Logo

भारतले नेपाललाई दियो २३ टन औषधी



काठमाडौं, १० वैशाख । भारतले नेपाललाई कोरोना भाइरसको संक्रमणसँग लड्न २३ टन औषधी सहयोग गरेको छ । आज नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई औषधी हस्तान्तरण गरेका हुन् ।

कोभिड–१९ विरुद्ध लड्न भारत र नेपाल बीच जारी सहकार्यको क्रममा भारत सरकारका तर्फबाट उक्त सहयोग हस्तान्तरण भएको जनाइएको छ । भारतका जनताका तर्फबाट नेपालका जनताका लागि उपहार स्वरुप हस्तान्तरण गरिएको सो औषधीहरुमा पारासिटामोलको ३.२ लाख डोज र हाईड्रोक्सीक्लोरोक्वीनको २.५ लाख डोेज गरीे कुल ८.२५ लाख डोज अत्यावश्यक औषधिहरु छन् ।

यस पहलले सबै अवस्था र परिस्थितिमा नेपाल र भारतबीच सहकार्य जारी रहने प्रतिबद्धतालाई दर्शाउँछ । यसअघि नै कोभिड–१९ को विश्वव्यापी महामारीविरुद्ध लड्न र जनतालाई सुरक्षित राख्न दुवै देशका नेताहरुले प्रतिबद्धता जनाएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०७६ चैत्र २ गते सार्क राष्ट्रका नेताहरुसँग भिडियो कन्फरेन्स गरेका थिए र सार्क कोभिड–१९ आपतकालीन कोषमा १ करोड अमेरिकी डलर प्रदान गर्ने वाचा गरेका थिए । सबै छिमेकी मित्र राष्ट्रहरुलाई हरसम्भव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेबमोजिम भारतले सयोग शुरु गरेको हो ।



प्रतिक्रिया दिनुहोस्