Logo

नयाँ जीवनशैलीको अपरिहार्यता



देवप्रकाश त्रिपाठी: विपत्तिको समयमा काम दिने विश्वासका साथ संसारमा राज्यहरूको गठन भएको हो । र, वैज्ञानिकहरूको निरन्तर प्रयास पनि विपत्तिहरूको सामना गर्न उपयोगी हुने विश्वास रहँदै आएको थियो । तर, अहिले हाम्रा राज्यहरूको क्षमता र वैज्ञानिकहरूको सीमा भविष्यमा भ्रम नरहने गरी ‘एक्स्पोज’ भएको छ ।

राज्यको अपरिहार्यता र वैज्ञानिक प्रयासहरूको औचित्य नै समाप्त भएको होइन, तर दुवै पक्षमाथिको पूर्ण भरोसाचाहिँ भ्रम हो भन्ने अब बुझ्नुपर्छ र, जीवनरक्षाको अन्तिम प्रबन्धक समाज र व्यक्तिले आफैंलाई बनाउनु पर्दछ । कोरोनाको आगमनभन्दा अगाडि हामीलाई लाग्थ्यो कि सिङ्गै संसार हामी चलाइरहेछौँ ! तर, हप्तौँदेखि घरभित्रै लुकेर बसिरहँदा पनि पृथ्वी घुमिरहेको छ, मानिसबाहेकका सबै प्राकृतिक चक्र पहिलेको भन्दा अझै सुन्दरतम गतिमा चलिरहेको छ ।

त्यसैले यो समय मानिस मात्रले आफ्नै बारेमा पुनर्विचार गर्न र आत्मसमीक्षा गर्दै नयाँ जीवन–मार्ग तय गर्नका निम्ति उपलब्ध भएको ठान्नु पर्दछ । नेपालजस्तो कमजोर तथा रुग्ण राज्यले मात्र होइन, अमेरिका र युरोपका शक्तिशाली मानिने राज्य-संयन्त्र पनि विपत्तिको यो समयमा निरिह सावित भए । त्यसैले राज्य र वैज्ञानिकमाथि ‘आशा गर्ने भर नपर्ने’ मानसिकता बनाउन सकिएन भने जीवनमा पटक–पटक धोका व्यहोर्नुपर्ने हुन सक्छ ।

हुन त सनातनी जीवन–पद्धति राज्य र वैज्ञानिकहरूमाथि निर्भर रहन नपर्ने गरी विज्ञानसम्मत ढङ्गले नै निर्धारण गरिएको रहेछ । उत्तरतर्फ टाउको पारेर सुत्न नहुने सनातनी सभ्यताको एउटा नियम हो, वैज्ञानिकहरूले उक्त परम्परा विज्ञानसम्मत भएको पुष्टि दशकअघि मात्र गरेका हुन् । गाईको पिसाब, गोबर र दूध–घिउको विशिष्ट महत्वबारे हाम्रा पुर्खा अनादीकालदेखि नै जानकार थिए, वैज्ञानिकले त्यसबारे बुझ्न थालेको धेरै भएको छैन ।

कसैसँग भेट हुँदा हात मिलाउनु या आलिङ्गन गर्नु उचित नहुने यथार्थबारे हाम्रा पुर्खा हज्जारौँ वर्षअघि नै जानकार थिए । युरोपेली र अमेरिकीहरूले ‘नमस्कार’ परम्पराको महत्व भर्खरै बुझ्न थालेका छन् । कोरोनाले दुई व्यक्तिबीचको दूरी कम्तिमा दुई मिटर हुनुपर्ने ‘ज्ञान’ दिएको छ । जब कि दुई मिटरभन्दा कम दूरीमा उभिएर नमस्कार गर्न पनि सकिँदैन, दुई मिटर भन्दा बढी अनेकौँ मिटर दूरीमा उभिएर अभिवादन गर्न सकिने परम्परा हाम्रा पुर्खाले धेरै अघि नै बसाइदिएका हुन् । तुलसी र पिपलको महत्व हामीले परापूर्वकालदेखि नै बुझेका हौँ, वैज्ञानिकहरू अब बुझ्दै छन् । खाना खानुअघि नुहाउनुपर्ने, कपडा बदलेर सफा सेतो परिहन लगाउनुपर्ने, खानाको समयमा बोल्न नहुने, चुल्हो र खाना खाने स्थानलाई विशिष्ट अवस्थामा राख्ने, खाना पकाउने व्यक्ति चुल्होबाट बाहिरिन नपाउने र कदाचित बाहिरिनुपर्ने अवस्था आएमा अर्को व्यक्ति नुहाएर कपडा बदल्दै चुल्होमा प्रवेश गर्नुपर्ने जस्ता परम्पराको वैज्ञानिकता अब बुझिँदैछ ।

हाम्रा पुर्खाले अनादी कालमा वैज्ञानिक अनुसन्धानपछि स्थापित गरिएको जीवन–पद्धति अवलम्बन गर्न हामीलाई न राज्यले प्रेरित गर्नेवाला छ न वैज्ञानिकहरूले नै सनातनी जीवन–पद्धति अपनाउन आह्वान गर्न खोज्लान् ! हामी आफैंले हाम्रो हालको जीवनशैली परिवर्तन गरी पहिलेकै वैज्ञानिक जीवन–पद्धतिमा फर्कनुको विकल्प अब रहेन । मानसिक रूपमा हामी सबैजना जीवन–पद्धति बदल्न तयार भए मात्र सुरक्षित जीवनको सम्भावना रहन्छ भन्ने अहिले पनि नबुझे कहिले बुझ्ने ? गाइको गोबरले घर पोत्नुपर्ने, पिपल र तुलसीको पूजा गर्ने, नदिनाला तथा वनस्पतिहरूको पूर्ण संरक्षण गर्ने लगायतका व्यवस्थालाई कानूनमै समेट्न सकिएन भने यसपटक बाँचे पनि अर्को पटक सत्यानास हुन असम्भव छैन ।

केही वर्षयता नेपाल भौतिकवादीहरूको कब्जामा रहेको छ । लुकीलुकी भैंसी–पूजा गर्ने र बोकाको बलि चढाएर मनोरथ पूरा गर्ने गरिए पनि देखिने गरी सनातन वैदिक धर्मविरुद्धका कार्यलाई प्राथमिकता दिइँदै आएको छ । भौतिकवादको चरम ब्याख्या हजारौँ वर्षअघि चार्वाक दर्शनले गरेको भए पनि पश्चिमा प्रभावमा परेका कम्युनिष्टहरूले मार्क्सलाई गुरु र उनको भौतिकवादी दर्शनलाई मूल मार्गदर्शक सिद्धान्तका रूपमा अवलम्बन गरेका छन् । भौतिकवादीहरू डार्विनको विकासवादलाई सही ठान्छन्, तर उनले पनि परम तत्वका रूपमा ईश्वरलाई स्विकार गरेका छन् भन्ने कुराको हेक्का राख्दैनन् । चार्ल्स डार्विनले जीव-योनीको विकास जीव–कोषहरूबाट भएको भनेका छन्, तर जीव–कोषको उत्पत्तिचाहिँ कसरी भयो भन्ने जिज्ञासाको जवाफमा उनले ईश्वरबाट भएको भनी स्पष्ट गरेका छन् ।

हजारौँ वर्षअघि नै वैशेषिक दर्शनले ईश्वर र परमाणुहरूको बेग्लाबेग्लै अस्तित्वलाई सत्य मानेको छ । सृष्टिका सबै प्रश्नहरूको जवाफ सहज छैन तर राजनीति, विज्ञान र समाज शास्त्रको शासक–भूमिकामा रहेका मानिसहरू हरेक प्रश्नको जवाफ र हरेक समस्याको समाधान आफैं भएजस्तो ठान्दछन् । अबको एक हजार वर्षपछिको पुस्ता हामीले बाँचिरहेको यो समयलाई पौराणिक काल ठान्छ र हामीले बाँचेको जीवनशैलीको बेग्लै ढङ्गले मूल्याङ्कन गर्न खोज्छ भने त्यो उनीहरूको ज्ञान, चेत र अधिकारको कुरा हो । यो समयका मानिसको मूल्याङ्कन गर्दा आत्मकेन्द्रित, भौतिक सुख–सुविधाका निम्ति जेसुकै गर्न तत्पर हुने, भोलि हाम्रै सन्तान–दर्सन्तानलाई कस्तो असर पर्छ भन्ने कुरामा विचार नगरी पर्यावरण ध्वस्त बनाउने, केवल धन–सम्पत्ति र सुख–शयललाई मात्र जीवनको उद्देश्य बनाउने र त्यसैलाई आधुनिक जीवन ठान्ने मानिसहरूको युगका रूपमा उनीहरूले परिभाषित गर्न सक्छन् । दुई हजार वर्षको पछिल्लो मानव सभ्यतालाई हामी सृष्टिकै पहिलो विकसित रूप भन्ने भ्रम राख्छौँ ।

हजारौँ वर्षअघि हाम्रा ऋषिमुनिहरूले प्रतिपादन गरेका अमूल्य जीवन–दर्शनलाई त हामी अहिले उपेक्षा गर्दैछौँ भने यो समयका हामीले एक थान परिवार पाल्न अपनाएका तुच्छ विधिहरूको भोलिका पुस्ताले उच्च मूल्याङ्कन गर्ने अपेक्षा राखिनु हुँदैन । अस्तित्ववादी दार्शनिक जाँ पाल शात्रले ‘मानिस अस्तित्ववान हुनुको अर्थ काम गर्नु, काम गर्नुको अर्थ चुनाव गर्नु र चुनाव गर्नुको अर्थ स्वतन्त्र हुनु हो, त्यसैले मानिस आफ्नो उद्देश्यबाहेक अरु केही होइन र आफ्नो जीवनभन्दा छुट्टै पनि मानिस केही होइन’ भनेका छन् । शात्र भौतिकवादी दार्शनिक भए पनि उनले उद्देश्यविनाको मानिस औचित्यहीन हुने स्पष्ट गरेका छन् । हामीले आत्मसमीक्षा गर्ने ठीक समय आएको छ ‘अब केवल आफ्नो जीवनरक्षाका लागि मात्र बाँच्ने कि भोलिको प्राणी–पुस्ताका निम्ति पनि आजै केही गर्ने ?’

मानव सभ्यताको यो स्तरको विकास पहिलोपटक भएको ठान्नु भुल हुनेछ । लाखौँ लाख वर्षदेखि मानिस धर्तिमा रहेको र आफ्नै गल्तीहरूका कारण पटक–पटक प्रलयको सामना गर्नुपरेको यथार्थलाई स्विकार गर्न सकिने अनेकौँ तथ्य प्रमाण छन् । हाम्रा सनातनी शास्त्र (देवी भागवत, भविष्य पुराण, शिव पुराण आदि) हरूमा उल्लिखित ब्यहोराप्रति चासो नराख्ने, विश्वास नगर्ने हो भने पनि सन् २००८ को एउटा घटनालाई आधार बनाएर हेर्दा मानव सभ्यता विकासको उत्कर्षमा पुग्ने र आफ्नै गल्तीका कारण पतन हुने क्रम पटक–पटक जारी रहँदै आएको तथ्य बुझ्न सकिन्छ ।

सन् २००८ मा अनुसन्धानकर्ताहरूको एउटा टोलीले इजिप्टको गुफामा फेला पारेका सामाग्रीहरूले वैज्ञानिकहरूलाई चकित बनाएको थियो । पाँच हजार वर्षभन्दा पुरानो ठहर भएका सामाग्रीहरू अत्याधुनिक आकार प्रकारका थिए र, तीमध्ये एउटा पत्थरबाट बनेको हेलिकोप्टरको मूर्ति पनि थियो । अहिले हामीले प्रयोगमा ल्याइरहेको अत्याधुनिक हेलिकोप्टरसँग हुबहु मिल्ने उक्त केलिकोप्टरको मूर्तिलाई सीएनएनले पनि आश्चर्यजनक भन्दै ‘ब्रेकिङ’ समाचारका रूपमा (२००८ को फेब्रुअरी) बारम्बार प्रशारण गरेको थियो । त्यसबाट बुझिने के हो भने हामीले अहिले प्रयोग गरेजस्तै हेलिकोप्टर हजारौँ वर्षअघि नै हाम्रा पुर्खाले उपयोग गर्ने गर्दथे । सनातनी सभ्यताले जन्माएका शास्त्रहरूले यी तथ्यहरूको सविस्तार ब्याख्या गरेकै छ, त्यसतर्फ चासो नराख्नु हाम्रो कमजोरी थियो, अब त्यस्तो कमजोरीले निरन्तरता पाउनु हाम्रो निम्ति दुर्भाग्य हुन सक्छ । देशलाई सनातन वैदिक हिन्दुराष्ट्रको पहिचानमा पुनःस्थापित गर्दै सनातनी परम्परामा आधारित आधार, व्यवहार, शिक्षा र जीवन पद्धतितर्फ हामीलाई लैजाने सुकार्य चरम भौतिकवादीहरूको धर्मनिरपेक्ष राज्य–प्रणालीबाट सम्भव देखिँदैन, त्यसैले हामी आफूले आफैंलाई पुरानो वैज्ञानिक जीवन पद्धतिमा लैजाने अग्रसरता लिइन आवश्यक छ ।

१७औँ शताब्दिका प्रशिद्ध दार्शनिक रेने देकार्तले सत्य थाहा पाउन हरेक बस्तुलाई शङ्का गर्ने र जवाफ खोज्ने विधि अपनाएका थिए । अहिले कोरोनाले हामीलाई शङ्का गर्नु नपर्ने गरी मानिसका योजनाबद्ध प्रयास र विज्ञानले गरेको विकास भन्दा आकस्मिक घटना र ईश्वरको लाठी नै सर्वशक्तिवान भएको ज्ञान दिइसकेको छ । यो घटनाबाट पनि हामी सिक्न खोज्दैनौँ भने मानिसको यो पुस्ता प्रलय निम्त्याउन र धर्तिबाट मानव–जीवनको अन्त्य गराउन आतुर छ भन्ने बुझ्नु पर्दछ ।

हामी केही दिनअघिको ‘ह्याङ्गओभर’मा छौँ, त्यसैले कोरोना प्रादुर्भावअघिकै झैँ भोलि पनि त्यसैगरी चल्ने, चलाउने र चलाउन सकिने भ्रममा छौँ, त्यस्तो हुन्न अब । आफ्नो पुस्ता र भोलिका पुस्ताको समेत जीवन रक्षा गरिदिने हो भने विश्वले नयाँ मार्ग निर्धारण गर्न आवश्यक छ, तर त्यो मार्ग सनातनी परम्परा भन्दा भिन्न हुनुपर्ने छैन । जन्मजात प्रत्ययका आधारमा बाँँच्ने प्राणीलाई पशु भनिन्छ र विवेक प्रयोग गरेपछि मात्र प्राणीलाई मानिसको दर्जा दिन सकिने हो । मानव समाजले विवेक प्रयोग गर्नैपर्ने समय आएको छ, राज्य र वैज्ञानिकले अबको परिवर्तनको अगुवाइ गर्न सक्दैनन्, त्यसैले हामी आफैं त्यसनिम्ति तयार हुनुपर्दछ ।

‘कोरोना’को बिदाइ सजिलैसँग हुने अवस्था छैन । जसरी अचानक देखापऱ्यो त्यसैगरी ईश्वरीय कृपा भएर अचानक लोप भएछ भने त्यो हाम्रा निम्ति सुखद सन्दर्भ बन्न सक्ला, होइन भने कोरोनाबाट तत्काल मुक्ति सम्भव छैन र यसरी जम्मै मान्छे मृत्युसँग डराएर महिनौँसम्म ‘लकडाउन’मा बाँचिरहन झन् सम्भव हुँदैन । एक पटक रोग लागेर निको भइसकेका व्यक्ति ‘कोरोनाप्रुफ’ हुँदैनन्, त्यसैले रोग लागेर निको भएका र रोगै नलागेका सबै मानिस सधैं उत्तिकै जोखिममा छौँ । एकपटक कुनै तरिकाले नियन्त्रणमा लिन सकिएछ भने पनि यो फेरि देखापरिरहन सक्छ । कोरोनाको औषधि र भ्याक्सिन बन्न समय लाग्न सक्छ, एक–डेढ वर्षभित्रै औषधि सर्वसुलभ हुन सक्यो भने पनि ठूलै उपलब्धि मान्नुपर्ने अवस्था छ । औषधि नै बनेपछि पनि यो रोग बारम्बार देखापरिरहन सक्ने भएकोले हाम्रो सोच र व्यवहारमा आमूल परिवर्तनको अपरिहार्यता रहन्छ । यस्तो परिवर्तनको अगुवाइ हामी आफैंले गर्नुपर्ने हुन्छ । त्यसनिम्ति हात मिलाउने परम्परा सधैंका लागि त्याग्ने र ‘नमस्कार’ परम्परालाई स्थायी रूपमा अवलम्बन गर्ने गर्नुपर्छ ।

प्रकृतिमाथिको निर्भरता बढाउने र कृत्रिमताबाट मुक्त हुने जीवन मार्ग अपनाउनु सबैका निम्ति उपयुक्त हुन्छ । प्रकृतिमाथिको निर्भरतालाई प्राकृतिको दोहनका रूपमा बुझिनु हुँदैन, यी नितान्त भिन्न कुरा हुन् । स्याउ फलाउनु, टिप्नु र खानु प्रकृतिमाथिको निर्भरता हो, स्याउ फलाउने बोटको हाँगा र जरासमेत खानुचाहिँ प्राकृतिमाथि दोहन या अत्याचार हो । नदीमा गएर पानी पिउनु प्रकृतिमाथिको निर्भरता हो, शक्तिशाली पम्प (मेसिन) लगाएर नदीकै पानी तान्नुचाहिँ दोहन हो, अत्याचार हो । पृथ्वीको तापक्रम र तनाव बढाउने प्रकारका कुनै कार्य नगर्नु भनेको प्रकृतिको संरक्षण गर्नु हो, ईश्वरको आराधना पनि त्यही हो । सनातनी परम्परामा जलदेवी, वनदेवी आकाशदेवी (प्रदुषण नहोस् भन्ने कामनाबाट), भूदेवी आदिको पूजा किन गर्ने गरिएको रहेछ भन्ने अब बुझ्नु पऱ्यो । यस किसिमको परिवर्तनका निम्ति राज्य फेरि पनि तयार नहुन सक्छ, त्यसैले यो पनि हामीले आफ्नै अगुवाइमा गर्नुपर्ने परिवर्तन हो । आयुर्वेद, ब्यायाम र योगालाई प्राथमिकता दिइनुपर्छ, राज्यले नदिए हामी आफैंले उच्च महत्व दिनुपर्ने हुन्छ ।

राजनीतिलाई मानव र जगत कल्याणको साधन बनाउनुपर्ने माग समयले गरिसकेको छ । विभिन्न वाद, विचार, क्षेत्र तथा जातका आधारमा गरिने राजनीतिको अध्याय समाप्त गरी कसैले पनि कसैलाई निषेध गर्ने सोचको अन्त्येष्टि गर्दै सबैले सम्मानित महसूस गर्ने प्रणालीको विकास हुनुपर्छ । राजनीतिजीवीहरूबाट यस्तो प्रयास नभएमा जनता आफैंले यसको अगुवाइ गर्न सक्नुपर्छ ।

कोरोना आक्रमणले विश्वव्यापी रूपमै मानिसलाई मनोवैज्ञानिक समस्यामा पारेको छ, त्यसको प्रभावकारी उपचार भनेकै योग, ध्यान र अध्यात्म हो । मनोवैज्ञानिक असरको उपचार राज्यले नगरे पनि हामीले जनस्तरबाट नै त्यसको सुरुवात गर्न सक्नुपर्छ । अब विश्व अर्थ–व्यवस्थामा नकारात्मक परिवर्तन आउने हुनाले विदेशमा काम गरिरहेका करिव पचास लाख नेपालीमध्ये अधिकांश स्वदेश फर्कने सम्भावना प्रवल छ । स्वदेश फर्किएका नेपालीलाई आफैं बेरोजगार मानसिकताका राजनीतिजीवीहरूबाट व्यवस्थापनको सम्भावना देखिँदैन । रेमिट्यान्स प्राप्त हुन छोडेपछि कर्मचारीलाई तलब उपलब्ध गराउन समेत नसकिने अवस्था पैदा हुनसक्छ र, त्यतिबेला सङ्घीय राज्य प्रणाली खारेज गर्नु पहिलो आवश्यकता हुनेछ ।

राजनीतिजीवीहरूबाट राष्ट्र–रक्षाको पहल हुन सक्दैन भने त्यस्तो अवस्थामा नागरिक आफ्नै सङ्गठित प्रयासमा लागिपर्नु पर्ने हुन्छ । आय आर्जनका निम्ति स्वरोजगारमूलक कृषि, पशुपालन, जडिबुटी उत्पादन, गाँजाखेति र पर्यटन व्यवसायमा लाग्न हामी नागरिक आफैं अग्रसर हुनुपर्ने पृष्ठभूमि अहिले बनिरहेको छ । यस कार्यमा नागरिक अग्रसरता नहुने हो भने कोरोनाबाट उम्किएकाहरूलाई अर्को वर्ष भोकमरीबाट बचाउन सकिने छैन । मानिस अधिक धनी बन्नुको पनि कुनै अर्थ नरहेको शिक्षा ‘कोरोना काण्ड’ले दिएको छ । त्यसैले एउटा व्यक्ति कतिसम्म धनको मालिक बन्न पाउने र कुन स्तरभन्दा तलको गरिबी रहन नदिने भन्ने विषयमा राज्यले स्पष्ट नीति तथा कानून बनाउनु उपयुक्त हुने देखियो । त्यस्तै, पृथ्वीको तापमान र प्रदुषण तथा प्रकृति र मान्छेको तनाव बढाउने प्रकारका कुनै पनि कार्यलाई राज्यले वर्जित गर्न सक्दा राम्रो, नभए त्यसनिम्ति समेत हामी नागरिकले नै अगुवाइ गर्नुपर्ने हुन्छ ।

अन्त्यमा,
हामीले केही तथ्यहरू स्मरण गर्दै तदनुरूप व्यवहार गर्नुपर्ने अनिवार्य किसिमले वाञ्छनीय छ । दृष्यभन्दा अदृष्य शक्ति ताकतवर छ, नियमित र योजनावद्ध रूपमा मानिसबाट हुने प्रयासहरू भन्दा आकस्मिक र प्राकृतिक रूपमा हुने घटना जहिले पनि निर्णायक हुने गर्दछ, हामीले भोगिरहेको पृथ्वी हजारौँ, लाखौँ पुस्तादेखि अरु कसैको थियो र जोगाउन सकियो भने अनिश्चित कालसम्म पैदा भइरहने भावी पुस्ताको हुनेछ । हामीले ईश्वरीय या प्राकृतिक इच्छाको छेदन गर्न असमर्थ छौँ, पुर्खाले हामीलाई जिम्मा लगाएको सुन्दर पृथ्वी कुरूप नबनाइकन भोलिको पुस्तालाई सुम्पनेसम्मको काम मात्र हामी गर्न सक्छौँ । यो भन्दा बढी केही गर्न सक्छौँ भने त्यो हो ईश्वरको आराधना । देशभन्दा ठूलो आफू होइन, आफूभन्दा ठूलो पार्टी र नेता होइनन् र ईश्वर या प्रकृतिभन्दा ठूलो आफू कहिल्यै होइन भन्ने चेत हामी सबैमा रहोस्, नयाँ वर्ष २०७७ को शुभकामना ।-घटना र विचारबाट साभार 



प्रतिक्रिया दिनुहोस्