काठमाडौँ, ९ वैशाख । गोरखा घर भई काठमाडौँ बस्दै आउनुभएका २७ वर्षीया नाना थापाले अस्पताल जान नपाएपछि यसअघि देखाएको कार्डमा रहेको फोनमा सम्पर्क गरेर सेवा लिएका छन् । थापाथलीस्थित परोपकार तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह)बाट सेवा लिइरहेको उनको यो दोस्रो गर्भ हो ।
अहिले छ महिना भइसकेको छ र कुनै समस्या नभएकाले फोनमा चिकित्सकले दिएको सल्लाहअनुसार नै खाना खाने र व्यायाम गर्दै आएका छन् । यस्तै नुवाकोट घर भई काठमाडाँैंमा बस्दै आउनुभएकी कला तामाङको पनि दोस्रो गर्भ पाँच महिनाको छ । उनले समस्या भएमा कहाँ र कसरी सेवा लिनेबारे जानकारी राखेको पाइएन । प्रसूति गृहले बन्दाबन्दी (लकडाउन)का कारण अस्पतालसम्म आउन नसक्नेलाई घरमै बसेर सेवा उपलब्ध गराउन थालेपछि थापाजस्ता धेरैले यसको फाइदा लिइरहेका छन् । अस्पतालका निर्देशक डा. जगेश्वर गौतमका अनुसार कोरोना सङ्क्रमण नहोस् भन्ने उद्देश्यले अस्पतालको बहिरङ्ग सेवा बन्दाबन्दीको अवधिभर बन्द गरिएको छ । यसबेला अस्पतालमा गर्भवती अवस्थाबारे जाँच गराइरहेका गर्भवतीका लागि टेलिफोन नं. ४२६०४०५ मा सम्पर्क गरी डाक्टरसँग सल्लाह लिन सकिने छ ।
अस्पतालका अनुसार बन्दाबन्दीका कारण टाढाबाट प्रसूतिका लागि आउन नसक्दा अस्पतालमा सुत्केरी हुने सङ्ख्यामा कमी आएको छ । सेवा लिन जत्ति आउँछन्, सबैलाई अस्पतालका तर्फबाट उपलब्ध गराउने सुविधा सेवा प्रदान गरिएको छ,’ निर्देशक गौतमले भने। दैनिक ७० देखि ८० जनासम्मले प्रसूति सेवा लिने यस अस्पतालमा कोभिड–१९ बाट उत्पन्न सङ्कटबाट नागरिकलाई बचाउन लागू गरिएको बन्दाबन्दीको अवस्थामा दैनिक सरदर ६० जनाले मात्र सेवा लिइरहेका छन् । कति त सङ्क्रमण हुने त्रासले जान डराइरहेका छन् भने कतिले नजिकैका स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीको सेवा लिने गरेका छन् । कतिपयलाई अस्पतालसम्म पुग्न सवारी साधनको पनि समस्या छ । आइरन चक्की र क्याल्सियम खाइरहेका सामान्य अवस्थाका गर्भवतीले आफूलाई कुनै समस्या नभए घरमै बसेर पोषिलो खानेकुरा खाने, हल्का व्यायामका साथै आराम गरेर बस्ने सल्लाह उहाँको छ । त्यसबाहेक पानी वा रगत बग्ने लगायतका आकस्मिक समस्या देखिए तुरुन्त अस्पताल आउन वा डाक्टरसँग फोनमा सल्लाह लिएर डाक्टरको सल्लाह अनुसार समस्याको समाधान निकाल्न उनले सुझाव दिएका छन् ।
उनले विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारको निर्देशनअनुसार अस्पतालमा हुने भीडलाई कम गर्न ओपीडी सेवा तत्कालका लागि बन्द गरिएको बताएका छन् । निर्देशक डा. गौतमले गर्भवतीको अवस्था सामान्य सुत्केरी गराउन नसक्ने भएको खण्डमा गाउँबाट पनि एम्बुलेन्समै ल्याएर प्रसूति सेवा लिइरहेको जानकारी दिएका छन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति उत्थान कार्यक्रमअन्तर्गत बन्दाबन्दीकै अवस्थामा सोलुखुम्बु र मुग जिल्लाबाट गर्भवती महिलाको उद्धार गरी सो अस्पतालमा उपचार गरिएको छ । (गोरखापत्रबाट)