Logo

कोरोना भाइरस प्रयोगशालामा बनाएको नोबेल पुरस्कार विजेता वैज्ञानिकको दाबी



एजेन्सी । कोरोना भाइरस प्राकृतिक रुपमा उत्पत्ति नभै मानिसले बनाएको हो कि भनेेर अनुमान गर्नेहरु धेरै छन् । वैज्ञानिकले बनाएको भाइरस जानाजान हावामा छोडिएको हुन सक्ने कतिपयको आशंका छ भने कतिपयले त्रुटीका कारण मानिसमा सरेको भनिरहेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त पटक पटक कोभिड १९ चिनले बनाएको आरोप लगाइरहेका छन् । यस्ता आरोप र अनुमानकाबीच एक वैज्ञानिकले पनि भाइरस प्रयोगशालाबाट निर्माण भएको दाबी गरेका छन् ।

फ्रान्सका सरुवा रोग विशेषज्ञ तथा चिकित्साशास्त्रका तर्फबाट नोबेल पुरस्कार विजेता वैज्ञानिक लुक मोंतानिए (Luc montagnier) ले कोरोनाभाइरस महाव्याधि प्रयोगशालामा बनाइएको दाबी गरेका हुन् ।

चिनियाँ प्रयोगशालामा एड्स भाइरसको खोप बनाउने क्रममा सार्स–कोभ–२ भाइरस बन्न पुगेको उनले बताएका छन्।

फ्रान्सको एउटा मेडिकल पोडकास्टमा कुरा गर्दै सन् २००८ का नोबेल पुरस्कार विजेता मोंतानिएले कोरोनाभाइरसको जिनोममा एचआईभीका तत्त्व र मलेरियाको कीटाणु पाइएकाले यो प्राकृतिक रूपमा आयो भन्ने विषयमा शंका उत्पन्न गराएको बताए ।

कोरोनाभाइरसहरूको विशेषज्ञता हासिल गरेको वुहान नेसनल बायोसेफ्टी ल्याबोरेटोरीमा औद्योगिक दुर्घटना भएको र भाइरस त्यहाँबाट बाहिर आएको मोंतानिएले बताए ।

अमेरिकाले चीनको प्रयोगशालाबाट भाइरस बाहिर आएको हुन सक्ने विषयमा अनुसन्धान शुरू गरिरहेको बेलामा मोंतानिएको भनाइ सार्वजनिक भएको हो ।
अमेरिकाका राष्ट्रपति ट्रम्पले केही दिनअघि भाइरस चिनले बनाएर फैलाएको आशंकामा अनुसन्धान गरिरहेको बताएका थिए ।


प्रतिक्रिया दिनुहोस्

Screenshot