चैत ८, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार मन्त्रिपरिषद्ले सिफारिस गरेको अध्यादेश जारी गरेकी छन् ।
राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कायविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश,२०७७ राष्ट्रपति भण्डारीले जारी गरेकी हुन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले दुई वटा अध्यादेश ल्याएकोमा कडा आपत्ति जनाएको छ । सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै नेकपाले सत्ताको उन्माद या खेल प्रस्तुत गरेको आरोप लगाएका छन् । उनले नेपाली इतिहासकै सबैभन्दा दुःखद घटना भएको भन्दै ‘बेमौसमी बांसुरी’ को संज्ञा दिएका छ् ।
“कोरोनाको संक्रमणसंग पुरै विश्व एक भएर लडिरहेको छ । यस्तो बेलामा नेपाल सरकारले आज संवैधानिक परिषद सम्बन्धि र राजनैतिक दल सम्बन्धि दुई अध्यादेश जे जारी गरेको छ त्यसले सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर नभएको पुष्टि भएको छ । दुबै अध्यादेशप्रति नेपाली कांग्रेसको गम्भीर असहमति छ ।” विज्ञप्तिमा भनिएको छ ।
“आजको संविधान निर्माण गरिंदा राजनैतिक स्थिरताको बन्दोबस्त गरिएको थियो । संगैमा संवैधानिक नियुक्तिहरुमा साझा स्वामित्वको परिकल्पना गरिएको थियो । नागरिक जीवन संकटमा रहेको घडीमा सरकारले चालेको कदम र राष्ट्रपतिबाट हतारमा गरिएको प्रमाणीकरणले यी सबै ब्यवस्थालाई हठात उलंघन गरेको छ ।” देउवाको तर्क छ ।
त्यसैगरी अलोकतान्त्रिक एवं संविधानको मर्म विपरीतका विधेयक तत्काल फिर्ता लिन माग गर्दै अन्य सबै खेल भन्दा माथि उठेर कोरोनाबाट जनताको जीवन रक्षामा सम्पूर्ण रुपले केन्द्रित हुन सरकारलाई अपील गरिएको छ ।