Logo

कोरोना र राज्यको दायित्व



राम कुमार क्षेत्री : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसले आजसम्म एकलाख सत्तरी हजार भन्दा बढि मानिसको ज्यान लिइ सकेको छ । पच्चिस लाख अन्ठाउन्न हजार भन्दा बढि संक्रमित छन् भने छ लाख पन्चानब्बे हजार भन्दा बढि उपचार पछि फर्केका छन् । नेपालको सन्दर्भमा संक्रमित कुल संख्या बयालिस जनामध्ये पाँच जना उपचारपछि घर फर्केका छन् । अहिले विश्व नै त्रसित भएको छ । विकसित मुलुकमा यसको बढि प्रभाव छ भने तुलानात्मक रुपमा विकासोन्मुख देशमा कमै फैलिएको छ । धेरै जनसंख्या भएका दुई ठुला देश चीन र भारतको बिचमा रहेको नेपाल ठुलो संकटमा पर्छकी भन्ने सन्त्रासमा गुज्रिरहेको छ ।

विश्वको परिवेशलाई बुझि नेपाल सरकारले समयमा नै देशलाई लकडाउन राख्नाले ठूलो क्षति हुनबाट जोगाएको छ, यो अत्यन्त सराहनीय काम हो । यो अबस्थामा हामीहरुले मानवीय संवेदनसिलता ध्यानमा राखि ब्यक्तिगत र दलगत स्वार्थभन्दा माथि उठि कोरोना भाइरसको बिरुद्धमा सबै एकजुट भइ लड्नुको बिकल्प छैन । सरकारले केही दिन अगाडि चीनबाट स्वास्थ्य सामग्री खरिद गर्दा करोडौंको लोभमा जनताको विश्वासमाथि जुन कुठाराघात भयो यो दुखद् कुरा हो । यस्तो अवस्थामा पनि सरकार जनहितमाभन्दा संस्थागत भ्रष्टचारलाई प्रसय दिएको भन्दै जनता निरास भएका छन् । सरकार जहिलेपनि जनताप्रति उत्तरदायी हुनुपर्छ । अहिले राहत खरिदमा पारदर्शिता र वितरणमा समेत सन्तोषजनक देखिएको छैन । जनताप्रति इमान्दार नहुनेहरुले कसरी यो महावारीबाट संरक्षण गर्न सक्लान भन्ने जस्ता बिषयहरु उठ्नु त्यति राम्रो सन्देश पक्कै होइन । त्यसैले जनताले विश्वास गरेका निकायहरुले उनीहरुलाई ढुक्क हुने वातावरण बनाउनुपर्छ ।

चैत्र ११ देखि बैशाख १५ सम्मलाई लकडाउन घोषणा गरेको छ । सरकारको यो निर्देशनलाई सबैले पालना गरी आफूपनि बाँचौं अरुलाई पनि बचाऊ । संक्रमण रोक्नका लागि स्थानीय सरकारमार्फत पहिचान परिक्षण, आइसोलेसन, नियन्त्रण, रोकथाम, उपचार र सम्पर्कमा आएका ब्यत्तिहरुको ट्रेसिनलाई ब्यवस्थित गरी अगाडि बढाउँदै कोही भोको नहुने स्थिती तयार गरिनुपर्छ । देशको अर्थतन्त्र अत्यन्त कमजोर हुदै गइरहेकोले आर्थिक विकास र जनतालाई आत्मनिर्भरताको बाटोमा डोर्याउन नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारको समयमानै ध्यान जानु अति आवश्यक छ ।

नेपालजस्तो अल्प विकसित मुलुकमा दैनिक श्रम गरेर खाने गरिब, असहाय, विपन्न र आश्रित परिवारहरुको संख्या ठूलो छ । बेरोजगारीको संख्यापनि त्यत्तिकै छ । कोरोना भाइरसको कारणले अन्तर्राष्ट्रिय श्रम बजारमा श्रमिकहरुको संख्या कटौती हुँदैछ । सबैजसो नेपाली फर्कने अवस्था छ । विश्वभर संक्रमणका कारण लकडाउनले अन्तर्राष्ट्रिय सिमा सिल हुदाँ एकैपटक राष्ट्रहरुको आपुर्ति व्यबस्था अबरुद्ध हुन्छ, सबै मुलुक उस्तैखाले समस्याबाट ग्रसित हुनाले उत्पादन र आयात निर्यात बन्द हुने सम्भावना बढि छ । समृद्धि लागि समानता, सहभागिता र सम्मानजनक रुपमा बाँच्न पाउने अधिकारको सुनिश्चितता अनिवार्य सर्त हो । जनताको जीवनरक्षा र स्वास्थ्यमा थ्यान सबै राष्ट्रको प्राथमिकता हुन्छ । अबको बहस मानवीय स्वास्थ्य र आर्थिक उत्पादनजस्ता विषयमा केन्द्रित हुन जरुरी छ ।

सुविधासम्पन्न स्वास्थ्य उपचार सेवाहरु केन्द्रमा नै केन्द्रित छन् । सामान्य उपचारको लागि पनि ठुलाठुला शहरमा जानुपर्नेछ । जिल्लामा सामान्य शल्यक्रिया समेत हुन नसक्दा अझैपनि जनताहरुले सास्ती पाइरहेका छन् । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड–१९) को भयावलाई आंकलन गर्दै यसको लक्षण तत्कालै नदेखिए पनि संक्रमण हुनु र लक्षण ढिलो देखिने हुँदा खतरा नै छ । त्यसकारण पनि परीक्षणको दायरा फराकिलो बनाउदै स्वास्थ्य सामग्रीको उचित ब्यवस्था गर्दै शंकास्पद व्यत्तिहरुको परीक्षणको दायरालाई समेत फराकिलो बनाउनु अति आवश्यक छ । जील्लाहरुमा आईसीयु अनि भेन्टिलेटरको अभाव, दक्ष स्वास्थ्यकर्मीको कमीले काममा समस्याहरु आइरहेका छन् । स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पिपिई लगायतका सामग्रीको अभावले गर्दा उनीहरुको कार्य क्षमतामा पनि कमजोर देखिएको छ ।

नेपाल र भारत खुल्ला सिमाना भएका मुलुक हुन् । लाखौं नेपाली कामदारको रूपमा भारतमा रहन्छन् । नेपालको अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरु भारतबाट नै आउँछन् । अहिले छिमेकी मुलुक भारतमा पनि कोरोना भाइरस संक्रमितको संख्या तीब्र गतिले बढ्नुको साथै मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । यसबाट के प्रष्ट हुन्छ भने तत्कालै यो रोग नियन्त्रण हुने अबस्था देखिँदैन । त्यसैले नेपालपनि जोखिम अवस्था छ भन्न सजिलै सकिन्छ । अब नेपालले कोरोना भाइरस जस्ता रोगबाट बच्नलाई वार्षिक कुल बजेटको २५ प्रतिशत स्वास्थ्य क्षेत्रमा खर्चनुपर्छ । सेवासुविधा सम्पन्न अस्पतालहरु बनाउने, अस्पताललाई चाहिने सामग्री उत्पादनमा लगाउने र स्तरीय मेडिकल कलेज र नर्सिङ कलेज संचालनमा ल्याउनुपर्छ । यसो गरिएको खण्डमा सयौंले रोजगारी पाउनुको साथै मुलुक स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर बन्न सक्नेछ ।

(लेखक रिपोर्टर्स क्लब नेपाल, प्रदेश नम्बर ५ का संयोजक हुन् ।)



प्रतिक्रिया दिनुहोस्