ललितपुर, ९ वैशाख । बेवारिसी लास व्यवस्थापन गर्दै आएका समाजसेवी विनयजंग बस्नेतलाई शेयर एन्ड केयर नेपाल ललितपुरका तर्फबाट कोरोना भाइरस रोकथाममा प्रयोग हुने पीपीई सेट हस्तारण गरिएको छ । आज बस्नेतलाई हाम्रो युवा समूहका संयोजक विवेककुमार कार्कीले पीपीई सेट व्यवस्थापन गरी हस्तान्तरण गरेका हुन् ।
बेवारिसी शव व्यवस्थापनका क्रममा कोरोना भाइरसको खतरा रहन सक्ने भएकाले विनयलाई शेयर एन्ड केयरले पीपीई सेट व्यवस्था गरिदिएको हो । त्यसको संयोजन समूहका संयोजक विवेक कार्कीले गरेका थिए । विनयले पीपीई सेट प्रदान गरेकोमा धन्यवाद व्यक्त गरे । उनले जस्तोसुकै संकटमा पनि आफू कर्तव्यपथमा बढिरहने बताए । अहिले पनि सयौं बेवारिसी लासको व्यवस्थापनको जिम्मेवारी रहेको भन्दै त्यसका लागि आफू सक्रिय भएको बताए ।
हाम्रो युवा समूहका विवेककुमार कार्कीले बस्नेतको योगदान सदा अविस्मरणीय रहने बताए । उनले विनयलाई महालक्ष्मी नगरपालिकाको मात्र नभई देशकै गहना भन्दै संक्रमणको खतरा रहँदा पनि बेवारिसी शव व्यवस्थापनमा सक्रिय भएकोमा धन्यवाद व्यक्त गरे ।
शेयर एन्ड केयर नेपालका कार्यकारी निर्देशक रमेश खड्काले सन्देशमार्फत् विनयजंग बस्नेतलाई पीपीई सहयोग गर्न पाउँदा गर्व लागेको बताएका छन् । उनले बस्नेतलाई सच्चा समाजसेवी भन्दै यसरी नै सबैले संकेटका बेलामा आ आफ्नो स्थानबाट सकारात्मक र रचनात्मक भ्रमिका निभाउनुपर्नेमा जोड दिए ।