काठमाडौं, ८ बैशाख । उद्योगी तथा व्यवसायीहरुले लकडाउन केही खुकुलो पार्नको लागि दबाब दिन थालेका छन् । लकडाउनका कारण बन्द प्रायः रहेका उद्योग, धन्दा तथा कलकारखाना खुलाउनको लागि पनि लकडाउन खुकुलो पार्नुपर्ने उनीहरुको माग छ । यसको लागि उनीहरुले अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटेरै दबाब दिएका छन् । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि यही बैशाख १५ गतेसम्म लकडाउन लगाएको छ । पछिल्लो समय सरकारले लकडाउन झनै कडाई बनाएको छ ।
बैशाख १५ गतेपछि लकडाउन लम्ब्याईएपनि केही खुकुलो बनाउनुपर्ने व्यवसायीहरुको माग छ । उनीहरुले कोरोनाको जोखिम र प्रभाव पर्ने क्षेत्रमा कडाई गर्नुपर्ने र जोखिम नरहेका क्षेत्रमा लकडाउन खुकुलो पार्नुपर्ने आग्रह गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पनि अवस्था र जोखिमको परिस्थिति हेरेर लकडाउन केही खुकुलो बनाउनुपर्नेबारे सरकारलाई आग्रह गर्दै आएका छन् । नेकपाकै बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले पनि लकडाउन केही खुकुलो बनाउनुपर्ने तर्क गरेका छन् । FILE PHOTO