Logo

समाजवादीका सांसद सुरेन्द्र यादवलाई अपहरण शैलीमा काठमाडौं ल्याईँदै



काठमाडौं, १० बैशाख । समाजवादी पार्टीका सांसद तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई प्रहरीले धनुषाबाट साथमा लिएर काठमाडौं ल्याउन लागेको छ । राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीले दिएको जानकारीअनुसार उनलाई आज धनुषाबाट प्रहरीले काठमाडौं ल्याउन लागेको हो ।

सरकारले दल विभाजनसम्बन्धी नयाँ अध्यादेश ल्याएसँगै समाजवादी पार्टी फुट्नेबारे विभिन्न हल्ला चलिरहेको छ ।  नयाँ अध्यादेशअनुसार अब दल विभाजनको लागि संसदीय दलमा वा केन्द्रिय कमिटीमध्ये एकमा ४० प्रतिशत पुर्याए हुने भएको छ । समाजवादी पार्टी फुटाउनेगरि प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएको आरोपपनि लगाईएको छ ।

पार्टी कुनैपनि हालतमा फुट्न नदिने समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र सोही पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराइले उद्घोष नै गरिसकेका छन् । अहिले समाजवादी पार्टी र राजपा नेपालबीच एकता गर्नेगरि गृहकार्य भैरहेको छ । यसको लागि दुवै पार्टीका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । स्रोतकाअनुसार दुई पार्टीबीचको एकता भोलि नै हुने भएको छ ।

उता, समाजवादी पार्टीका नेता विश्वदिप पाण्डेले पनि यादवलाई अपहरण गरिएको आरोप लगाएका छन् । उनले ट्विटरमा यस्तो लेखेका छन्,”आज वैशाख १० गते साँझ ५.० बजे पूर्व स्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई प्रम ओलीको ठाडो आदेशमा काठमाण्डौबाट गएको प्रहरी टोलीले जनकपुरबाट अपहरण गरेर पार्टी फुटाउने प्रयोजनकालागि काठमाण्डौतिर लगेको छ!”



प्रतिक्रिया दिनुहोस्

Screenshot