काठमाडौं, ९ बैशाख । सङ्घीय सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले भक्तपुरका पत्रकारलाई प्रेस ज्याकेट तथा विभिन्न स्वास्थ्य सामग्री वितरण गरेका छन् । मानवीय आस्था नेपालले आज सूर्यविनायकको यो आयोजना गरेको कार्यक्रममा उहाँले ६१ जना पत्रकारलाई प्रेस ज्याकेट, एन ९५ मास्क, सर्जिकल मास्क र सानिटाइजर वितरण गरेका हुन् ।
कार्यक्रममा उनले २०७२ सालको महाभूकम्पमा समस्यामा परेका भूकम्प पीडितलाई सहयोग गर्न स्थापना भएको मानवीय आस्था नेपालले अहिले कोरोना भाइरसले निम्त्याएको सङ्कटको बेलामा पनि निरन्तर मानवीय सेवामा जुटिरहेको बताए । आफैं संरक्षक रहेको उक्त संस्थाले अहिले पनि अभावमा रहेका एक हजारभन्दा बढी परिवारलाई राहत सामग्री, अस्पताल तथा स्वास्थ्य संस्था, पिपिई मास्क, सानिटाइजरलगायत स्वास्थ्य सामग्री, नेपाल प्रहरीलाई विभिन्न स्वास्थ्य सामग्रीसहित पानीको ट्याङ्की वितरण गरेको बताए ।
त्यसैगरी भोकै र अलपत्र परेको नागरिकका लागि भक्तपुरको गठ्ठाघर र जगातीमा खाना, बस्नेको व्यवस्था गरेको, घर जानेहरुलाई सवारी साधनको व्यवस्था गर्दै उद्धार गरी पठाएको बताउँदै नेकपाका केन्द्रीय सदस्यसमेत रहनुभएका सांसद बस्नेतले कोही राहतको आवश्यकता भएका र भोकै परेका छन् भने तत्काल सम्पर्क गर्न आह्वान गरेका छन् । उनले भने,“यहाँ कोही भोकै बस्नु पर्दैन, कोही अलपत्र पनि पर्दैन, राहत नपाएर समस्यामा परेका निम्न वर्गका कोही हुनुहुन्छ भने, बाटोमा कोही भोकै हुनुहुन्छ भने खबर गर्नुस्, हामी राहत वितरणदेखि खानासमेत खुवाउँछौँ ।”
सूर्यविनायक नगरपालिकाको प्रत्येक वडा कार्यालयमा, चाँगुनारायण नगरपालिका, मध्यपुरथिमि नगरपालिका र भक्तपुर नगरपालिकाभित्र आवश्यक परेको ५० ठाउँमा हात धुनका लागि पानी राख्ने ५०० लिटरको ट्याङ्की राख्न शुरु गरेको बताउँदै उहाँले समस्या परेको हरेक ठाउँमा मानवीय आस्था नेपाल सहयोग गर्न अगाडि पुग्ने उनले बताए।
लकडाउनको बेलामा पनि पत्रकारहरु अग्रभागमा आएर समाचार सङ्कलन तथा फोटो खिच्नु पर्ने भएकाले धेरै पत्रकार जोखिम मोलेर कार्यक्षेत्रमा खटिएको बताउँदै उनले पत्रकारलाई अत्यावश्यक सुरक्षाका सामग्री आवश्यक ठानेर वितरण गरेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले अहिलेको जटिल परिस्थितिमा पनि पत्रकारहरु आफ्नो स्वास्थ्यको जोखिम मोलेरै कार्य क्षेत्रमा नियमित खटिएको बताए । उनले सञ्चारकर्मीका लागि सरकारले स्वास्थ्य बीमासहित राहतको प्याकेज ल्याउनुपर्नेमा जोड दिए। जिल्ला खेलकूद विकास समितिको सहयोगमा आयोजित कार्यक्रममा समितिका अध्यक्ष श्रीभक्त कासिछ्वा, मानवीय आस्था नेपालका अध्यक्ष श्रीकुमार रञ्जितले कोरोना भाइरस सङ्क्रमण रोक्न समस्याको समाधान गर्न निरन्तर खटिने बताए ।
अलपत्र परेकाको उद्धार
जिल्ला खेलकूद विकास समितिका अध्यक्ष श्रीभक्त कासिछ्वाको नेतृत्व एवं मानवीय आस्था नेपालसहितको सहयोगमा भक्तपुरको गठ्ठाघरमा आज ८०० जनालाई खाना खुवाएको छ । सडकमा अलपत्र परेकाको उद्धार गरी खाना खुवाएर घर फर्कने व्यवस्था गरेको र अस्पतालका बिरामी कुरुवालाई खाना खुवाएको कासिछ्वाले जानकारी दिए ।
त्यसैगरी सूर्यविनायक नगरपालिका–८ जगातीमा आज सडकमा अलपत्र परेका र विभिन्न जिल्ला हुँदै घर फर्कनेहरु करीब एक हजार ६९५ जनालाई खाना खुवाएर घर फर्काएको छ । महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले प्रहरीले थर्मन गनबाट उनीहरुको ज्वरो नाप्ने, खाना खुवाउने ठाउँको व्यवस्था र गाडी खोजेर घर फर्काउने काम दैनिक गरिहरेको जानकारी दिए ।