्याइए । दाजु आकाश र भतिजी कल्साना घर फर्किए । तर, उत्तरको ज्यान गयो ।

लकडाउनको चौथो दिन, चैत १४ गते । खुला सडकको मजा लिनेक्रममा अर्काले ज्यान गुमाए, मण्डिखाटारस्थित कामीटारमा । दिउँसो २ बजे बा ६९ प ८००४ नम्बरको मोटरसाइकल चढेर चपलीतिर हान्निएका सोलुका १९ वर्षीय सुचन्द्र  तामाङ भ्युटारस्थित सडकमा मोटरसाइकल चिप्लिएर धसारिए । देख्नेहरुले नजिकैको करुणा अस्पताल त पुर्याए, तर अस्पताल पुग्दासम्म उनले श्वास फेर्न छाडिसकेका थिए ।

नेपालमा लकडाउन थपिने खबरसँगै घर फर्कन आतुर दुई भारतीय युवकले भीरबाट चिप्लिएर ज्यान गुमाउनु परेको छ । चैत १७ गते बिहानै ५ बजे प्रहरीबाट लुक्दैभाग्दै मुकेश गुप्ता र सन्तोष महत्तो भारत, मोतिहारी पुग्न साइकल चढेका थिए । टीकाभैरवबाट भट्टेडाडातिर अगाडि बढ्दै गर्दा साइकल झाक्रीडाडाको भीरमा खस्यो । मुकेश र सन्तोषको प्राण त्यहीँ गयो ।

चैत २२ गते, बिहान १० बजे । महाराजगन्जबाट चावहिलतर्फ अगाडि बढ्दै गरेको मोटरसाइकल ड्युटीमा बसेका प्रहरीलाई छल्दै अत्यधिक गतिका साथ अगाडि बढ्दै थियो । प्रहरी रोक्न खोज्दै थिए । तर, चालक दीपेन लामा प्रहरीलाई झुक्याउँदै थिए । चावहिल चोकबाट मित्रपार्कतिर भाग्दै गर्दा बा ७४ प ३९६४ नम्वरको उक्त मोटरसाइकल सडकमा आफैं ढल्यो । त्यहीँ पछारिएका २८ वर्षीय दीपेनले रगतको बान्ता गर्दै ज्यान फाले ।

साइकलमा तरकारी ढुवानी गर्ने काभ्रेका ५० वर्षीय विष्णुप्रसाद चौलागाईंलाई वैशाख २ गते विहानै पानीट्याङ्करले ठक्कर दियो । विष्णु तारकेश्वर नगरपालिका- ११ डाडागाउँबाट नेपालटारतिर लाग्दै थिए । बा २ ख ५१७७ नम्बरको ट्याङ्करले उनलाई ठोक्काएपछि अचेत भए । सामाखुसीस्थित ग्रीनसिटी अस्पतालमा विहान ११ बजे उनको निधन भयो ।

लकडाउन उल्लंघन गर्ने एक युवकलाई स्थानीय सरकारकै गाडीले ठक्कर दियो । चैत १८ गते बेलुकी ६:५५ मा रामेछापका नोर्वु शेर्पा जोरपाटी, जम्बुडाडाबाट बा ९६ प २१४८ नम्बरको मोटरसाइकलमा नारायणटारतिर हुँइकिदै थिए । उनलाई शंकरापुर नगरपालिकाको स्वामीत्वमा रहेको बा २ ख २९७ नम्वरको गाडीले ठक्कर दियो । घाइते भएका नोर्वुको चैत २५ गते उपचारका क्रममा निधन भयो ।

यसबाहेक लकडाउनको अवधिमा राजधानी उपत्यकाभित्रका सडक दुर्घटनामा गम्भीर घाइते भएका अरु तीनजना उपचारका क्रममा छन् । साधारण घाइतेको संख्या ४७ छ ।-जनआस्थाबाट



प्रतिक्रिया दिनुहोस्