काठमाडौं, ७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार २ घन्टा सरकारी संचारमाध्यमका सम्पादकहरुलाई अन्तवार्ता दिए । उनीहरु सम्पादकहरुले १४ वटा प्रश्नको उत्तर दिन २ घन्टा समय लगाएका थिए ।
उनले ५ बज्न ५ मिनेटमा अन्तवार्ता शुरु गरेर ७ बजे साँझ सम्म बोलेका थिए । त्यस क्रममा उनले दिनको १८ घन्टा काम गर्ने गरेको सुनाएको जनआस्थाले लेखेको छ । उनले दुई वटा मृगौला फेरेर पनि देश चलाउने प्रधानमन्त्रीका रुपमा आफ्नो नाम गिनिज बुक अफ द वल्र्ड रेकर्डमा राख्दा फरक नपर्ने बताए । गुगल सर्च गरेर हेर्दा आफूजस्तो सरकार प्रमुख कोही नरहेको समेत चर्चा गरेका थिए ।
उनले भने, दुई दुईवटा किड्नी फेरेर पनि देशको शासन सत्ता चलाउने संसारमा कोही छैन, त्यसैले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउँदा फरक पर्दैन । आफूलाई विभिन्न देशले विभिन्न सम्मान र मानार्थ उपाधिहरु दिएको उल्लेख गर्दै भने, वास्तवमा मैंले पाउनुपर्ने त गिनिज बुकमा नाम हो ।
कुनै सरकार प्रमुख या राष्ट्रप्रमुखको दुई दुई वटा किड्नी प्रत्यारोपण गरेको छ कि भनेर गुगलमा पनि सर्च गरेको सुनाए । तर, कसैको पनि नरहेको पाएको बताए ।
प्रधानमन्त्रीले १८ घन्टा काम गर्ने गरेको सुनाए । उनले रातको १२ बजे सुतेर ६ बजे उठ्ने गरेको बताए । यसअघि उनी राति १ बजे सुतेर ५ बजे उठ्नेगरेको समेत बताएका थिए ।-File Photo