Logo

ओलीले देशलाई निरंकुशतातर्फ धकेलेकाले काँग्रेस एकजुट भई चुनौतीको सामना गर्नुपर्छ- सुजाता कोइराला



काठमाडौं, ९ वैशाख । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई निरंकुशतातर्फ धकेलेको टिप्पणी गरेकी छिन् । एकपछि अर्को गर्दै शक्ति विस्तार गर्ने क्रममा प्रतिपक्षीलाई समेत स्थान नदिने गरी देशलाई निरंकुशतातर्फ धकेलेको बताएकी हुन् ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई निरंकुशतातर्फ धकेलेकाले चुनौतीको काँग्रेस सामना गर्न तयार हुनुपर्छ,’ पूर्व उपप्रधानमन्त्री समेत रहेकी कोइरालाले रिपोर्टर्स नेपालसँग भनिन्, ‘अब नेपाली काँग्रेस सशक्त र सुदृढ भएमात्र चुनौतीको सामना सम्भव छ ।’ उनले काँग्रेस बलियो नबने देश र प्रजातन्त्र नै कमजोर हुन्छ भन्ने प्रमाणित भएको बताइन् । त्यसलाई मनन गरेर बढ्न आग्रह गरिन् ।

अहिले प्रजातन्त्र नै खतरामा परेको उनको टिप्प्णी थियो । प्रजातन्त्रमा चेक एन्ड ब्यालेन्सका लागि प्रतिपक्षीको महत्वपूर्ण स्थान हुन्छ, कोइरालाले भनिन्, ‘प्रमुख प्रतिपक्षी दलको भूमिका नै नरहने गरी एकलौटी गर्न खोज्नु निरंकुशताको बाटो हो ।’ उनले अध्यादेशहरु ल्याउने प्रक्रिया चलिरहने तर अध्यादेश जसरी ल्याइयो त्यो समय र नियत ठिक नभएको बताइन् ।

कोइरालाले प्रजातन्त्रमाथि फेरि खतरा बढेको बताइन् । प्रजातान्त्रिक प्रक्रिया र अभ्यास नै ध्वस्त पार्न खोजिएकोले सोच्ने बेला आएको बताइन् । तर, कस्तो सोच्ने बेला आयो भनेर सोध्दा उनले समयले बताउँदै जाने बताइन् ।

देशलाई सर्वसत्तावादतर्फ लान खोज्नुलाई गम्भीरताका साथ लिनुपर्ने भन्दै प्रजातन्त्रका लागि नेपाली काँग्रेस गम्भीर हुनुपर्ने बेला आएको बताइन् । काँग्रेस एकजुट भई अन्य प्रजातान्त्रिक पक्षलाई समेत समेटेर देशलाई निरंकुशताबाट जोगाउनुपर्नेमा जोड दिइन् ।

सिंगो देश कोरोना भाइरससँग जुधिरहँदा सरकार सर्वसत्तावादतर्फ बढ्न खोज्नुले प्रजातन्त्रप्रति नै गलत सन्देश जानसक्ने उनको भनाई थियो । देशलाई गम्भीर संकटबाट जोगाउन काँग्रेसले प्रजातान्त्रिक प्रक्रियालाई आन्तरिक रुपमा जिवित राख्नुपर्ने बताइन् । उनले भनिन्, ‘अब कोरोना भाइरस भन्दै आन्तरिक चुनावलगायतका प्रक्रिया रोकिनुहुन्न, काँग्रेसले गति लिइरहनुपर्छ ।’

दक्षिण कोरियामा कोरोना महामारीका बाबजुद भौतिक दुरी कायम राख्दै चुनाव भएको स्मरण गराइन् । काँग्रेसको महाधिवेशन समयमै हुनुपर्नेमा उनको जोड थियो । रोग सँग लड्दै गर्दा प्रजातन्त्र र प्रजातान्त्रिक प्रक्रिया रोकिन नहुने कोइरालाको भनाई छ । काँग्रेसको अब हुने महाधिवेशनले सबै किसिमका सर्वसत्तावादलाई परास्त गर्ने गरी ऊर्जा पाउने विश्वास व्यक्त गरिन् । काँग्रेस एक भएर देशमा हुन लागेको निरंकुशताको थालनीलाई समाप्त पार्नुपर्नेमा उनको जोड थियो ।

सरकारले ल्याएको अध्यादेशमा प्रमुख प्रतिपक्षी दलका नेताको भूमिका कमजोर पारेपछि नेता कोइरालाको भनाई आएको हो । उनले देशमा गम्भीर संकट आउन लागेकाले त्यसका लागि तयार रहन काँग्रेस कार्यकर्ता र प्रजातान्त्रिक शक्तिलाई समेत आग्रह गरिन् । उनले भनिन्, ‘यो घडीमा म नेपाली काँग्रेसका साथीहरु र प्रजातन्त्रमा विश्वास गर्ने सबैमा भविष्यमा आउन सक्ने परिस्थितिको सामना गर्न तयार रहन आग्रह गर्दछु ।’



प्रतिक्रिया दिनुहोस्