Logo

दुई अध्यक्षबीच शक्ति संघर्ष शुरू



काठमाडौं, बैशाख १० । सरकारले ल्याएको दुई अध्यादेशपछि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र दुई अध्यक्षबीच शक्ति संघर्ष शुरू भएको छ । नेकपाभित्रको विवाद सरकारले ल्याएको अध्यादेशसँगै छताछुल्ल भएको हो ।

देश कोरोना भाइरसको महाहारीविरुद्ध लडिरहेका बेला नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ शक्ति संघर्षमा लागेको देखिएको छ । पार्टीभित्र परामर्श नगरी विवादास्पद दल विभाजनसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि नेकपाका शीर्ष नेताहरूबीच विभाजन देखिएको हो ।

सचिवालय बैठक बसिरहेकै बेला सरकारले पठाएको दुई अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेपछि शीर्ष नेताहरूले प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीमाथि अझ आशंका गरेका छन् ।

अध्यादेशपछि सिर्जना भएको विवादपछि अध्यक्षद्वय ओली र प्रचण्ड आन्तरिक गृहकार्यमा जुटेका छन् । दुवै अध्यक्षले आफू निकटका नेताहरूसँग परामर्श गर्ने काम तीव्र गतिमा अघि बढाएका छन् । सरकारले ल्याएको अध्यादेशप्रति स्वयं ओली पक्षका नेताहरूले समेत असन्तुष्टि जनाएका छन् । तर, अध्यादेश जारी नै भएपछि तत्काल विवादको विषय रहे पनि रोक्ने अवस्था नेकपासँग छैन ।नेपाल समाचारपत्रबाट



प्रतिक्रिया दिनुहोस्