Logo

बाबुराम भट्टराईको टिप्पणी : देश थप संकटमा फस्दैछ! लोकतन्त्रका हत्यारादेखि सावधान!



काठमाडौं, ८ बैशाख । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टी फुटाउने अध्यादेश जारी गरेर वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार सुध्रनै नसक्नेगरि रसातलतिर भासिएको प्रमाण भएको टिप्पणी गरेका छन् ।

उनले केहीबेर अघिमात्रै ट्विट गर्दै लेखेका छन् -“सम्पूर्ण देश एकढिक्का भएर केरोनाबिरूद्ध लड्नुपर्ने बेलामा पार्टी फुटाउने अध्यादेश जारी गर्नु ओली सरकार सुध्रनै नसक्ने गरी रसातलतिर भासिएको प्रमाण हो।जुनसुकै पार्टी फुटाउने लक्ष्य राखिएको भए पनि यो लोकतन्रविरूद्ध गम्भीर अपराध हो।देश थप संकटमा फस्दैछ!लोकतन्त्रका हत्यारादेखि सावधान!”

आज अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ ल्याउने निर्णय गरेको छ । मन्त्रिपरिषदले पारित गरेका ती दुई अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भइसकेको छ । यही सन्दर्भमा डा. भट्टराईले यस्तो कडा टिप्पणी गरेका हुन् ।

उता, प्रमुख प्रतिपक्ष कांग्रेसले पनि आज जारी भएका यी दुइ अध्यादेश तत्काल फिर्ता लिन माग गरेको छ । पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै अलोकतान्त्रिक एवं संविधानको मर्मविपरीतका विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेका हुन् ।FILE PHOTO

 



प्रतिक्रिया दिनुहोस्